बाढीमा बेपत्ता भएका जलविद्युत् आयोजनाका एक मजदुरको शव भेटियो


भोजपुर ।

बाढीले बगाएर बेपत्ता भएका एक मजदुरको शव फेला परेको छ। भोजपुरको उत्तरी क्षेत्र साल्पासिलिछो गाउँपालिका–४ गोथे बजारमा निर्माणाधीन इखुवा खोलाको इखुवा जलविद्युत् आयोजनामा कार्यरत मजदुर बर्दियाको बारा बर्दिया गाउँपालिका–३ का ३० वर्षीय रमेश थारुको शव आज अरुण नदीको सतिघाटमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक युवराज तिम्सिनाले जानकारी दिए।

इखुवा खोलाको बाढीले मङ्गलबार इखुवा जलविद्युत् आयोजनामा कार्यरत दुई मजदुरलाई बगाएको थियो। थारुसँगै बगेका २६ वर्षीय श्यामकुमार थारु हालसम्म बेपत्ता छन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।