ठूलो संख्यामा सहसचिव र महानिर्देशक सरुवाको तयारी


काठमाडौं ।

सरकारले ठूलो संख्यामा विभिन्न मन्त्रालय तथा निकायका सहसचिव र महानिर्देशकहरूको सरुवाको तयारी गरेको छ। गत सोमबार मात्रै सरकारले २२ जना सचिवको सरुवा गरी कर्मचारी प्रशासनलाई चलाउन शुरू गरेको हो।

सोहीअनुसार नै सरकारले ठूलो संख्यामा सहसचिव र अधिकांश विभागका महानिर्देशकहरू फेरबदलको तयारी गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार विभिन्न मन्त्रालय र निकायका झण्डै ३ दर्जन सहसचिवको सरुवा गृहकार्य गरिएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यस विषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग अनौपचारिक छलफल थालेको बुझिएको छ। विशेष गरी प्रधानमन्त्री कार्यालयका मातहत रहेका विभिन्न विभागका महानिर्देशक तथा अर्थ मन्त्रालयका मातहत रहेका विभागका महानिर्देशकहरू छिटो परिवर्तन गर्ने गरी गृहकार्य अघि बढाइएको स्रोतले जानकारी दिएको छ।

नयाँ सरकारले सरुवासम्बन्धी स्पष्ट मापदण्ड ल्याएर कर्मचारी सरुवा गर्ने अपेक्षा गरिए पनि सोअनुसार भने नहुने देखिएको छ। यसअघिका सरकारले आफूअनुकूलका कर्मचारी जुनसुकै बेला जहाँ पनि सरुवा गर्ने परम्परा बसाल्दै आएका थिए। कर्मचारी सरुवाको उठान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाबाट हुने गर्छ। अहिले सामान्य प्रशासन मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख नै सरुवाको सूचीमा पर्नुभएकाले केही समस्या परेको बताइएको छ। यसअघि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारले अन्तिम समयमा २१ जना सहसचिवको सरुवा गर्न खोजेको थियो तर सरुवा हुन सकेको थिएन्।

सो प्रस्तावपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा नै फिर्ता गरिएको थियो। सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आफ्नै मन्त्रालयमा आन्तरिक रूपमा कर्मचारी व्यवस्थापनको प्रयास थाल्नुभएको छ। उहाँले प्रधानमन्त्री कार्यालयसँग समन्वय गरी सहसचिव सरुवाको सूची बनाउन थाल्नुभएको स्रोतले जानकारी जानकारी दियो।

‘केही दिनभित्रै ठूलै संख्यामा सहसचिव र महानिर्देशकहरूको सरुवा हुन्छ’ –संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतले भन्यो। सबै मन्त्रालयमा नयाँ मन्त्री आइसकेकाले मन्त्रीले आफूअनुकूलका कर्मचारीहरूको खोजीसमेत गर्न थालेका छन्। जसका कारण धेरै मन्त्रालयको महाशाखा प्रमुखका रूपमा रहने सहसचिवहरूसमेत फेरबदल हुनेछन् ।

यसअघिका सरकारका मन्त्रीहरूले आफू निकटका कर्मचारीहरू राखेकाले अहिलेको सरकारका मन्त्रीहरूले पनि ती कर्मचारीहरू हटाएर आफू निकट राख्ने गृहकार्य गरेको जनाइएको छ।