‘जिल्ला अदालत’को प्रभावकारी सेवामा प्रमुख जिल्ला न्यायाधीश 

966
Shares

काभ्रे। 
एक वर्ष मात्रै प्रमुख जिल्ला न्यायाधीशको भूमिकामा रहेका न्यायाधीश राजेन्द्र नेपालले अदालतबाट प्रदान गरिने सेवाको प्रभावकारीतालाई प्रमुखताका साथ कार्यान्वयन गरी बिदा भएका छन् ।

अभिलेख व्यवस्थापन, फैसला लेखन, सेवाग्राहीको गुनासो सुनुवाइ, न्यायिक समितिको अनुगमन तथा सुझाव, मिट द जर्ज, आउटरिच कार्यक्रम अन्र्तगत अदालतसँग समुदाय, बार एशोसिएसनसँग समन्वय, सहकार्य र अन्तरक्रिया जस्ता कार्यमा  प्रमुख जिल्ला न्यायाधीश नेपालले सक्रियता देखाए ।

 ‘जिल्ला अदालतले प्रवाह गर्ने सेवालाई प्रभावकारी बनाउँदै नागरिकमैत्री वातावरण निर्माणका लागि प्रमुख जिल्ला न्यायाधीश राजेन्द्र नेपालले आन्तरिक ब्यवस्थापनका साथै जिल्ला स्तरमा रहेका विभिन्न सरोकारवाला निकाय र स्थानीय सरकारसँगको समन्वयमा विशेष ध्यान दिनु भएको थियो’– श्रेस्तेदार उप सचिव कर्णबहादुर राईले भने – ‘अभिलेख व्यवस्थापन, भवन निर्माण, फैसला लेखन, गुनासो सुनुवाइ, न्यायिक समितिको अनुगमन तथा सुझाव, मिट द जर्ज, आउटरिच कार्यक्रम अन्र्तगत अदालतसँग समुदाय, बार एशोसिएसनसँग समन्वय, सहकार्य र अन्तरक्रिया, कर्मचारीहरुलाई पुर्नताजगी तालिम तथा नियमित बैठक, अन्तरक्रिया मार्फत प्रभावकारी सेवामा मुख्य ध्यान केन्द्रित भयो ।’ जसका कारण अदालत प्रतिको जनआश्थामा वृद्धि भएको, अदालतको सेवा तथा काम कारवाहीमा सेवाग्राहिहरु सन्तुष्ट रहेको, अदालतले लिएको लक्ष्य प्राप्तिमा सहजता भएको श्रेस्तेदार राईले बताए । 

प्रमुख जिल्ला न्यायाधीश नेपालको कार्यकालमा नयाँ भवन निर्माणका लागि सर्वोच्च अदालतसँग पहल भएको, सर्वोच्च अदालत प्रशासनबाट प्राथमिकतामा रहेको जानकारी गराइएको छ । त्यस्तै प्रमुख जिल्ला न्यायाधीश नेपाल आफ्नै पहलमा भवनको पहिलो तल्लाको खाली भागमा २ वटा कोठाको ट्रस्ट निर्माण गरी अभाव भएको पूर्वाधार व्यवस्थापनको प्रयास गरिएको छ । जसलाई शहरी विकास कार्यालयले सहयोग गरेको थियो ।

 त्यस्तै बनेपा र मण्डनदेउपुर नगरपालिकाबाट ५-५ लाख, भुम्लु गाउँपालिकाबाट १ लाख, नमोबुद्ध नगरपालिकाबाट १ लाख ५० हजारको सहयोगमा अदालतमा बिजुली बत्ती जाँदा तथा अन्य समयमा समेत आवश्यक पर्ने सोलार ब्याट्री १२ थान, तीन वटा मुद्दा फाँटमा एसी जडान, ६ वटा टेबुल, ७ वटा मेच, अभिलेख मिसिल राख्ने बुकेस दराज ८ थान, कम्प्युटर ५ थान, प्रिन्टर ४ थान, स्क्यानर १ थान उपलब्ध गराइएको छ । त्यस्तै रोशी गाउँपालिकाको तर्फबाट एउटा एसी उपलब्ध गराइएको प्रशासन प्रमुख एवं सूचना अधिकारी हिराकुमारी भण्डारीले जानकारी दिईन् । जिल्ला न्यायाधीश नेपालले अदालतमा अभाव भएका अत्यावश्यक सामाग्रीहरुको ब्यवस्थापनका लागि भएको समन्वयबाट सेवा लिने दिने दुबै क्षेत्रमा सहजता उपलब्ध भएको छ । 

काभ्रेपलाञ्चोक जिल्ला अदालतका न्यायाधीश राजेन्द्र नेपालको रामेछाप जिल्ला अदालतमा सरुवा भएको छ । रौतहट जिल्ला अदालतमा दरवन्दी भई मोरङ जिल्ला अदालतमा काजमा कार्यरत न्यायाधीश मातृकाप्रसाद आचार्यको काभ्रेपलाञ्चोक जिल्ला अदालतमा सरुवा भएको छ । २०७९ भाद्र महिना देखि काभ्रेपलाञ्चोक जिल्लामा जिम्मेवारी प्राप्त गरेका नेपालले २०८० भाद्र देखि प्रमुख जिल्ला न्यायाधीशको जिम्मेवारी प्राप्त गरेका थिए । अदालतको अभिलेख शाखामा विक्रम सम्वत १९७९ देखि हालसम्म ४३ हजार ७ सय ७२ वटा मिशिल सुरक्षित छन् । काभ्रेपलाञ्चोक जिल्लामा नयाँ मुद्दा दर्ता हुने क्रम बढिरहेको छ । ५ वर्षको अवधीमा नयाँ मुद्दा ५ हजार ४ सय ३८ थान दर्ता भए । अािर्थक वर्ष २०७९÷२०८० मा १९८७ थान मुद्दा दर्ता भएको अदालतमा आर्थिक वर्ष २०८०-२०८१ मा २ हजार ६७ थान मुद्दा दर्ता भएका छन् । पाँच वर्षको अवधीमा पुरानो जिम्मेवारी सर्दै आएका ५ हजार ८ सय १३ थान मुद्दा भए ।

 त्यस्तै पाँच वर्षको अवधीमा जिल्ला अदालतमा १३ हजार ७ सय ७४ थान मुद्दाको लगत कायम भएको छ । अदालतबाट यो अवधीमा ८ हजार ३ सय ३० थान मुद्दा फछर्यैट भएका छन् । आर्थिक वर्ष २०८०-२०८१ मा २ हजार ४ थान मुद्दा फछर्याैटको लक्ष्य राखिएकोमा १ हजार ९ सय ३८ थान मुद्दा फछर्याैट भएको थियो । जसमा प्रमुख जिल्ला न्यायाधीश नेपालको ६ सय ६८ लक्ष्यमा ७ सय ३६ थान फछर्याैट भएका छन् । जिल्ला अदालतमा नेपालका अलावा विश्वनाथ भट्टराई, शिवकुमार पोखरेल न्यायाधीश कार्यरत छन् । त्यस अघि मोहनराज भट्टराई प्रमुख जिल्ला न्यायाधीश थिए । उनी २०८० असोज १ देखि उच्च अदालतको न्यायाधीशमा बढुवा भई सरुवा भएकाले न्यायाधीश नेपाल प्रमुख जिल्ला न्यायाधीशका रुपमा कार्यरत थिए । रिताकुमारी बख्रेल न्यायाधीशको पनि सरुवा भएको थियो । 

जिल्ला अदालतमा चालु वर्षका लागि २ वर्ष नाघेका २५ थान, डेड वर्ष नाघेका ५९ थान, डेड वर्ष सम्मका १ सय ८५ थान, एक वर्ष अवधिका २ सय ९८ थान र ६ महिना भित्रका ७ सय ९० थान गरी १ हजार ३ सय ५७ थानको जिम्मेवारी सरेको छ । चालु वर्षका लागि अदालतले २ हजार ३ सय २० थान मुद्दा फैसला गर्ने लक्ष्य लिएको छ । जसमा २ हजार २ सय १२ थान नयाँ दर्ता हुने अनुमान गरेको छ ।