ईश्वरबाट उत्साह


काठमाडौं ।

गुरुङ फिल्ममा अभिनय गर्दै आइरहेकी नायिका कृष्टि गुरुङ भोलि शुक्रबारबाट रिलिज हुन लागेको फिल्म ईश्वरलाई लिएर उत्साहित छन्। यसअघि दयारानीमा छोटो भूमिकामा देखिएकी उनी ईश्वरमा भने प्रमुख भूमिकामा नै छिन्।

फिल्मका निर्माता ध्रुव थापा र माओत्से गुरुङका कारण उनी यो फिल्ममा जोडिएकी हुन्। ‘उहाँहरू यो फिल्मका लागि मंगोलियन अनुहारको नायिका खोजिरहनुभएको रहेछ। उहाँहरूसँग भेट भएपछि ईश्वरमा जोडिन पाएँ,’ कृष्टि भन्छिन्। गुरुङ फिल्ममा ग्रामीण चरित्र निर्वाह गरेकी उनी यसमा त्यस्तै चरित्रमा देखिँदैछिन्।

‘फिल्ममा म स्कुल टिचर छु, आफ्नो क्योक्टरबाट सन्तुष्ट छु,’ उनले सुनाइन्, ‘फिल्ममा बुद्धि दाई मेरो फुपूको छोरा र मचाहिँ बुद्धि दाइको मामाको छोरी छु। नाताले हामी सोल्टी सोल्टिनी हुन्छौँ। हाम्रो संस्कृतिमा सोल्टी सोल्टिनीको हक लाग्ने भएकाले हामीलाई एक अर्काप्रति नजिकिएको देखाइएको छ। म सानो क्यारेक्टरबाट नेपाली फिल्ममा आएकी हुँ। सुरुदेखि नै ठूलो क्यारेक्टरबाट आएको भए त्यो च्यालेन्ज हुँदैन थियो होला। तर , ईश्वर मेरा लागि च्यालेन्ज भयो।’

क्राइम फाइलमा मात्र आधुनिक गेटअपमा अभिनय गरेकी कृष्टिलाई गाउँले जनराकै फिल्म मन पर्छ। ‘गाउँले किसिमकै चरित्र निभाइरहेकी छु। किनभने त्यही रहनसहनमा हुर्केकी छु। मलाई आधुनिक क्यारेक्टरमा फिट हुँदैन जस्तो लाग्छ,’ उनी भन्छिन् , ‘ईश्वरबाट कस्तो प्रतिक्रिया आउँछ, त्यसपछि अरू फिल्म गर्ने या नगर्ने भन्ने टुंगो लाग्छ।’

फिल्मका निर्देशक राजु गिरी ईश्वर आफ्नो निर्देशन करियरमै फरक कन्टेन्टमा बनेको दाबी गर्छन्। ‘ईश्वर भन्नासाथ सबैले भगवान सम्झन्छन्। तर, फिल्ममा ईश्वर भनेको एउटा क्यारेक्टर हो। एउटा इमान्दार प्रहरीले आफ्नो कर्तव्य निर्वाह गरिरह“दा एक नेताको पावरले जागिर छोड्नुपर्ने भएपछिको घटनाक्रम फिल्ममा छ,’ राजु भन्छन्, ‘ईश्वरले गाउँ गएर बर्दीबिनाको प्रहरीको काम गर्छ।’ समाजमा भइरहेका राजनीतिक, भ्रष्टाचार, समाजमा बढ्दो जातीय छुवाछुतविरुद्धको कथा फिल्मले बोल्ने निर्देशक गिरीले बताए।

फिल्म व्यापारी पृष्ठभूमिका हरिबहादुर थापाले निर्माण गरेका हुन्। फिल्ममा उनले स्कुल प्रिन्सिपलको रोल पनि गरेका छन्। ‘फिल्ममा काम गर्ने इच्छा धेरै अघिदेखिको हो। त्यो इच्छा ईश्वरबाट पूरा भएको छ। मलाई यसको कथाले तान्यो,’ थापा भन्छन्, ‘फिल्म निर्माण गर्ने सोचेजस्तो सजिलो त पक्कै छैन। तर, ईश्वरको हकमा भने मलाई गाह्रो भएन। निर्देशक, कलाकार र प्राविधिकको राम्रो सहयोग पाएँ।’ फिल्ममा प्रेम, एक्सनदेखि सबै विषय जोडिएकाले दर्शकले मन पराउनेमा उनी आशावादी छन्।

ध्रुव थापा, अनु शाह, कृष्टि गुरुङ, सुनील थापा, बुद्धि तामाङ, सबिन बास्तोला, माओत्से गुरुङ, पृथ्वीराज प्रसाई, रवीन्द्र झा, पृथ्वीराज प्रसाईं, शिशिर वाङ्देल, गीता अधिकारीलगायत कलाकारले अभिनय गरेको फिल्ममा भोजराज देवकोटाको पटकथा र संवाद, अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन र रामेश्वर हुमागाईको छायांकन रहेको छ।