नयाँ मिसेस नेपाल वर्ल्ड कातिकमा छानिने


काठमाडौं ।

विवाहित महिलाहरूबीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड २०२४ आगामी कातिक १० गते राजधानीमा हुने भएको छ।
आयोजक संस्था रिवन इन्टरटेनमेन्टले बिहीबार राजधानीको कमलादिस्थित स्काई वाक टावरमा पत्रकार सम्मलेन गर्दै मिसेस नेपाल वर्ल्डका लागि आवेदन खुल्ला गरिएको जानकारी गराएको छ।

आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले नयाँ संस्करणका लागि आगामी भाद्र ८ गते नयाँ बानेश्वस्थित अर्याल इन्टरनेशनल होटलमा पहिलो चरणको अडिसन गरिने जानकारी गराए। उनका अनुसार यसवर्ष पनि प्रतियोगिताका विजेताले अमेरिकामा हुने मिसेस वर्ल्डमा सहभागिता जनाउने अवसर प्राप्त गर्नेछिन् भने मिसेस नेपाल वर्ल्डकै सोही मञ्चमा मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधि विजेतासमेत चयन गरिनेछ।

कार्यक्रममा मिसेस नेपाल वर्ल्ड २०२३ तथा मिसेस वर्ल्डकी ह्युम्यनेटेरियन अवार्ड २०२३ विजेता पृथ्वीया थापाले प्रतियागिताले विवाहित र विभिन्न पेसामा आबद्ध महिलाईलाई थप माथि उठ्ने मौका दिने बताइन्। एमएस नेपाल २०२३ सिता सुवेदीले विवाहित महिलालाई अगाडि बढ्न मिसेस वर्ल्ड उपयोगी मञ्च भएको बताइन्। प्रतियोगिताका कोरियोग्राफर आश्विनीकान्त झाले मिसेस नेपाल वर्ल्डलाई यसपटक बृहत ढंगले आयोजना गरिने बताए।

प्रतियोगिताका सल्लाहकार तथा पत्रकार विदुर गिरीले कार्यक्रमले थप उचाइ लिने विश्वास व्यक्त गरे। स्काई वाक टावरका सीईयो कवीन्द्र श्रेष्ठले विवाहपछि महिला अगाडि बढ्न असजिलो हुन्छ भनिने नेपाली समाजमा यसप्रकारको कार्यक्रममा जोडिन पाउँदा खुशी व्यक्त गरे।

आयोजक संस्थाका अनुसार मिसेस नेपाल इन्टरनेशनल र एमएस इन्टरनेशनलका विजेतालाई सिंगापुरमा हुने प्रतियोगितामा सहभागिताका लागि अवसर मिलाइएको छ।