हेल्लो नेताजी, अंग्रेजी बोल्दा उल्टै बद्नाम भइएला नि !


काठमाडौं ।

नेपालमा आम मानिसले प्रयोग गर्दा बुझिने राष्ट्रभाषा नेपाली नै हो । तर, हाम्रा कैयौं नेताहरू आफ्नो राष्ट्रभाषा नेपालीलाई बिर्सिएर जानी नजानी अंग्रेजी बोल्दा आलोचित बन्न पुगेका छन् । कनीकुथी बिगार्दै अंग्रेजी भाषा बोल्नुभन्दा आफ्नै नेपाली भाषा बोल्नु नै उनीहरूको लागि श्रेयस्कर देखिन्छ ।

आयातीत भाषा कुनै अनिवार्य नभए पनि संवाद सहजताका लागि राजनीति, प्रशासनिक मात्रै नभएर प्रायः सबै क्षेत्रका व्यक्तिहरूले बोल्ने अभ्यास छ । तर, भाषा सीपमा असहजता हुँदाहुँदै आयातीत भाषालाई बिगारेर जबरजस्ती बोल्न खोज्दा आलोचित हुनेहरू पनि प्रशस्त छन् ।

नेपालमा केही नेताहरूले अंग्रेजी बोल्न खोज्ने तर भाषा र उच्चारणमा भाँती नपु¥याउने वा बीचबीचमा अंग्रेजीसँगै हिन्दी र नेपाली मिसावट गरेर दिने अभिव्यक्तिले उनीहरू विवादित र आलोचित बन्न पुगेका हुन् । त्यसैकारण हाम्रा नेता र आम नेपालीले समेत नेपाली राम्ररी बोले पुग्छ । अंग्रेजी नबोले पनि फरक पर्दैन भन्ने कुरामा ढुक्क हुनुपर्दछ । रसिया, जापान, चाइनालगायत युरोपियन मुलुकहरूको कति प्रधानमन्त्री, राष्ट्रपति, सांसद, नेताहरूले जीवनभर अंग्रेजी नबोलेर नै संसारको शक्तिशाली देश बनेका छन् ।

जानी नजानी अंग्रेजी बोलेर विवादित भएका नेताहरूको बारेमा यहाँ उल्लेख गरिएको छ ।

रामहरि खतिवडा

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले अंग्रेजीमा दिएको एउटा जानकारीमूलक अभिव्यक्तिले आलोचित हुनुभएको छ । बुधबार सौर्य एयरलाइन्सको विमान दुर्घटनापछि घटनास्थल पुग्नुभएका उहाँले मिडियासँगको कुराकानीमा अंग्रेजीभाषामा दिएको जानकारीलाई लिएर सामाजिक सञ्जालमा उहाँलाई व्यङ्ग्य गर्नेको संख्या अत्यधिक देखिएको छ । पटकपटक हुने हवाई दुर्घटनाको कारणबारेको प्रश्नमा खतिवडाले दुर्घटनाका बारेमा अंग्रेजीमै बताउने प्रयास गर्दा उहाँ भाषा लवज र उच्चारणमा चिप्लिनुभएको थियो ।

मातृका यादव

यसअघि नेकपा माओवादी केन्द्रका सचिव एवं तत्कालीन उद्योगमन्त्री मातृका यादवले लगानी सम्मेलनमा भाग लिन साउथ एसियामा भएको सार्वजनिक कार्यक्रममा बोल्दा उहाँले धेरै त्रुटि गर्नुभएको थियो । उहाँले लेखेरै लगेको अंग्रेजी भाषण पढ्दा अलमलमा पर्नुभएको थियो भने बीचमा हिन्दी भाषासमेत प्रयोग गर्न भ्याउनुभएको थियो । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उहाँ आमरूपमा आलोचनाको पात्र बन्न पुग्नुभएको थियो ।

ज्ञानेन्द्र शाही


राप्रपाका सांसद ज्ञानेन्द्र शाहीको अंग्रेजी अन्तर्वार्ताको भिडियो पनि त्यस्तै भाइरल बनेको थियो । अस्ट्रेलियाको एक कार्यक्रममा ‘विदेशीसँग नेपाली’मा संवाद गरेका शाहीलाई कार्यक्रममा सहभागी एकजना दोभाषेले सहजीकरण गरिदिएका थिए । उक्त कुराकानीको भिडिओ सामाजिक सञ्जालमार्फत् सार्वजनिक भएसँगै सीए पढेको भनेर धाक लगाउने ज्ञानेन्द्र शाहीलाई अंग्रेजी बोल्न पनि नआउने रैछ भन्दै व्यङ्ग्य गरिएको थियो । त्यसपछि शाहीले अंग्रेजी जानेको पुष्टि गर्न एउटा युट्युब च्यानलमा अन्तर्वार्ता दिँदा त्यसमा पनि नराम्ररी चिप्लनुभएको थियो ।

गोकर्ण विष्ट

स्विट्जरल्यान्डको जेनेभामा भएको १०९औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले अंग्रेजीमा मन्तव्य दिनुभएको थियो । विष्टले अंग्रेजी राम्रोसँग बोल्न जानेन भनेर मिडिया, सोसल मिडियादेखि, विभिन्न संघसंस्था तथा व्यक्तिहरूले खिल्ली उडाएका थिए । उक्त भिडिओमा उहाँले आफ्नै लवजमा अंग्रेजी पढ्नुभएको थियो । उहाँको लवजलाई लिएर आमरूपमा विष्टमाथि व्यङ्ग्य गरिएको थियो ।