संगीतबाट संसार हल्लाउने टेलर


प्रसिद्व अमेरिकन पप स्टार टेलर स्विफ्टको जन्म सन् १९८९ मा अमेरिकी शहर पेन्सिलभेनियामा भएको थियो। उनको वास्तविक नाम टेलर एलिसन स्विफ्ट भए पनि उनी टेलर स्विफ्टको नामले प्रसिद्व छन्। उनी विश्वको धेरै गीत संगीत बिक्री हुने र संगीतकै आयआर्जनबाट अर्बपति बन्ने पहिलो महिला पनि हुन्। उनी स्पोटिफाई र एप्पल म्युजिकमा उच्च स्ट्रिम हुने महिला संगीतकर्मी पनि हुन्।

टेलर स्विफ्टको नाम उनको मातापिताको मन पर्ने अमेरिकी गायक तथा गीतकार जेम्स टेलरको नामबाट राखिएको थियो।
उनले बाल्यकालको अधिकांश समय पिताको क्रिसमस ट्री फार्ममा बिताएकी थिइन्। उनले ती क्रिसमस ट्री बेच्नुभन्दा अघि त्यसमा लागेका किरा हटाउने काम गर्थिन्। उनले आफ्नो बाल्यकालबाट प्रभावित भएर क्रिसमस ट्री फार्म बोलको गीतसमेत निकालेकी छन्।

टेलरकी हजुरआमा एक व्यावसायिक ओपेरा गायिका थिइन्। हजुरआमाकै प्रेरणाका कारण उनी बाल्यकालदेखि नै गायनमा आकर्षित भएकी थिइन्।
उनी १० वर्षको उमेरदेखि मेला तथा प्रतियोगितामा गीत गाउने गर्थिन् भने बाल्यकालदेखि नै संगीत तथा नृत्यको कक्षा लिने गर्थिन्।
टेलरले १२ वर्षको बाल्य उमेरमै ३ सय ५० पृष्ठ लामो एक उपन्यास लेखेकी थिइन्। तर त्यो प्रकाशित भने भएको छैन।

उनका फ्यानहरु आफूलाई स्विफ्टी भन्न रुचाउने गर्छन्। उनका अन्य निकनेम पनि छन्। जस्तै– टे, स्विफ्ट, टी स्विज, टी स्विजी आदि।
उनले आफ्नो एलबम १९८९ रिलिजभन्दा अघि ८९ जना फ्यानलाई आफ्ना गीत सुन्न घरमा बोलाएकी थिइन्। उनले त्यो बेला प्mयानहरुलाई कुकिज पकाएर दिएकी थिइन्।

हालसम्म टेलरको नाममा गीत संगीतसम्बन्धी १ सय १८ गिनिज वल्र्ड रेकर्ड रहेको छ।

गत महिना टेलर स्विफ्टका हजारौं फ्यानले स्कटल्यान्डको राजधानी एडिनबर्गमा आयोजित तीन कन्सर्टमा हर्षोल्लास मनाउँदै नाच्दा भूकम्पमापन गरिएको थियो। उनले क्रुअल समर, रेडी फर ई र स्याम्पेन प्रोबल्म्स गाउँदा ७३ हजार फ्यानको शरीर मात्र नभई जमिन नै हल्लाइदिएकी थिइन््। कन्सर्टको मैदानलाई २३.४ न्युटन मिटरले हलचल गराएको विवरणमा उल्लेख छ। सियाटल र लस एन्जलसमा भएका स्विफ्टका अघिल्ला कन्सर्टमा समेत यस्ता घटनाको महसुस गरिएको थियो। उनको कन्सर्टका क्रममा सियाटल गिगमा २.३ म्याग्निच्युडको भूकम्प बराबरको गतिविधि मापन गरिएको थियो।

टेलरका कारण अर्थशास्त्रमा परेको प्रभावलाई स्विफ्टोनोनिक्स भन्न थालिएको छ । सन् २०२३ मार्चमा शुरु भएको उनको एराज टुरका कारण अमेरिकी होटल तथा पर्यटन उद्योगमा सकारात्मक परिवर्तन भयो। एजेन्सीका अनुसार जहाँ जहाँ उनी सांगीतिक भ्रमणमा गइन्, त्यहाँको बजार चलायमान हुन थाल्यो।

टेलरका फ्यानले उनको कन्सर्ट हेर्नकै लागि युरोप भ्रमणको कार्यक्रम बनाए। यसरी उनको कार्यक्रमले अर्थतन्त्रलाई पारेको सकारात्मक असरलाई स्विफ्टोनोनिक्स भन्न थालिएको हो। उनको टुरका कारण पर्यटकीय गतिविधिमा अँएको परिवर्तन र एक देशबाट अर्को देशसम्मको भ्रमणलाई टुर टुरिजमसमेत भन्न थालिएको छ।