म्याग्दीको गलेश्वर शिवालयमा भक्तजनको भीड (तस्बिरसहित)

196
Shares

म्याग्दी।

म्याग्दीको प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वरधाम शिवालयमा आज (सोमबार) बिहानैदेखि श्रद्धालु, भक्तजनहरुको भीड लागेको छ । बेनी नगरपालिका–९, गलेश्वरस्थित रहेको गलेश्वर शिवालयमा यसवर्ष साउन महिनाको पहिलो सोमबार म्याग्दीसहित देशका विभिन्न जिल्लाबाट आएका भक्तजनहरुले पूजाआजा गरेका हुन् ।

आज साउन महिनाको पहिलो सोमबार म्याग्दी, पर्वत, बागलुङ, कास्की, चितवन, रुपन्देही, काठमाडौंलगायत जिल्लाहरुबाट गलेश्वर शिवालयको दर्शन तथा पूजाआजा गर्न भक्तजनहरु आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । साउने सोमबारमा गलेश्वर शिवालयमा भक्तजनहरुलाई लक्षित गरेर विभिन्न २३ वटा उपसमितिहरु गठन गरी उनीहरुलाई सहज रुपमा पूजाआजा गर्ने व्यवस्था मिलाइएको छ । 

यसपटक साउन महिनामा चारवटा सोमबार परेको भए पनि गाउँघरमा खेतीपातीको काम सकेर प्रचण्ड गर्मी र वर्षायामको समयका बाबजुद भक्तजनहरु गलेश्वर शिवालय पुगेका छन् । यसवर्ष साउनको पहिलो सोमबार म्याग्दीसहित देशका विभिन्न जिल्लाहरुबाट करिब २० हजारको हाराहारीमा भक्तजनहरुले पूजाअर्चना गर्ने अनुमान गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो । साउने सोमबार हिन्दु महिलाहरूको लागि विशेष दिन मानिन्छ । 

आफ्नो मनोकांक्षासहित परिवारमा सुख, शान्तिको कामना गर्न गलेश्वर शिवालयको दर्शन गर्न आएको महिला उद्यमी गंगा खत्रीले जानकारी दिइन् । आजको दिन महिलाहरू ब्रत बस्ने र शिव मन्दिरमा पुगेर पुजाअर्चना गर्ने गर्दछन् । देशैभरका शिव मन्दिरमा आज बिहानैदेखि खासगरी व्रतालु महिलाको भीड लागेको छ । साउन महिनामा शिवलाई शुद्ध जल चढाएमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ । 

सोमबार ब्रत बसी शिवको आराधना गर्दा अटल सौभाग्य प्राप्ति हुने जनविश्वास भएकाले महिलाहरू बिहानै शिवालय मन्दिर पुग्ने गर्दछन् । साउन महिनालाई भगवान् महादेव (शिव)को प्रिय महिनाको रुपमा पनि लिने गरिएको पाइन्छ । हिमालपारीको जिल्ला मुस्ताङमा अवस्थित प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्वारका रूपमा रहेको म्याग्दीको गलेश्वर शिवालयमा पछिल्लोपटक ११ वटा गौमुखी धाराहरु जडान गरिएको छ । गलेश्वरको दर्शन गर्न आउने भक्तजनलाई लक्षित गरेर पवित्र कालीगण्डकी नदीको गङ्गाजलले गौमुखी धारामा स्नान गर्ने व्यवस्था मिलाइएको हुँदा भक्तजनको संख्यामा वृद्धि हुँदै गएको छ। 

पवित्र कृष्णागण्डकीबाट उठेर ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिरभित्र स्वयं उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको धार्मिक विश्वास छ । मन्दिरमा सङ्कलित भेटी पूर्वाधार विस्तार, कर्मचारी परिचालनलगायत विभिन्न धार्मिक कार्यमा खर्च गर्ने गरिन्छ । सत्ययुगमा सतीदेवीले अग्नीकुण्डमा हाम फालेर देहत्याग गरेपछि उनको मृत शरिर बोकेर शिव महादेव पृथ्वीको भ्रमण गर्ने क्रममा गलेश्वरमा आएर गलापतन भएपछि गलेश्वर नाम रहन गएको धार्मिक ग्रन्थ र पुराणहरुमा उल्लेख छ ।