कलाकर्मीलाई मिथिलाको गुरुदक्षिणा

नगदसहित ४ कलाकर्मी पुरस्कृत


ख्यातिप्राप्त अभिनेत्री तथा कुशल नृत्य कलाकार मिथिला शर्मा बोहराले गीत संगीत, अभिनय र नृत्यका आफ्ना गुरुहरूलाई गुरुदक्षिणा चढाउन उनीहरूका नाममा पुरस्कार स्थापना गरेर कलाकर्मीलाई अर्पण गरेकी छन्।

मिथिलाले आइतबार गुरु पुर्णिमाको अवसर पारेर राजधानीमा एक कार्यक्रम आयोजना गरी आफ्ना गुरुहरूको नाममा स्थापित पुरस्कार प्रदान गरेकी हुन्। नेपाल प्रज्ञा प्रष्ठिानमा सम्पन्न कार्यक्रममा मिथिलाले आफ्ना गुरु संगीत साधक स्व.गोपाल योञ्जनको नाममा स्थापना गरेको गोपाल योञ्जन संगीत साधना पुरस्कार संगीतकार शिलाबहादुर मोक्तानलाई प्रदान गरिएको छ।

त्यसैगरी फिल्म लेखक, निर्देशक तथा गीतकार स्व. चेतन कार्कीको नाममा स्थापित चेतन कार्की गीती वाङ्मय पुरस्कार गीतकार श्रीपुरुष ढकाललाई प्रदान गरिएको छ। त्यस्तै, हास्य जोडी स्व. राजपाल थापा र स्व. ध्रुवरत्न हाडाको नाममा स्थापित हाडा एन्ड पाल हास्य वाङ्मय पुरस्कार हास्य व्यंग्य जोडी मह अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई प्रदान गरिएको छ। पुरस्कारको राशी जनही २५ हजार रुपियाँ रहेको छ।

स्वास्थ्य अवस्थाका कारण कार्यक्रममा सहभागी हुन नसकेका हरिवंशको पुरस्कार भने उनका छोरा मोहित आचार्यले ग्रहण गरे। समारोहमा कलाकर्मीहरूलाई प्रमुख अतिथि पूर्वप्रहरी महानिरीक्षक दुर्लभकुमार थापा, अभिनेता नीर शाह, अभिनेत्रीहरू वसुन्धरा भुसाल, चैत्यदेवी, मिथिला शर्मा, गोपाल योञ्जनकी पत्नी रिन्छेन योञ्जन, चेतन कार्कीकी पत्नी गंगा कार्की, ध्रुवरत्न हाडाकी पत्नी मोहीनी हाडा र राजपाल थापाको छोरा कपिल थापालगायतले पुरस्कार प्रदान गरेका थिए।

कार्यक्रममा नेपाल प्रहरी कलाकारको तर्फबाट गुरु वन्दना नृत्यले स्वागत गरिएको थियो। समारोहमा पूर्वप्रहरी महानिरीक्षक दुर्लभकुमार थापाले पूर्वप्रहरी कलाकारहरूको संगठन नेपाल पूर्वप्रहरी कलाकार संघको उद्घाटन गरेका थिए। संघमा क्षेत्रबहादुर गुरुङ संस्थापक संरक्षक, अभिनेत्री मिथिला शर्मा बोहरा वरिष्ठ सल्लाहकार र रामबहादुर थापा संस्थापक अध्यक्ष रहेका छन्।

संस्थापक संरक्षक क्षेत्रबहादुर गुरुङले स्वागत मन्तव्य व्यक्त गरेको समारोहमा बोल्दै अभिनेत्री मिथिला शर्मा बोहराले अग्रजले कला साहित्य संगीत, नृत्य हास्यलगायतका विधामा रचेको इतिहासलाई अगाडि बढाउने बताइन्। ‘मेरो कलाकारिता यात्रा ९/१० वर्षको उमेरमा महेन्द्र पुलिस क्लबको स्टेजबाट भएको थियो।

त्यतिबेला राजपाल थापा, ध्रुवरत्न हाडा, चेतन कार्कीलगायत मेरो गुरुमात्र नभई मार्गदर्शक पनि हुनुहुन्थ्यो। अझ चेतन सर त अभिभावक पनि हुनुहुन्थ्यो। आज उहाँकै कारणले तीन मिनेटको गीतले तीन दशकसम्म यात्रा गर्न सफल भएकी छु,’ मिथिलाले विगत सम्झँदै भनिन्।