अमिताभ बच्चन सडकदेखि महलसम्म



भिन्न शैलीको अभिनय क्षमता, कला र सादगीपनका कारण संसारभरका लाखौंं फ्यानको मनमा राज गर्न सफल अभिनेता अमिताभ बच्चन उमेरले ८१ वर्षमा छन्।

सन् १९४२ मा जन्मिएका उनको जोश यो उमेरमा पनि युवाको जत्तिकै छ। ८१ वर्षको वृद्ध उमेरमा समेत उनको सक्रियतामा कुनै कमी आएको छैन। प्रसिद्ध भारतीय कवि तथा लेखक हरिवंश राय बच्चनका छोरा अमिताभले भने फिल्मी दुनियाँमा प्रसिद्धि कमाए। अमिताभ बलिउडमा जति सफल मानिन्छन्, त्योभन्दा बढी मेहनत गरेका उनले जीवनमा उतारचढावको सामना पनि धेरै गरेका छन्। हाल पनि उनी विभिन्न टेलिभिजन शो, सिनेमा, विज्ञापन तथा सामाजिक कार्यमा सक्रिय छन्। उनको पछिल्लो फिल्म कल्कीमा उनले आफ्नो अद्भूत कला क्षमता प्रदर्शन गरेका छन्।

अमिताभ फिल्मी दुनियाँमा आउनुभन्दा अघि कोलकोतामा एक रेडियोको प्रस्तोता र एक सिपिङ कम्पनीमा एक्जुकेटिभको रुपमा काम गर्थे। त्यो समयमा आठ सय रुपियाँ मासिक तलबमा काम गरेका उनी सन् १९६८ मा नोकरी छोडेर मुम्बई पुगेका थिए। त्यस समयमा अमिताभसँग तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको सिफारिसपत्र रहेकाले उनले त्यसकै आधारमा सात हिन्दुस्तानी नामक फिल्ममा काम गर्ने अवसर पाएको बताइन्छ। जुन फिल्मबाट अमिताभले पहिलोपटक राष्ट्रिय पुरस्कार जितेका थिए।


अमिताभ र जया बच्चनको विवाह उनीहरुले अभिनय गरेको फिल्म अभिमानको रिलिजको एक महिनाअघि भएको थियो। त्यसका निर्माताले फिल्म हिट भएको खण्डमा सबै कलाकारलाई विदेश घुमाउन लैजाने घोषणा गरेका थिए। फिल्म साँच्चै नै हिट भयो र उनले आफ््ना पिता हरिवंश राय बच्चनसँग जयालाई लिएर विदेश जाने अनुमति मागे। उनका पिताले जयालाई विवाह गरेर मात्र विदेश लैजान निर्देशन दिएपछि सन् १९७३ मा दुवैले विवाह गरेका थिए।

सन् १९७८ मा अमिताभ र रेखाको प्रेमको चर्चा व्यापकरुपमा चल्यो। यो खबर जयाको कानमा परेपछि अभिताभको घरमा निकै हंगामा भएको थियो। त्यस बेलाका पत्रपत्रिकामा मुख्य समाचार नै अमिताभ र रेखाको प्रेम सम्बन्धबारे हुन्थ्यो।
यस्तै एक दिन अमिताभ घरमा नभएको बेला जया बच्चनले रेखालाई डिनरका लागि आफ्नो घरमा बोलाएकी थिइन्। रेखा पनि हिम्मत जुटाएर उनको घर पुगिन्। जयाले रेखासँग राम्रो व्यवहार गर्दै निकै बेरसम्म विभिन्न विषयमा कुराकानी गरिन्। उनीहरुबीच अमिताभको विषयमा भने कुनै कुरा भएन। तर जब रेखालाई बिदाइ गर्न जया घरको गेटमा पुगिन्, उनले रेखासँग आफूले अमिताभलाई कहिल्यै नछोड्ने बताइन्। त्यसपछि रेखा आफैँ अमिताभको जीवनबाट टाढिइन्।

अमिताभले १५ फिल्ममा दोहोरो भूमिका निर्वाह गरेका छन्। उनले बाँधे हात, अदालत, कसम वादे, डन, द ग्रेट ग्याम्बलर, देश प्रेम, सत्ते पे सत्ता, बेमिसाल, महान, आखिरी रास्ता, तुफान, बढे मियाँ छोटे मियाँ, सूर्यवंशम्, लाल बादशाह, हम कौन है गरी १५ फिल्ममा दोहोरी भूमिकामा अभिनय गरेका छन्।

अमिताभले सन् २००३ मा फ्रान्सको ड्युबी शहरको मानार्थ नागरिकता प्राप्त गरेका थिए, जुन विदेशीलाई प्रदान गरिने दुर्लभ प्रकारको नागरिकता हो। ड्युबी शहरले यस्तो सम्मान बेलायतकी महारानी एलिजबेथ द्वितीय, प्रथम अन्तरीक्ष यात्री युरी गागा रिनलाई दिएको थियो।

अमिताभ फिल्म कुल्लीको सुटिङको क्रममा अभिनेता पुनित इसरले हानेको मुक्काका कारण गम्भीर घाइते भएका थिए। घाइते भएका कारण अमिताभलाई भेट्न तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धी पनि मुम्बईको ब्रिज क्यान्डी अस्पताल पुगेकी थिइन्। त्यस समयमा अमिताभकी पत्नी जया बच्चन उनको स्वास्थ्यलाभको कामना गर्दै हरेक दिन ब्रिज क्यान्डी अस्पतालबाट सिद्धिविनायक मन्दिरसम्मको ६ किलोमिटर लामो दूरी पैदल जाने गर्दथिन्।

फिल्म खुदा गवाहको सुटिङका क्रममा अफगानिस्तान गएका अमिताभ बच्चनको सुरक्षामा तत्कालीन अफगानी राष्ट्रपति नजिबुल्लाहले आधा अफगानी सुरक्षा बल तैनाथ गरिदिएका थिए। भनिन्छ, खुदा गवाह अफगानिस्तानमा अहिलेसम्मकै सबैभन्दा हिट फिल्म हो। सो फिल्मको सुटिङ नेपालमा पनि गरिएको थियो।

अमिताभले करिअरको उचाइमा रहेका बेला अमिताभ बच्चन कर्पोरेसन लिमिटेड खोलेका थिए। तर सो कम्पनी घाटामा गएर ९० करोड ऋणको भागिदार बन्न पुगेको थियो। ऋण तिर्नका लागि अमिताभले आफ्नो बंगला प्रतीक्षा पनि धितो राखेका थिए। उनीसँग ऋण तिर्न न पैसा थियो, न कुनै सम्पत्ति नै थियो। ऋण तिर्नकै लागि अमिताभले फिल्म मोहब्बतेमा क्यारेक्टर रोल गरेका थिए।

अमिताभसँग हाल रोल्स रोयल फ्यान्टम, दुई बीएमडब्ल्यू, तीन मर्सिडिजसहित ११ गाडी छन्। उनीसँग २ सय ६० करोडको निजी जेट पनि छ। कुनै समय आर्थिक नोक्सानी भोगेर आफ्नो बंगला धितोमा राखेका उनीसँग जलसा, जनक, प्रतीक्षा र वत्स गरी ४ विलासी बंगला छन्। हाल उनी जुहुको जलसामा बस्छन्, जसको बजार मूल्य १ सय २० करोड भारतीय रुपियाँ छ।

फिल्म सत्तेपे सता हिट भएपछि रमेश सिप्पीले पारिश्रमिकस्वरुप उनलाई जलसा उपहारका रुपमा दिएका थिए।

अमिताभको जुन गम्भीर आवाजको लागि आज सबै पागल छन्, कुनै समय उनलाई अल इन्डिया रेडियोले बाक्लो स्वर भएको भन्दै अस्वीकार गरेको थियो।

अमिताभ बच्चन पहिलो त्यो एसियाली हुन्, जसको मैनको मूर्ति लन्डनको तुसाद संग्रहालयमा स्थापना गरिएको छ।

अमिताभलाई घडी र पेन संकलन गर्ने सोख छ। उनी देब्रे र दाहिने दुवै हातले सहज तरिकाले राम्रोसँग लेख्न सक्छन्। यस्ता मानिस दुर्लभ हुने र भाग्यमानी हुने भनाइ छ।

अमिताभ बच्चनका फ्यानले उनको नाममा मन्दिर नै स्थापना गरेका छन्। कलकत्तामा रहेको अमिताभको मन्दिरमा रहेको उनको तस्वीरमा ६ मिनेटको फिल्मी आरती गरिन्छ भने ९ पन्ना लामो अमिताभ बच्चन चालिसा पढिन्छ, जुन उनको संघर्ष र सफलताका किस्सामा आधारित छ। मन्दिरमा उनले फिल्म अग्निपथमा लगाएको जुत्ता र अक्सरमा उनले प्रयोग गरेको कुर्सीको पूजा गरिन्छ।
अमिताभका फ्यान उनलाई भेट्न प्रत्येक आइतबार उनको घरअगाडि लामबद्ध हुने गर्छन्। उनी पनि सकेसम्म फ्यानलाई समय दिने गर्छन्। फ्यानलाई भेट्ने बेला उनी नाङ्गो पैतालामा उभिने गर्छन्। उनी भन्छन्– तपाईंहरु मन्दिर जाँदा खाली खुट्टा जानुहुन्छ। त्यसै गरी म पनि आइतबार भेला हुने मेरा फ्यानका अगाडि खाली खुट्टा आउँछु। कलाका पुजारी उनले आफ्ना फ्यानलाई भगवान्को दर्जा दिएका छन्।