अवैध गोलिया काठ लोड गरेको स्कारपियो नियन्त्रणमा 

840
Shares

रौतहट ।

 चार महिना यता अवैध सालको गोलिया काठ तस्करीको लागि प्रयोग भएको चार वटा सवारी साधन नियन्त्रणमा परेपनि तस्कर र चालक भने पक्राउ पर्न  सकेका छैनन् । सालको गोलिया काठ तस्करी गर्ने प्रयास तस्करहरुको विफल भएपनि कारोबारको क्रम रोकिएको छैन । चार महिना यता जिल्लाको विभिन्न भाग बाट अवैध गोलिया काठ लोड स्कारपियो–२ वटा, बोलेरो–१ र सफारी –१ नियन्त्रणमा परिसकेको छ ।

 नियन्त्रणमा परेका सवारी साधन सबै भारतीय नम्बर प्लेटका रहेका छन् । पछिल्लो समय तस्करीमा भारतीय नम्बरको सवारी साधन प्रयोग हुन थालेको छ । गत बैशाख ३० गते पूर्व पश्चिम राजमार्गको जुडिबेला क्षेत्र बाट अवैध सालको गोलिया काठ डिभिजन बन कार्यालयले नियन्त्रणमा लिएको थियो । त्यसपछि धन्सार क्षेत्रमा बोलेरा, जङ्गलसैया क्षेत्र बाट सफारी र बिहीबार साझ भने अवैध सालको गोलिया काठ लोड गरेको एच आर १४ सि ८६९७ नम्बरको भारतीय स्कारपियोलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाहीको लागि डिभिजन बन कार्यालय चन्द्रनिगाहपुरमा बुझाएको छ । स्कारपियो मानिस बोक्नु पर्ने सवारी साधनले गोलिया काठ तस्करी गर्न थालेपछि भारतीय नम्बरको स्कारपियो, सफारी र बोलेरोको निगरानी बढाउनु पर्ने स्थानीय बताउँछन्।

 डिभिजन बन कार्यालय चन्द्रनिगाहपुरका बनअधिकृत शैलेन्द्र झाले बनतस्करीको प्रयास विफल बनाइएको बताए । रौतहटको गुजरा नगरपालिकाको कटानी बजार बाट चन्द्रनिगाहपुर तर्फ गोलिया लोड गरेर ल्याउँदै गरेको भारती नम्बरको स्कारपियो लाई प्रहरीले चन्द्रपुर–६ बेल्डी बाट नियन्त्रणमा लिएर कारबाहीको लागि डिभिजन बन कार्यालय चन्द्रनिगाहपुरमा बुझाएको छ । इलाका प्रहरी कार्यायल चन्द्रनिगाहपुर प्रहरी वरिष्ठ नायव निरीक्षक रुद्रलाल श्रेष्ठको कमाण्डको गस्ती टोलीले उक्त भारतीय स्कारपियो नियन्त्रणमा लिएको हो । प्रहरी गस्ती टोली लाई देखेपछि स्कारपियोको चालक फरार भएका थिए ।

 उक्त स्कारपियोमा पाँच थान लोड गोलिया काट साढे २३ क्युफिटको बजार मूल्य १५ लाख रहेको अनुमान गरिएको छ । अवैध काठ लोड भएको उक्त स्कारपियो चोरी भएको हुन सक्ने आशका गरिएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार राईले काठ तस्करी नियन्त्रणमा क्रियाशील रहेको बताए ।