जेन–जी पुस्तामा समर्पित


राज्यका चारवटै अंग कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका र पत्रकारिता तुलनात्मक रूपमा बालबालिका र युवाभन्दा वयस्कप्रति बढी समर्पित छन् । बालबालिकालाई कुमालेको चक्कामा भाँडा बनाउन राखिएको गिलो माटोसँग तुलना गरिन्छ । तर, जेन–जी (Gen Z) पुस्ताका यी बालबालिका र युवाहरूलाई आकर्षक भाँडाकुँडा बन्न यी अंगहरूले कति सहयोग गरे, समीक्षा गरिँदैन ।

कुमालेको चक्काले सुराही बनाउँछ तर त्यसलाई बिक्ने बनाउन त्यसमा फूलबुट्टा कुँद्नुका साथै रंगरोगन गर्नुपर्छ । त्यसै गरी बालबालिका तथा युवालाई सक्षम र आत्मनिर्भर बनाउन उनीहरूमा सीप र क्षमताको विकास गर्नैपर्छ । राज्यले पनि अब्बल, सबल र दक्ष नागरिक तयार पार्न कलिला नागरिकमा विशेष ध्यान दिनैपर्छ । तर, अहिले हामी राज्यको कुरा गर्दैनौं । राज्यको चौथो अंगको दर्जा पाएका हामी प्रेस जगत् आफैं पनि जेन–जीको आवश्यक्ता र चाहनालाई सम्बोधन गर्न चुकिरहेका तथ्य स्वीकार्छौं ।

नेपालमा जेन–जी अर्थात् १२–२७ उमेर समूहको जनसंख्या करिब २० प्रतिशत अर्थात् ६० लाखभन्दा बढी देखिन्छ । नेपालको यो महत्वपूर्ण हिस्सालाई राज्यले वास्ता गर्न नसकेको आत्मबोध भएपछि नेपालको निजी क्षेत्रको जेठो प्रकाशन समूह कामना न्यूज पब्लिकेसन्स्ले उनीहरूका लागि केही गर्ने निर्णय लिएको छ । सोहीअनुसार हामीले आजैबाट विशेष योजनाका साथ नेपाल समाचारपत्रमा जेन–जी समर्पित एउटा छुट्टै पृष्ठ शुरू गरेका छौं । छापाका अतिरिक्त newsofnepal.com सोसल मिडिया र पडकास्टमा पनि जेन–जीका लागि पठनीय सामग्रीहरू सम्प्रेषण गर्ने तयारी भइरहेको यहाँहरूलाई जानकारी गराउन पाउँदा हामीलाई खुसीको अनुभूति भइरहेको छ ।

यसो भन्दैमा हामीले २८–४३ उमेर समूहका मिलेनियल्स, ४४–५९ समूहका जेन–एक्स र बेबी बुमर्स आदिलाई प्राथमिकतामा राख्न छाडेको भने पक्कै होइन । कामना न्यूज पब्लिकेसन्स्ले कसैलाई काख र कसैलाई पाखा गर्न सक्तैन, सबै उमेर समूहका पाठकप्रति सदाझैं आज पनि समर्पित छ र भविष्यमा पनि रहनेछ । हाम्रा तयारी यस प्रकार छन् :

नयाँ–नयाँ विषय जान्न उत्सुक र प्रतिक्रिया दिन सक्रिय जेन–जी समूहका लागि नेपाल समाचारपत्रले Quiz, polls, QR Code Scanner आदि इन्टर्‍याक्टिभ फिचरयुक्त प्लेटफर्म तयार पारेको छ।

युवाहरूको आवाज समाजले सुन्नु आवश्यक छ । तर, मूलधारको मिडियामा उनीहरूको पहुँच कम भएका कारण उनीहरू अभिव्यक्तिका लागि सामाजिक सञ्जालमा भर परिरहेका छन् । नेपाल समाचारपत्रले युवाका आवाजलाई मूलधारमा ल्याउनेछ।
वैज्ञानिक आविष्कार, सूचना प्रविधि, स्वास्थ्य सरोकार, जलवायु परिवर्तन, सामाजिक न्याय, खेलकुद, मनोरञ्जन, सौन्दर्य प्रशाधन आदि विषयमा रहेको उनीहरूको रुचिलाई हामी प्राथमिकता दिनेछौं ।
संक्षिप्त र बुँदात्मक प्रस्तुतिका साथै सफा र सरल साजसज्जामा हामी उनीहरूको चाहना र आवश्यक्ताबमोजिम खुराक पस्कने छौंं ।
सूचना प्राप्त गर्ने क्रमका साथै बुझाइ र सिकाइ तथा अभिव्यक्तिमा भाषा अवरोध नबनोस् भन्नाका खातिर हामी भाषागत विविधताका साथ प्रस्तुत हुनेछौं ।
आम सञ्चारका चार काम सूचना, शिक्षा, अभिप्रेरणा र मनोरञ्जनलाई युवाको रुचिअनुसार सन्तुलित रूपमा प्रस्तुत गर्नेछौं ।
कामना प्रकाशन पारिवारिक खुराक पस्किन अनुभवसिद्ध छ । युवाका लागि दिइने हरेक सामग्रीमा पारिवारिक सुसम्बन्धको सुवास आउने छ ।
जेन–जी पहिलो डिजिटल पुस्ता हो भन्ने हामीलाई थाहा छ । पुरानो पुस्ताले नयाँ पुस्ताको आवश्यकता नबुझ्दा पुस्तान्तरणको खाडल गहिरो हुन सक्छ । यो खाडल पुर्न पनि हामी इमानदार भएर काम गर्नेछौं ।

नेपालको पत्रकारितालाई व्यावसायिक बनाउन कामना न्यूज पब्लिकेसन्स्को उल्लेख्य भूमिका रहेको सर्वविदितै छ । चार दशकअघि कामना मासिक शुरू गर्दादेखि नै यसले पत्रकारितामा नयाँ–नयाँ प्रयोग थालेको हो । अभिनय र संगीतमा आधारित पत्रकारिता कामना होस् वा खोज र अनुसन्धानमूलक पारिवारिक खुराक साधना होस्, तत्काल तातो–तातो समाचारले महानगरवासीको सेवा होस् वा दलीय राजनीतिभन्दा माथि उठेको पत्रकारिताको स्वाद होस्, विविधता पस्कन हामीले नै शुरू गरेकामा हामीलाई सन्तुष्टि पनि छ ।

यतिखेर हामीले जेन–जी समूहका लागि भूमिका निर्वाह गर्नुपर्ने कर्तव्यबोध गरेर उनीहरूको रुचि, चाहना र छनोटका सामग्रीका साथ पत्रकारिता गर्ने निर्णय लिएका छौं । युवाका आवाज बाहिर ल्याउने र उनीहरूलाई राज्यले नै महत्व दिने स्थानसम्म पुर्‍याउने अठोट गरेका छौं । ताकि सबै पुस्ताको हित होस् र अन्ततोगत्वा राष्ट्रको आवश्यकता पूर्ति होस् ।

अब कामना न्यूज पब्लिकेसन्स्को पत्रकारितामा युवाको अनुहार मुखरित भएर आउने छ– अग्र भागमा हँसिलो र गौरवपूर्ण छविका साथ । प्रकाशन–प्रसारणका सामग्रीहरू कि त उनीहरूका लागि हुनेछन् कि अन्य पुस्तालाई युवाको आवश्यकता जानकारी गराउनका लागि हुनेछन् । युवाका अभिभावकले ती सामग्रीमा आफ्ना सन्ततिका रुचि, चाहनाहरू प्रस्फुटन भएको पाउने छन् ।

सामाजिक उत्तरदायित्वको सिद्धान्तलाई पूर्ण रूपले व्यवहारमा उतार्दै भविष्यमा देश हाँक्ने आजका युवालाई नै केन्द्रित गरी उनीहरूलाई सक्षम, दृढ, अनुशासित र आत्मविश्वासी बनाउने हाम्रो उद्देश्य हो । यो नयाँ प्रयोगमा सबै पक्षबाट आत्मीयताका साथ माया र सहयोग पाउने विश्वास लिएका छौं । यस घडीमा समय र प्रविधिमा आएको परिवर्तन र त्यसले बदलिएको आम पाठक वर्गको रुचिलाई सम्बोधन गर्दै पत्रिकालाई अझै नवप्रवर्द्धनात्मक  किसिमले अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछौं । साथै आजसम्म हामीलाई प्राप्त सहयोग र सद्भावका लागि श्रद्धेय आम पाठकप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि यो सहयोग र सद्भावमा निरन्तरता रहने विश्वास लिएका छौं ।

दिरेक लाल श्रेष्ठ
प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सम्पादक