स्थिर सरकारका लागि एमाले कांग्रेसबीच सहकार्य : मुख्यमन्त्री कार्की 

224
Shares

उदयपुर। 

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मुलुकमा स्थिर सरकारको निर्माण गरेर देशमा विकास र समृद्धिको आधार निर्माण गर्न नेकपा एमाले र नेपाली कांग्रेसबीच सहकार्य भएको बताएका छन् । मुख्यमन्त्री कार्कीले शनिवार उदयपुरको चौदण्डीगढी नगरपालिकामा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

मुख्यमन्त्री कार्कीले २०७९ को निर्वाचन पश्चात् पटक पटक मुलुकमा सरकार बन्ने खेल हुँदा अस्थिरता बढेर गएको भन्दै अस्थिरताका कारण मुलुकलाई ठुलो क्षति पुगेकोले एमालेले आफ्नो मूल प्रतिस्पर्धी पार्टी कांग्रेस संगै सहकार्य गर्न बाध्य भएको जिकिर गरे । उनले नेकपा एमालेले अन्य कुनै पार्टी जस्तो च्याँखे थापेर सरकारमा जाने वा मन्त्री बन्ने खेलमा नलाग्ने भन्दै जनताको मन जितेर जनताको विश्वासले सरकारमा जाने भएको कारण कसैसँग पनि सहकार्य गर्दा मुलुकलाई विकास र समृद्धिमा लैजाने गरि सहकार्य गर्ने बताए ।

मुख्यमन्त्री कार्कीले आफूहरुले कांग्रेससंग बाकी कार्यकाल सत्ता सहकार्य गरेको भएपनि चुनावमा गठबन्धन नहुने भन्दै दुई पार्टी बीच स्वस्थ प्रतिस्पर्धा हुने समेत बताए । कार्कीले कांग्रेस आफूहरुको मुख्य प्रतिस्पर्धी भएको भएपनि बर्तमान देशको अवस्थालाई मध्यनजर गरेर सत्ता सहकार्य भएको दाबी गरे । मुख्यमन्त्री कार्कीले एमाले सधैँ मुलुकमा स्थिरता, विकास र समृद्धिको पक्षमा भएकोले पनि कांग्रेससंग सहकार्य गर्न पुगेको बताए।    

शनिवार नेकपा एमाले चौदण्डीगढी नगर कमिटिको आयोजना भएको बृहत् पार्टी प्रवेश कार्यक्रममा जसपा, माओवादी केन्द्र, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका पार्टी परित्याग गरी  १६२ जना एमालेमा प्रवेश गरेका थिए । ठुलो सङ्ख्यामा उपस्थित नेता तथा कार्यकर्ताले एमालेमा प्रवेश गर्नेहरुलाई स्वागत गरेका थिए । कार्यक्रममा बाल्दे एमाले उदयपुरका अध्यक्ष भागवत राउतले नवप्रवेशीहरुलाई पार्टीमा उचित जिम्मेवारी दिने बताउँदै उदयपुरमा मिसन ८४ सफलता तर्फ उन्मुख भएको दाबी गरे ।