२६ वटा नागरिकताका मुद्दा दर्ता

392
Shares

काभ्रे।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले आर्थिक वर्ष २०८०-२०८१ मा २६ वटा झुट्टा विवरण पेस गरी नागरिकता लिएका नागरिकविरुद्ध मुद्दा दर्ता भएको छ । अघिल्ला वर्षहरुमा नागरिकतासम्बन्धी मुद्दा कम थिए ।

आर्थिक वर्ष २०७९-२०८० मा १० वटा मुद्दा दर्ता गरेको प्रहरीले आर्थिक वर्ष २०७८-२०७९ मा ६ वटा मुद्दा दर्ता गरेको थियो । जिल्ला प्रहरी कार्यालयको प्रतिवेदनमा नयाँ नागरिकताका लागि १ हजार २ सय ७३ वटा सर्जिमिन प्रहरी प्रतिवेदनसहित सिफारिस गरिएको छ । ११ महिनाको अवधिमा प्रहरीले प्रतिलिपिका लागि ५ सय ६८ वटा सिफारिस गरेको छ ।

नागरिकको गोप्य चालचलनका लागि १ हजार १० वटा सिफारिस गरेको छ । ५१ वटा राहतका लागि सिफारिस गरेको छ भने कूल २ हजार ९ सय २ वटा सिफारिस गरेको छ । जसका लागि ५ हजार ७ सय ४ जना प्रहरी जनशक्ति खर्च भएको छ ।

राजधानीसँग जोडिएको जिल्ला काभ्रेपलाञ्चोकमा २०७४ सालदेखि नागरिकता बिक्री भएको तथ्य बाहिरिएसँगै नागरिकता प्राप्तिमा कडाइ गरिएको छ । कर्मचारीले सामान्य कागजातमा समेत व्यवहार नहेर्ने र नागरिकले दुःख पाउनु परिरहेको वडाध्यक्षहरुले बताएका छन् । कतिपय अवस्थामा प्रहरी प्रतिवेदनका आधारमा पनि प्रशासनले नागरिकता उपलब्ध नगराएको भन्दै नागरिकहरुले प्रशासनको ढिलासुस्ती र आलटाल प्रति प्रश्न उठाउने गरेका छन् ।

प्रशासनलाई शंका लाग्ने वितिक्कै प्रहरी प्रतिवेदन मगाउँदा नागरिकले हैरानी व्यहोरेका छन् । प्रतिलिपिमा भन्दा नयाँ नागरिकतामा प्रशासनले प्रहरी प्रतिवेदन धेरै खोज्ने गरेको तथ्यांकले देखाएको छ । जिल्ला प्रशासन कार्यालयले १ वर्षको अवधिमा जिल्लाबाट १० हजार ४ सय २९ वटा नयाँ नागरिकता जारी गरेको छ ।

९ हजार २ सय २४ वटा पुराना नागरिकताको प्रतिलिपि जारी गरेको छ । आमाको नामबाट १२ वटा र अंगिकृत नागरिकता ७ वटा वितरण गरेको छ । यो अवधिमा ५५ जनाले नागरिकता परित्याग गरेका छन् । ५३ वटा गैरआवासीय नागरिकता जारी भएको छ भने ९ वटा नागरिकता रद्ध गरिएको छ । त्यस्तै, १९ हजार ७ सय ७५ वटा परिचयपत्रका लागि फोटो खिचेको छ । राष्ट्रिय परिचयपत्रको फोटो खिचेर कार्ड प्राप्त हुने मध्ये १ हजार ९ सय ३४ वटा वितरण भएका छन् ।

यसै गरी, १७ हजार ९ सय ३ जनाले राहदानीका लागि आवेदन दिएका छन् । विभागमा १ सय १५ जनाले सिफारिस लिएर राहदानी बनाएका छन् भने १५ हजार ७ सय ६८ जनाको राहदानी उपलब्ध भएको छ । ७ सय २४ जनाले नाबालक परिचयपत्र लिएका छन् ।

जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका ७२ वटा मुद्दामध्ये ६१ वटा फछ्र्याैट भएका छन् । २६ वटा नयाँ संघ–संस्था दर्ता भएका छन् । २ सय ६२ वटा नवीकरण भएका छन् । ११ वटा हातहतियार नवीकरण भएका छन् । दलित-जनजाति परिचयपत्र ५ सय ३ वटा जारी भएका छन् ।

जिल्ला प्रशासन कार्यालयले २१ लाख ८७ हजार ७ सय ७६ रुपियाँ राहत उपलब्ध गराएका छ भने विपद्मा परेकालाई १२ लाख ११ हजार राहत उपलब्ध गराएको छ । ७ सय १८ वटा आपराधिक घटना, ४ सय ६२ जना अभियुक्त पक्राउ, ३१ जनाको सडक दुर्घटनमा मृत्यु, ३ सय २१ जना घाइते, ९ जनाको हत्या, १ सय ३३ जनाले आत्महत्या, १ सय २४ वटा प्राकृतिक प्रकोपका घटना भएका छन् ।

प्रकोपमा परी ७ जनाको निधन भएको छ भने ११ जना घाइते भएका छन् । जिल्लामा ६ सय ५ जना विशिष्ट व्यक्तिहरुको भ्रमण एक वर्षको अवधिमा ६ सय ५ जनाको भएको छ भने ४ सय ५४ वटा पसल तथा फर्मको अनुगमन भएको छ ।