काठमाडौं उपत्यकामा असुरक्षित बन्दै हाइकिङ

एकान्त र प्रहरी प्रशासनको पहुँचभन्दा बाहिर मौलायो अपराध कर्म

42
Shares

–२ करोडको हेरोइन लुटिएपछि लुटेराद्वारा सर्वसाधारणलाई यातना
–लुटेरा समूहका कारण सहरमा असुरक्षित महसुस

काठमाडौं।

सहरको अस्तव्यस्त जीवनबाट एकछिन भए पनि छुटकारा पाउन फुर्सदको समयमा जंगलतिर हाइकिङ जाने राजधानीमा ठूलै जमात रहेको छ । हप्ताभरिको थकान पनि मेटिने र केही घण्टाका लागि भए पनि प्रकृतिसँग रमाउन युवा युवतीदेखि वृद्धवृद्धासम्म हाइकिङ जाने गरेको पाइन्छ । हुल बाँधेर जाने समूहभन्दा पनि मन मिल्ने एक दुईजना चाहे युवा पुस्ता हुन् चाहे पाका उमेरका हुन् सबैजसो बिदाको दिन पारेर उपत्यका वरपर रहेका डाँडाकाँडामा प्रकृतिसँग रमाउन जाने गरेका छन् ।

तर, अहिले हाइकिङ जानेहरू नै असुरक्षित हुन थालेका छन् । पछिल्लो एक महिनामा त्यसरी हाइकिङ जाने समूहमाथि एउटै विधि प्रयोग गरेर लुटपाट गर्ने गिरोह सक्रिय रहेको चम्पादेवी घटनाका पीडित अमृत शर्माले जानकारी दिनुभयो । लुटेराको समूहले सहरमा असुरक्षित महसुस गर्न थालेपछि लुटपाट गर्न एकान्त र प्रहरी प्रशासनको पहुँचभन्दा बाहिर भएको ठाउँमा आफ्नो अपराध कर्मलाई अघि बढाएको देखिएको सो घटनाको अनुसन्धान गरिरहेका एक प्रहरी अधिकृत बताउँछन् ।

गएको असार १५ गते शनिबार हाइकिङका लागि दक्षिणकाली, फर्पिङ, चम्पादेवी, दूधपोखरी, हात्तीवन वरपर पुगेकाहरूमाथि लुटेरको समूहले चरम यातना दिएर नगद लुटपाटदेखि मोबाइल, सुनका गरगहना लुट्ेनन् मात्र उनीहरूलाई बाँधेर कुटपिटसमेत गरेपछि प्रहरीलाई यो घटना अहिले चुनौतीको रूपमा खडा भएको छ । चम्पादेवीमा जुन टेक्निक अपनाएर लुटपाट भयो त्यही टेक्निक लगाएर सोही समूहले बूढानीलकण्ठ, शिवपुरी हाइकिङमा गएका माथि कुटपिट र लुटपाट गरेपछि प्रहरी थप सशंकित भएको छ ।

काठमाडौँ प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले भन्नुभयो– ‘पछिल्लो समय हाइकिङ जानेमाथि लुटेराको समूहले एउटै विधि प्रयोग गरेर लुटपाट गरेको पाइएको छ, हामी अहिले त्यसलाई सूक्ष्म ढंगले अनुसन्धान गरिरहेका छौं ।’ उहाँले लुटेरा चाँडै प्रहरीको नियन्त्रणमा आउने दाबी गर्नुभयो ।

यो समूह लुटपाट मात्र नभएर लागूऔषधको कारोबारी पनि भएको आशंका प्रहरीले गरेको छ । असार १५ गते चम्पादेवीमा भएको लुटपाटका क्रममा लुटेराको समूहले हाइकिङ आएका समूहलाई नियन्त्रणमा लिने क्रममा एक युवालाई तिमीहरूका कारण बानेश्वरबाट २ करोडको हाम्रो सेतो हेरोइन प्रहरीले नियन्त्रणमा लिएको भन्दै ती युवालाई मरणासन्न हुने गरी कुटपिट गरेपछि यो गिरोह फरार भएको थियो । सोही समूहले सेतीदेवी मन्दिरका पुजारीलाई समेत नियन्त्रणमा लिएर भक्तजनले चढाएको भेटी लिएर जाने तँ बूढो होइनस् भन्दै मरणासन्न हुने गरी कुटपिट गरेको पीडित पुजारीले बताए ।

‘बोले मार्छौं भन्यो केही नबोली बसेका हामीलाई पनि पाता फर्काएर बाँध्यो, हामीसँग केही पैसा थियो त्यो लिएपछि उनीहरूले पालैपालो चम्पादेवी हँुदै हाइकिङ जाने मानिसहरूलाई समात्दै ल्याउँदै हतियार देखाएर लुटपाट मच्चायो’ –पीडित कृष्ण तामाङले नेपाल समाचारपत्रसँग भन्नुभयो । राजधानीका हरेक सडक गल्लीगल्लीमा सीसीटीभी क्यामरा जडान गरेपछि सहरमा आफूलाई असुरक्षित महसुस गर्ने गरेका लुटेराको निसाना साइकल यात्री तथा हाइकिङ गर्नेहरूमाथि परेका छन् ।

लुटेराका निशानामा परेकाहरू भन्छन्– ‘उनीहरू हतियारसहित समूहमा हिँड्ने एकान्त पारेर व्यक्ति वा समूहलाई कब्जामा लिएर पाशविक ढंगले यातना दिएर उनीहरूसँग भएको सम्पूर्ण सामान कब्जामा लिएपछि आफूहरू सुरक्षित तरिकाले भाग्न सक्ने गरी योजना बनाएको पाइएको छ ।’ प्रहरीले त्यसरी हाइकिङमा जानेमाथि लुटेराका समूहले एउटै प्रकारले लुटपाट मच्चाएपछि त्यस्तो गिरोहले लुटेर लगेका महँगा मूल्यका मोबाइलहरू नेपाल–भारत सीमा क्षेत्र रक्सौलमा लगेर बेच्ने र भारतबाट नेपाल फर्कंदा लागूऔषध बोकेर राजधानी प्रवेश गर्ने र ती लागूऔषध सयौं युवामाझ पु¥याएर उनीहरूको जीवन नै बर्बाद पार्ने काममा सक्रिय रहेको पत्ता लगाएको दाबी गरेको छ ।

राजधानीमा संगठित रूपमा रहेका पेशेवर लुटेराको समूहलाई प्रहरीले बेला बेलामा कारबाही गरेर उनीहरूको समूहलाई ध्वस्त पार्ने गरेको भए पनि अहिले आएर सो गिरोह सक्रिय भएको पाइएको छ । सोही गिरोहले शिवपुरी राष्ट्रिय निकुञ्जमा हाइकिङ गएका युवा युवतीलाई हतियार देखाएर उनीहरूलाई नियन्त्रण लिने र हातखुट्टामा डोरीले बाँधेर सबै सामान लुट्ने र प्रतिकार गर्नेमाथि निर्मम ढंगले कुटपिट गरेको पीडित एकराज राईले नेपाल समाचारपत्रलाई बताउनुभयो।

प्रहरीले एकै प्रकारका लुटपाटका घटना हुन थालेपछि प्रहरी वृत्त बालाजु, महाराजगञ्ज, स्वयम्भू, कीर्तिपुर, बौद्ध, सुन्दरीजललगायतका प्रहरी स्टेसनहरूलाई सचेत गराएको छ । प्रहरी परिसर काठमाडौंका प्रमुख रजौरेले हाइकिङको इलाका पर्ने हरेक प्रहरी युनिटलाई सचेत रहँदै त्यसरी घुम्न जानेहरूको सुरक्षामा ध्यान दिन निर्देशन दिएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामीले खास गरी हाइकिङ जानेमाथि एउटै टेक्निक लगाएर लुटपाट र कुटपिटका घटना भएपछि प्रहरीका विभिन्न युनिटबाट अनुसन्धान जारी छ ।’

<iframe src="https://www.facebook.com/plugins/video.php?height=476&href=https%3A%2F%2Fwww.facebook.com%2Feakraj.rai.9%2Fvideos%2F1597170067681535%2F&show_text=false&width=267&t=0" width="267" height="476" style="border:none;overflow:hidden" scrolling="no" frameborder="0" allowfullscreen="true" allow="autoplay; clipboard-write; encrypted-media; picture-in-picture; web-share" allowFullScreen="true"></iframe>