वास्तुअनुसार विद्यार्थीको कोठा व्यवस्थापन

0
Shares

सुन्दा सामान्य लाग्न सक्छ, तर विद्यार्थीको पढ्ने÷सुत्ने कोठाको उचित व्यवस्थापनले उनीहरूको दिमाग तिखो बनाउन र जीवनमा सफलता प्राप्त गर्न निकै ठूलो भूमिका खेल्न सक्छ । शयनकक्षको बनावट र साजसज्जाले पढाइमा समेत प्रभाव पार्छ । त्यसैले विद्यालय तथा कलेज जाने आफ्ना छोराछोरीको शयनकक्षलाई वास्तुशास्त्रअनुसार व्यवस्थापन गर्न अभिभावकहरूले विशेष ध्यान पु¥याउन सके उनीहरूको पढाइ तनावरहित, सुस्वास्थ्य र सुख–शान्तिसहित अघि बढाउन सहज हुन्छ ।

कुन दिशामा शयनकक्ष बनाउने ?

उच्च शिक्षा हासिल गरिरहेका विद्यार्थीको शयनकक्षका लागि पश्चिम दिशा शुभ मानिन्छ । यस दिशामा सुत्दा आराम एवम् शान्ति मिल्छ । साथै तनावरहित भरपूर निद्रासमेत हुन्छ । विद्यालय जाने उमेरका साना बच्चाहरूका लागि भने वास्तुशास्त्रअनुसार पूर्व दिशामा शयनकक्ष हुनु उपयुक्त हुन्छ ।
हुन त जीवनमा पढाइ कहिले पो सकिन्छ र ! घरको अभिभावक पनि जीवनको उत्तराद्र्धमा समेत उच्च शिक्षा हासिल गर्दै गरेको हुनसक्छ । यस अर्थले अभिभावक पनि सधैँ विद्यार्थी हो तर ऊ घरमूली पनि हो । यस अवस्थामा घरमूलीलाई विद्यार्थीको रूपमा मानिँदैन । त्यसैले घरमूलीको शयनकक्ष घरको नैऋत्य (दक्षिण–पश्चिम) कोणमा हुनुपर्छ । यस दिशामा सुत्ने व्यक्तिमा धनको कमी नहुने र शरीर स्वस्थ रहने बताइएको छ । साथै घरमूली यस दिशामा सुत्नाले घरको सुख–समृद्धि बढ्ने विश्वास गरिन्छ ।

आग्नेय (पूर्व–दक्षिण) कोणमा भने विद्यार्थी होस् वा अरू कसैले पनि शयन कक्ष बनाउनुहुँदैन । यहाँ अग्नि तत्व हुने भएकाले यस दिशामा सुत्दा स्वास्थ्यमा कुप्रभाव पर्ने हुन्छ । त्यस्तै, विद्यार्थी होस् वा नहोस्, उसको विवाह गर्ने कुरा चलेको भएचाहिँ घरको वायव्य (पश्चिम–उत्तर) दिशामा सुत्न सकिन्छ । यो कोठा कुनै युवतीले प्रयोग गरेमा चाँडै विवाह हुने योग बन्ने बताइएको छ । नत्र पाहुनाका लागि यस दिशामा शयनकक्ष दिँदा ऊ अत्यन्तै सन्तुष्ट हुन्छ, जसले गर्दा घरमूलीको मान, प्रतिष्ठा, इज्जत बढाउन मद्दत पुग्छ ।

स्मरण रहोस्, घरको उत्तर दिशामा शयनकक्ष हुनुचाहिँ नराम्रो मानिन्छ । यहाँ सुत्ने व्यक्ति सधैँ अशान्त र रिसाहा हुने हुन्छ । यस दिशामा जोसुकैको लागि भए पनि शयनकक्ष नबनाउनु नै उत्तम हुन्छ ।

सिरान कतापट्टि गर्ने त ?

शयनकक्षको छनोट गरेर मात्र हुँदैन । पलङ राख्ने बेलामा पनि ध्यान पु¥याउनुपर्ने हुन्छ । वास्तुशास्त्रको विचार गर्दा, विद्या प्राप्तिका लागि पूर्व दिशामा सिरान पर्ने गरी बेड मिलाउनुपर्छ । विद्यार्थी जीवन पार गरिसकेको व्यक्तिका लागि भने दक्षिण सिरान उत्तम हुन्छ । धन एवम् आयुका लागि दक्षिण दिशामा सिरान गर्नु भनिएको छ । यस्तै, पश्चिम सिरान भए सधैँ चिन्ता र उत्तर सिरान भए हानि हुने एवम् आयु क्षीण हुँदै जाने हुन्छ । तल उल्लिखित यो श्लोकले पनि यो कुरा बताउँछ ।

प्राकशिर शयने विद्या धनमायुश्च दक्षिणे

पश्चिमे प्रबला चिन्ता हानिमृत्युतथोत्तरे ।

उत्तर सिरान गरेर सुत्दा चुम्बकीय ध्रुवसँग सन्तुलन नमिल्नाले रक्तप्रवाहमा समेत असर पर्न सक्छ । त्यसैले विद्यार्थीका लगि पूर्व सिरान र अन्यका लागि दक्षिण सिरान गर्नु नै उत्तम मानिन्छ । दक्षिण सिरान गरेर सुत्दा चुम्बकीय तरंगको सकारात्मक प्रभाव पर्ने कुरा विज्ञानले समेत प्रमाणित गरेको छ ।

अध्ययन कोठा :

विद्यार्थीको लागि अध्ययन कोठा छुट्टै व्यवस्थापन गर्ने हो भने पूर्वको कोठा बढी उपयोगी हुन्छ । बैठक कोठाबाट नै अध्ययन कोठाको काम चलाउन पनि सकिन्छ । तर, विद्यार्थीको पुस्तक राख्ने ¥याक पश्चिम फर्काएर राखिनुपर्छ । कम्प्युटर भने उत्तर फर्केर काम गर्न मिल्ने गरी राख्नु उचित हुन्छ । लेखपढ गर्दा पूर्व वा उत्तर फर्किनु उचित हुन्छ ।

बैठक कक्ष घरको वायव्य (उत्तर–पश्चिम) मा हुनु राम्रो मानिन्छ । यस कोणमा वायु तत्व हुने भएकाले यहाँबाट प्रवेश गरेको वायुले जीवनदायिनी शक्ति प्रदान गर्छ । हावाका लागि पंखा राख्ने पनि यही दिशापट्टि हो । यस कोठाको दक्षिण–पूर्वी (आग्नेय) कोणमा अग्नि तत्व भएका टेलिभिजन, टेलिफोनजस्ता विद्युतीय उपकरण राख्न सकिन्छ ।

वास्तुशास्त्रका अनुसार जीवनमा रंगको पनि विशेष महत्व छ । त्यसैले बालबालिकाको कोठाको रंग हल्का पहेँलो, हल्का हरियो वा गुलाबी राख्नुपर्छ । यसले बुद्धिमा मात्र सुधार गर्दैन, उनीहरूको स्मरण शक्ति र ऊर्जा पनि बढाउँछ । विद्यार्थीको कोठाको उत्तरी भित्तामा फूलेका बालीनालीको पेन्टिङ वा तस्वीर राख्नु लाभदायक मानिन्छ ।

प्रमुख कुरा :

-विद्यार्थीका लागि शयनकक्ष घरको पूर्व वा पश्चिमपट्टि हुनुपर्छ । 

-विद्यार्थीले पूर्व सिरान गरेर सुत्नुपर्छ । 

-लेखपढ गर्दा पूर्व वा उत्तर फर्कनु उत्तम हुन्छ ।

-पूर्व दिशातर्फ फर्केर खाना खानु उत्तम हुन्छ, सम्भव नभए उत्तर वा पश्चिम फर्कन पनि सकिन्छ ।

-घरको पश्चिमपट्टि नुहाउने कोठा र शौचालय हुनु शुभ मानिन्छ । 

-ट्वाइलेट गर्दा दक्षिण वा उत्तर फर्कने गरी प्यान वा कमोड जडान भएको राम्रो मानिन्छ ।