राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्दा राष्ट्रियता र संस्कृति झल्किने पहिरन लगाउन पाइने


काठमाडौं ।

सरकारले राष्ट्रिय परिचयपत्रमा आफ्नो धार्मिक, साँस्कृतिक र जातीय पहिचान झल्किने पहिरन लगाएको फोटो राख्न कुनै बाधा नरहेको बताएको छ।

गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले सूचना जारी गर्दै फोटो खिच्दा सिन्दुर, टीका, राष्ट्रियता झल्किने टोपी, धार्मिक, सांस्कृतिक तथा जातीय पहिचान जनाउने पहिरन लगाउँदा बाधा नपर्ने जनाएको हो।

राष्ट्रिय परिचयपत्रको लागि फोटा खिचाउँदा टोपी, सिन्दूर, पोते र टिकासमेत हटाइएको भन्दै सरकारको आलोचना भएपछि विभागले चारबुँदे निर्देशन जारी गर्दै आफू मातहतका सम्बन्धित निकायलाई यस्तो निर्देशन दिएको हो। विभागले राष्ट्रिय परिचयपत्रको सेवा प्रवाहलाई सरल, सहज तथा थप प्रभावकारी बनाउन सबै जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र राष्ट्रिय परिचयपत्र एकाइलाई निर्देशनसमेत दिएको छ।

राष्ट्रिय परिचयपत्रको जैविक विवरण लिने र आवश्यक कागजातको सम्बन्धमा रहेका द्विविधा हटाइ सेवा प्रवाहलाई सरल, सहज र थप प्रभावकारी बनाउन यस्तो निर्णय गरिएको विभागले जनाएको छ।