संसदीय सुनुवाइ समितिको बैठक साँझ ५ बजेका लागि सर्‍यो

फाइल तस्बिर

काठमाडौं ।

निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानबारे निर्णय लिन सङ्घीय संसद्को संसदीय सुनुवाइ समिति बैठकको समय सारिएको छ। व्यस्तता देखाउँदै बिहान साढे ११ बजेका लागि बोलाइएको बैठक साँझ ५ बजेका लागि बोलाइएको संसद् सचिवालयले जानकारी दिएको छ।

यस बैठकले प्रस्तावित आयुक्त प्रधानलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिने छ। यसअघि उनको समितिमा बुधबार सुनुवाइ गरिएको थियो। प्रधानमाथि महिलालाई यौन शोषण गरेको आरोप छ। पीडित महिलाले समितिमा नै आएर बयान दिएकी थिइन् भने उनले उजुरी पनि दिएकी थिइन्।

सुनुवाइका क्रममा प्रधानले भने महिलासँगको विवाद अदालतमा मिलिसकेको बताएका थिए। यौन शोषण जस्तो गम्भीर आरोप लागेको व्यक्तिलाई संवैधानिक आयोगमा नियुक्त गर्न नहुने भन्दै चौतर्फी विरोध समेत भएको अवस्थामा समितिले आज निर्णय लिन लागेको छ।