जलबीरेमा माइक्रो बस दुर्घटना: तीनजना घाइते, एकको अवस्था गम्भीर


चितवन।

जिल्लाको इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिकै माइक्रो बस दुर्घटना हुँदा तीनजना घाइते भएका छन् ।

कावासोतीबाट काठमाडौँतर्फ जादैँ गरेको ग१ख ९१५५ नं को माइक्रो आज बिहान नारायणगढ–मुग्लिन खण्डअन्तर्गत इच्छाकामना–६ जलबिरेस्थित सडकको डिभाइडरमा ठोकिँदा बसमा सवार तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रहरीका अनुसार घाइतेहरूको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। घाइतेमध्ये माइक्रोका सहचालक नवलपुरको कावासोती नगरपालिका–८ बस्ने ३६ वर्षीय धनश्याम न्यौपानेको अवस्था भने गम्भीर रहेको बताइएको छ ।

माइक्रो आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो। माइक्रो चालक चितवनको माडी नगरपालिका–१ का नन्दलाल महतोलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उक्त माइक्रोमा १७ जना यात्री सवार थिए ।