लुम्बिनीका मुख्यमन्त्री आचार्यसहित मन्त्रीहरूले लिए शपथ


बुटवल ।

लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यसहित ८ बिना विभागीय मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले उनीहरूलाई शपथ गराएका हुन्। १२ मन्त्रालय रहेको लुम्बिनीमा एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ५ मन्त्रालय लिएका हुन्।

एमालेबाट रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, पाल्पाका खेम सारु र दाङका सीता शर्मा मन्त्री बनेका छन्। यस पटक मन्त्री दोहोरिनेमा ढकाल र पन्थी छन्। ढकाल यसअघि जोखबहादुर महराको नेतृत्वको सरकारमा सहरी विकास मन्त्री पन्थी आन्तरिक मामिला मन्त्री थिए। पाल्पाका सारु र दाङकी शर्मा मन्त्रीमा नयाँ अनुहार हुन्। यसैगरी नेपाली कांग्रेसबाट ४ मन्त्रीले शपथ लिएका छन्।

गुल्मीका धनेन्द्र कार्की, प्यूठानका रोज राणा, दाङका प्रचण्डविक्रम न्यौपाने, बाँकेका बादशाह कुर्मी मन्त्री बनेका हुन्। कांग्रेसबाट अहिले मन्त्री बनाइएका मध्ये रोज राणा मात्रै यसअघि मन्त्री बनेका हुन् भने अरू सबै नयाँ हुन्। कांग्रेसले प्रमुख सचेतक रहेका जन्मजय तिमिल्सिना मन्त्री बन्ने बताइएको भएपनि विवाद भएपछि अन्तिम समयमा उनको नाम काटिएको छ। 

आज बिना विभागीय रूपमा शपथ लिएका सबै मन्त्रीलाई बिहीबारसम्म मन्त्रालयको जिम्मेवारी दिने जनाइएको छ। लुम्बिनीमा एमाले कांग्रेसका ५६ सांसदको हस्ताक्षरमा सोमबार एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री बनेका थिए।

लोसपा, नाउपा, जनमत, जसपा, जसपा नेपाल, राप्रपाले सरकारलाई समर्थन गर्ने मौखिक सहमति जनाएपनि अहिलेसम्म उनीहरुले सरकारको पक्षमा खुलेका छैनन् । उनीहरुका लागि २ मन्त्रालय खाली राखिएको छ।

८७ सदस्यीय प्रदेश सभामा अब माओवादीका १०, नेकपा एस, जनमोर्चा र स्वतन्त्रका एक एक गरी १३ सांसद मात्रै विपक्षमा रहने देखिएको छ।

मुख्यमन्त्री आचार्यको सपथमा एमाले संसदीय दलका नेता लिला गिरी भने अनुपस्थित भएका छन्। दलको नेता रहेका गिरीलाई रोकेर उपनेता आचार्यलाई पार्टी महासचिव शंकर पोखरेलको जोडबलमा मुख्यन्त्री बनाइएपछि गिरी रुष्ट बनेका छन्।