नगरप्रहरी प्रमुखको बदमासी: प्रशासनका कर्मचारी धम्क्याउँदै आफैले लगाए छाप


धादिङ । 

नेपालकाे राष्ट्रियता समेत रहेको नागरिकता प्रमाणकाे तथ्यांक राखेर सुरक्षित हुनुपर्ने जिल्ला प्रशासन कार्यालय धादिङमा नगर प्रहरी प्रमुखले आफैले  एक अज्ञात कागजमा छाप लगाएको भेटिएको छ ।

नीलकण्ठ नगरपालिका नगर प्रहरीका प्रमुख तथा नगर प्रहरी नायव निरीक्षक तेज बहादुर लामिछानेले अनुमति विना जिल्ला प्रशासन कार्यालयको छाप प्रयोग गरेको भेटिएको हाे ।

आइतबार बिहान कार्यालय नखुल्दै जिल्ला प्रशासन कार्यालयको ९ नम्बर कोठामा रहेको नागरिकता प्रतिलिपि फाँटमा प्रवेश गरी कार्यालयको छाप प्रयोग गरेको भेटिएको हो । 

लामिछानेले कागजमा छाप हानिरहेको देखेपछि प्रशासनका एक जना कर्मचारीले सहायक प्रमुख जिल्ला अधिकारीसहित कार्यालयका अधिकृतहरुलाई खबर दिएका थिए ।

सोधपुछका क्रममा पासपोर्ट बनाउने लाइन बस्नको लागि प्रशासन कार्यालयले सेवाग्राहीलाई दिने टोकनमा छाप लगाएको भनिएपनि लामिछानेले अरु के कागजमा छाप लगाए यकिन छैन । दुई वटा कागजमा छाप लगाईरहेको देखेपछि कार्यालयका कर्मचारीले सोधीखोजी गर्दा ‘म को हो ? चिनेको छ ?’ भन्दै कोठाबाट निस्किएको ती कर्मचारीले बताए ।

आइतबार बिहान करिब साढे ९ बजे जिल्ला प्रशासन कार्यालय भवनको मूल ढोका नखुल्दै पछाडि पट्टीको ढोकाबाट भित्र प्रवेश गरेका लामिछानेसँग एक जना महिला पनि साथमा रहेको बताइएको छ । कार्यालयको सिसिक्यामेरा फुटेजमा पनि उनी प्रशासन कार्यालयको नागरिकता प्रतिलिपि फाँटमा प्रवेश गरी कागजमा छाप लगाएको देखिन्छ ।

यस्तो कार्य गर्नेलाई मुलुकी अपराध संहिता २०७४ को दफा २७६ को उपदफा ३ को देहाय ‘ग’ को कसुरमा ‘घ’ बमोजिम सरकारी छाप दस्तखत किर्ते गरेको कसुरमा ५ वर्षसम्म कैद सजाय र ५० हजारसम्म जरिवाना गर्न सकिने कानुनी व्यवस्था छ ।

‘कसैले कीर्ते लिखत खडा गर्ने वा बनाउने काममा प्रयोग गर्ने नियतले वा त्यस्ता काममा प्रयोग हुन सक्छ भन्ने जानीजानी वा विश्वास गर्नुपर्ने मनासिब कारण भई कीर्ते लिखत बनाउने छाप वा अन्य कुनै औजार बनाउन, मर्मत गर्न, खरिद गर्न, दिन लिन वा आफूसँग राख्नु हुँदैन’ मुलुकी अपराध संहिता २०७४ मा भनिएको छ।  तर, लामिछानेले जिल्ला प्रशासन कार्यालयको नागरिकता, राहदानीलगायत महत्त्वपूर्ण कागजातमा प्रयोग हुने छाप नै आफूखुसी प्रयोग गरेका हुन् ।

श्रोतका अनुसार असार १२ गतेदेखि जिल्ला प्रशासन कार्यालयको नागरिक सहायता कक्ष तथा दर्ता चलानी फाँटबाट जिल्ला प्रशासन कार्यालयको छाप समेत हराइरहेको छ । 

छाप हराएदेखि कार्यालयमा त्यस्ता व्यक्तिहरुको गतिविधिबारे निगरानी बढाइएको र आइतबार लामिछानेले सम्बन्धित कर्मचारीहरु कार्यालयमा हाजिर हुनु अगावै कोठामा छिरेर अनुमति विना नै छाप प्रयोग गरेको भेटिएको जिल्ला प्रशासन कार्यालय धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालको भनाई छ ।

दर्ता चलानी कक्षबाट हराइरहेको छाप पनि लामिछानेले नै उछिट्टाएको हुन सक्ने बलियो  आधार पनि आइतबारको घटनाले देखाएको छ । 
छाप नै चोरी गरी प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने विभिन्न सिफारिस तथा पुर्जीहरू (जस्तैः बिदाको दिन सवारी चलान अनुमतिपत्र बनाउने, कार्यालयको लेटर प्याड र छाप प्रयोग गरेर अनाधिकृत सिफारिस गरेको हुनसक्ने र त्यस्ता सिफारिसहरु कार्यालयको अभिलेखमा नराख्ने-नहुने) गरी छापको दुरुपयोग गरेको हुनसक्ने जानकारहरुको भनाई छ ।

जुनसुकै ठाउँमा मेयरको नजिक रहेको घमण्ड प्रस्तुत गर्ने लामिछानेलाई नीलकण्ठ नगरपालिकाकै कर्मचारी र सेवाग्राहीहरुले समेत मिनी मेयरको उपनाम दिने गरेका छन् । सदरमुकाम आसपासमा गुड्ने सवारीका चालकहरुसँग सहज भएसम्म अनेकन बहानामा पैसा असुल्ने र नदिए हदैसम्मको चिट थमाइदिने गरेको आरोप पनि उनीमाथि छ ।