पार्टी बैठक सरकारी निवास बालुवाटारमा राख्दिन : प्रधानमन्त्री ओली 


काठमाडौं ।

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको बैठक सरकारी निवास बालुवाटारमा नराख्ने बताएका छन्। बिहीबार बिहान उनले सामाजिक सञ्जालमार्फत आफ्नो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराएका हुन् ।

सामाजिक सञ्जालमार्फत पाएको सुझाव अनुसार आफूले सरकारी निवासमा बैठक नराख्ने बताएका हुन्। उनले आफूलाई सुझाव दिइरहन आग्रह गरेका छन् ।

उनले भनेका छन्- ‘सामाजिक सञ्जाल मार्फत तपाईंहरूले दिनु भएको सुझाव अनुसार मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु। आज हाम्रो पार्टीको सचिवालय बैठक छ। मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएका कारण यस पटक बैठक अन्यत्र राखिएको छ। यसरी नै मलाई सुझाव दिँदै जानुहोला। धन्यवाद !’

आज बस्ने एमालेको केन्द्रीय सचिवालय बैठक हनुमानस्थानस्थित होटेल बसेरामा राखिएको छ। आजको बैठकमा केन्द्रीय नेताहरूको कार्यविभाजन र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।