‘डिएगो मेसी ’ कहलिएको ‘गोल अफ द सेन्चुरी’


डिएगो म्याराडोनाले सन् १९८६ को फिफा विश्वकपमा इंग्ल्यान्डविरुद्ध क्वार्टरफाइनलमा दुई गोल गरेर अर्जेन्टिनालाई जिताएका थिए । म्याराडोनाले गरेका उक्त दुवै गोल कालजयी गोलका रुपमा स्थापित भयो ।

खेलमा गरेको पहिलो गोललाई ‘गोल अफ द सेन्चुरी’ घोषणा गरियो भने दोस्रो गोल ‘ह्यान्ड अफ गड’ बाट परिचित बन्यो । म्याराडोनाले मैदानको मध्यभाग नजिकैबाट इंग्ल्यान्डका खेलाडी पिटर बियर्डस्ले, पिटर रेड, टेरी बुचर, टेरी फेन्विक, पुनः टेरी बुचर र अन्तिममा गोलरक्षक पिटर शिल्टनलाई माथ दिँदै बललाई आकर्षक तरिकाले गोलपोस्टको जाली चुमाएका थिए । म्याराडोनाको उक्त गोलको प्रशंसा गर्नेहरु अहिले पनि उत्तिक्कै छन् ।

म्याराडोनाले उक्त गोल गरेको २१ वर्षपछि पुनः त्यस्तै गोल देख्न पाइयो । यसपटक पनि गोल गर्ने खेलाडी अर्जेन्टिनाकै थियो । तर, खेलाडी र प्रतियोगिता भने फरक थियो । स्पेनको घरेलु प्रतियोगिता कोपा डेल रेको सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाका तत्कालीन १९ वर्षीय अर्जेन्टिनी युवा खेलाडी लियोनल मेसीले पनि हुबहु उस्तै गोल गरेर विश्व तरंगित पारेका थिए । १८ अप्रिल २००७ मा क्याम्प नोउमा भएको खेलमा विपक्षीको गोलपोस्टबाट करिब ६० यार्डको दूरी ११ सेकेन्डभित्र तय गर्ने क्रममा मेसीले गेटाफेका पाँचजना खेलाडी र गोलरक्षकलाई छक्याउँदै आकर्षक गोल गरेका थिए । उक्त गोलले म्याराडोनाको ‘गोल अफ दि सेन्चुरी’ लाई पुनः ताजा गरिदिएको थियो । उक्त गोल गरेका मेसीलाई सञ्चारमाध्यमहरुले ‘डिएगो मेसी र लियो म्याराडोना’ सम्म भन्न भ्याएका थिए ।

हुन त सन् १९९४ को फिफा विश्वकपमा पनि साउदी अरेबियाले समूह चरणमा बेल्जियमलाई १–० गोलअन्तरले हराएर सनसनी मच्चाउँदा गोल अफ द सेन्चुरीलाई सम्झाउने गोल नगरेका भने होइनन् । साउदीका सइद अल ओवाइरनले पनि म्याराडोनाकै शैलीमा मैदानको मध्यभागनजिकैबाट एक्लै बल दोहो¥याउँदै पाँच जना बेल्जियमका खेलाडीसहित गोलरक्षकलाई छक्याउँदै विजयी गोल गरेका थिए । त्यस बेला उक्त गोललाई पनि म्याराडोनाको गोलसँग तुलना गरिएको थियो । तर, उक्त गोलले मेसीले चर्चा पाएसरि भने पाउन सकेन ।