म्याग्दीका पर्यटकीयस्थलमा ३१ हजारबढी विदेशी पर्यटक

42
Shares

म्याग्दी।

एक वर्षको अवधिमा हिमाली जिल्ला म्याग्दीको ३१ हजारभन्दा बढी पर्यटकहरुले भ्रमण गरेका छन् । गएको आर्थिक वर्ष २०८०-०८१ मा ३१ हजार ३ सय ५४ जना विदेशी पर्यटकहरुले म्याग्दी जिल्लाको भ्रमण गरेका हुन् । आर्थिक वर्ष २०७९-०८० मा भने २९ हजार ३ सय २८ जना पर्यटकहरुले म्याग्दीको भ्रमण गरेका थिए ।

यसअघि विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ पछि गतवर्ष सबैभन्दा धेरै विदेशी पर्यटकहरुले म्याग्दीमा भ्रमण गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । गतवर्ष म्याग्दी जिल्लाको भ्रमणमा २५ हजार ३ सय ३४ जना विदेशी पर्यटकहरु भित्रिएका छन् भने ६ हजार २० जना पर्यटकहरु भ्रमण गरेर बाहिरिएका छन् ।

तीमध्ये जिल्ला भित्रिने पुरुष पर्यटकहरु १२ हजार ९ सय ९१ र महिला १२ हजार ३ सय ४३ जना रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए । यसैगरी भ्रमण सकेर बाहिरिनेमा पुरुष पर्यटक ३ हजार ५३ र महिला २९ सय ६७ जना रहेको तथ्याङ्क छ । म्याग्दीको भ्रमणका लागि भित्रिएका र बाहिरिएका कुल पर्यटकको संख्यामध्ये पुरुष १६ हजार ४४ जना छन्भने महिलातर्फ १५ हजार ३ सय १० जना पर्यटकहरु रहेको प्रहरीले जनाएको छ ।


गतवर्ष सबैभन्दा धेरै चैत महिनामा ५ हजार ८ सय ४९ जना र सबैभन्दा कम असार महिनामा ३ सय ८८ जना विदेशी पर्यटकहरुले म्याग्दीको भ्रमण गरेको जिल्ला प्रहरी कार्यालयले राखेको तथ्याङ्कमा उल्लेख छ । म्याग्दीको भ्रमण गर्न अफ्रिका, अमेरिका, अस्टेलिया, बहराईन, बेल्जियम, ब्राजिल, बेलायत, चिली, चाईना, कोलम्बिया, डेनमार्क, फिनल्याण्ड, फ्रान्ससहित विदेशका १०६ वटा मुलुकबाट पर्यटकहरु आएका छन् ।

म्याग्दीको भ्रमणमा अधिकांश पर्यटकहरु कास्कीको घान्द्रुकबाट पुनहिल, घोरेपानी तथा ढोरपाटन शिकार आरक्ष र छिमेकी जिल्ला मुस्ताङबाट आवतजावत गर्ने गर्दछन् । पर्यटकहरु कम आउनुमा खासगरी आर्थिक मन्दी मुख्य रहेको छ भने प्रतिकुल मौसम र सरकारले पर्यटकलाई अनिवार्य गाइडको व्यवस्था गरेको कारण पनि पर्यटक घटेको अनुमान गरिएको छ । तर कोरोना र लकडाउनपछि गतवर्ष पर्यटक आगमनको तथ्याङ्कअनुसार पछिल्लो समय म्याग्दी जिल्लामा भ्रमण गर्ने पर्यटकहरुको सङ्ख्यामा भने क्रमशः वृद्धि हुँदै गएको देखिन्छ ।

म्याग्दीको भ्रमण गर्न आउने पर्यटकहरु अधिकांश सडकमार्ग भएर आउने गर्दछन् । पर्वतको मालढुङ्गा हुँदै बेनी, पश्चिम म्याग्दीको दरबाङ, उत्तरी भूरुङ–तातोपानी नाका र मुस्ताङ भएर म्याग्दीको भ्रमणमा पर्यटकहरु आउँछन् । यसैगरी कतिपय पर्यटकहरु टे«किङ एजेन्सीमार्फत सिधै हवाई–मार्ग भएर पनि जिल्लाको भ्रमणमा आउने गरेका छन्भने हिमालपारीको जिल्ला मनाङ हुँदै मुस्ताङबाट समेत पर्यटकहरु जिल्ला भित्रिने गर्दछन् ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ नेपालका केन्द्रीय सचिव एवं होटल याक बेनी प्रालिका सञ्चालक ताराप्रसाद आचार्य (बाबुराम)ले कोभिडपछि आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन बढेको बताए । उनले म्याग्दी जिल्लाको भ्रमण गर्न आउने पर्यटकहरुको बसाई लम्ब्याउनका लागि आवश्यक भौतिक पूर्वाधारहरुको निर्माण गरी पर्यटनमैत्री वातावरण सिर्जना गर्नुपर्ने माग गरे ।

जिल्लामा रहेका विभिन्न पर्यटकीय, धार्मिक तथा ऐतिहासिक स्थलहरुको विदेशी पर्यटकहरुले भ्रमण गर्ने गरेका छन् । म्याग्दीको भ्रमणमा आउने अधिकांश पर्यटकहरु घोरेपानी, पुनहिल, फुलबारी, महरेडाँडा, खोप्रालेक, रुप्से तथा नारच्याङ झरना, संसारकै गहिरो अन्धगल्छी, राउण्ड धौलागिरि र अन्नपूर्ण पदमार्गमा ट्रेकिङ गर्न, धौलागिरि, अन्नपूर्ण र गूर्जा हिमालको आरोहण गर्नका लागि आउने गरेको पाइन्छ ।

त्यस्तै सिङ्गा, भूरुङ–तातोपानी, पाउद्वारलगायत स्थानमा रहेका तातोपानीका कुण्डमा स्नान गर्न, पर्यटकीय क्षेत्र टोड्के, धार्मिक क्षेत्र गलेश्वरधाम, पौलस्त्य पुलहाश्रम, जगन्नाथधाम, केभहिल, स्वर्गाश्रम एवं मालिका मन्दिर, ताकम कोतलगायत क्षेत्रको दर्शन गर्न र ती ठाउँबाट देखिने मनोरम दृष्यावलोकन गर्नका लागि पर्यटकहरु आउने गरेका छन् । म्याग्दीमा रहेका विभिन्न ताल र झरनाहरुमा पनि पर्यटकहरु पुगेर रमाउने गर्छन् ।