राप्रपाका जिल्ला अध्यक्षसहितको भेला आजसम्म


काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, (राप्रपा) का जिल्ला अध्यक्षहरूको भेला काठमाडौंमा शुरू भएको छ। बिहीबारबाट राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले धुम्बाराहीस्थित एसआर बैंक्वेटमा उक्त भेलाको गर्नुभयो।

शुक्रबारसम्म चल्ने उक्त भेलामा देशका ७७ वटै जिल्ला अध्यक्षहरूको सहभागिता रहेको पार्टीका केन्द्रीय सदस्य हिक्मतजंग कार्कीले जानकारी दिनुभयो। जिल्ला अध्यक्षहरूले आफ्नो जिल्लाको साङ्गठनिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ। भेलामा पार्टीको समग्र साङ्गठनिक अवस्थाको समीक्षा गरिने, विगतका निर्वाचनका कमी कमजोरीको समीक्षा गर्दै आगामी रणनीति तय गरिने कार्कीकोे भनाइ छ।

पार्टीले लिएका नीति र यसले पार्टी पङ्क्ति र जनसमुदायमा पारेको प्रभावको विश्लेषणसमेत यर्ने कार्यतालिका छ। पार्टीको केन्द्रीय कार्यसमिति बैठकले आगामी वैशाख मसान्तसम्म स्थानीय तहको अधिवेशन गरिसक्ने लक्ष्य लिएकोले सबै तहको अधिवेशन सम्पन्न गर्ने, साथै विसं २०८४ मा हुने तीन तहकै निर्वाचन तयारीका लागि रणनीति तय गर्ने विषयमा छलफल हुने पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो।