काठमाडौं ।
संसद्को प्रतिपक्षमा संख्यात्मक सदस्य कम रहे पनि गुणत्मक रूपमा प्रतिपक्षीको आवाज बलियो बनाउने तयारी भइरहेको छ। संसद्का दुई ठूला दल मिलेर सरकार गठनपछि बाँकी साना दलहरू प्रतिपक्षी बेन्चमा एकजुट भएका हुन्।
नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्यलाई लिएर प्रतिपक्ष कमजोर हुने संशय व्यक्त भइरहे पनि प्रतिपक्षमा रहेका दलका नेताहरूले सरकारका क्रियाकलाप र कार्यशैलीलाई नजिकबाट निगरानी गर्ने बताएका छन्।
पूर्वअर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले अर्थतन्त्र निराशाजनक रहेको भनेर प्रधानमन्त्री ओलीले भनेको कुरा सत्य नरहेको जिकिर गर्नुभयो। ओली नेतृत्वको अघिल्लो सरकारको कार्यशैलीको समेत आलोचना गरेका पुनले तथ्यांकहरूलाई व्यक्ति केन्द्रित र आफू केन्द्रित गरेर प्रस्तुत गरियो भने त्यसले भोलि आफैंलाई ‘ब्याक फायर’ गर्ने बताउनुभयो।
कांग्रेस–एमालेबीचको सत्ता सहकार्यलाई लिएर उहाँले आफ्नै नेताहरूले सरकार चलाउने वातावारण बनाउन आग्रह गर्नुभयो। उपमहासचिव पुनले गिरीबन्धु टी स्टेटलगायतका भ्रष्टाचारको काण्ड लुकाउन कांग्रेस र एमालेले मिलेर सरकार बनाएको आरोप लगाउँदै त्यसको जवाफ आफूहरूले चाहेको बताउनुभयो ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार पक्षसँग अंक गणित धेरै छ भन्दैमा त्यसले काम नगर्ने बताउनुभयो । गणितले मात्रै काम गर्ने भएको भए कम्युनिस्ट पार्टी एक्लैले करिब दुईतिहाइ मत ल्याउँदा पनि पाँच वर्ष सरकार चल्न नसकेको स्मरण गराउनुभयो । उहाँले भन्नुभयो– ‘अहिले मुलुकमा स्थिरता नहुनु, समावेशी, समानुपातिकमा साना दलहरू ठूला दलको क्रियाकलाप मुख्य कारण हो । साना दलहरूलाई आवश्यक परेको बेला फुटाउनु हुन्छ, साना लोभ देखाएर फाइदासँगै बसाउनु हुन्छ । चलखेल तपाईंहरू गर्नुहुन्छ ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जुन जुन व्यक्तिमाथि प्रश्न उठाएको र छानबिन गरिएको थियो उनीहरूलाई नै मन्त्रिपरिषद्मा राखिएको भनी आलोचना गर्नुभयो । प्रधानमन्त्री ओलीले राखेको विश्वासको मतको प्रस्तावमा आफ्ना धारणा राख्दै लामिछानेले कांग्रेस र एमालेले विगतमा एक्लाएक्लै गरेको काम देखिसकेको र अब मिलेर गर्ने काम हेर्न पाइने बताउनुभयो।
कांग्रेस र एमालेको गठबन्धनबारे पनि प्रश्न उठाएको भन्दै लामिछानेले प्रश्न गर्नुभयो– ‘तपाईंहरूले काम गरेको त ३४ वर्षमा देखिसकेका छौं, तपाईंहरूको कुन नयाँ रूप देख्न बाँकी छ र ?’ यसअघिको ओली नेतृत्वको सरकारले शुरूमा जुन संकेत गरेको छ त्यसले झस्काएको लामिछानेले बताउनुभयो।
सदनमा प्रतिपक्षको भूमिकालाई सशक्त बनाउने र जनताको अवस्थाको वास्तविकतालाई उठाउने नेताहरूले दाबी गरेका छन्।











प्रतिक्रिया