भक्तपुरमा ७० भन्दा बढी घर डुबानमा, लाखौँको क्षति


भक्तपुर

भक्तपुरको सूर्यविनायक नगरपालिका क्षेत्रमा बालकोटबाट सिरुटारसम्मका ७० भन्दा बढी घर डुबानमा परेका छन्। हनुमन्तेको बाढी बालकोट पुल हुँदै बस्तीमा पसेपछि मेरिगोल्ड स्कुल, आसपासका बस्ती डुबानमा पर्नुका साथै बिहानदेखि ९ बजेसम्म बालकोट सडक अवरुद्ध भएको थियो ।

सडकबाट भेल बगेपछि त्यहाका विद्यालयहरु बन्द भएका छन् । बालकोटको माइक्रो बस पार्क क्षेत्रका बस्ती डुबनमा परेको छन्। बालकोट क्षेत्रबाट राति १ बजेदेखि स्थानीयको उद्धारमा खटिएको प्रहरी र स्थानीयले ५०जनाभन्दा बढीको उद्धार गरेको प्रहरीले जनाएको छ ।

रातभरको वर्षाले हनुमन्ते र आसपासका सहायक खोला उर्लिँदा आसपासका अस्पताल, विद्यालय, बस्ती, उद्योग, कलकारखाना जलमग्न हुँदा लाखौँको क्षति भएको प्रभावित परिवारले बताएका छन्।

यस्तै मध्यपुरथिमि नगरपालिका‐५ राधेराधे, सङ्गम कोलोनी, कमेरोटार जग्गा एकीकरण आयोजना भित्रको तल्लो क्षेत्रका बासिन्दा पनि बाढीबाट प्रभावित भएका छन् ।