स्वाप कारोबार विनियमावली जारी


काठमाडौं ।

नेपाल राष्ट्रबैंकले आइतबार स्वाप कारोबार विनियमावली, २०८१ जारी गरेको छ। विनियमावली जारी भएपछि विदेशबाट ऋण ल्याउने बैंक तथा वित्तीय संस्थाले विदेशी मुद्रामा हुनसक्ने जोखिम अब राष्ट्रबैंकमा सार्न सक्ने भएका छन्।

विदेशबाट लिएको ऋणमा विनिमय दरका कारण जोखिम भइरहेको भन्दै बैंकले नियम संशोधनको माग गर्दै आएका थिए। नयाँ विनियमावलीअनुसार खरिदबिक्री अमेरिकी डलर र नेपाली रुपियाँ स्वाप’ कारोबार गर्न सकिनेछ।

पहिलो चरणमा राष्ट्रबैंकले तोकिएको स्पट दरमा अमेरिकी डलर खरिद गरी नेपाली रुपियाँ बिक्री गर्नेछ । त्यस्तै, दोस्रो चरणमा पहिलो चरणको कारोबार रकमबराबरको अमेरिकी डलर तोकिएको फरवार्ड मिति र तोकिएको फरवार्ड दरमा राष्ट्रबैंकले बिक्री गरी नेपाली रुपियाँ खरिद गर्न सकिनेछ।

स्वाप कारोबारका लागि भारतीय रुपियाँबाहेकको विदेशी मुद्रामा ऋण भित्र्याउने वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी, लघुवित्त र पूर्वाधार विकास बैंकले सक्नेछन्। अहिले बैंकहरूले यसरी विदेशबाट ल्याएको ऋण करिब ५६ अर्ब रुपियाँ रहेको छ।