एमाले–कांग्रेस समीकरण देशको अवस्था सुधार्न र निराशा चिर्न  : उपमहासचिव ज्ञवाली

दुई दल मिल्नु कुनै आकस्मिक र नाटकीय मोड होइन

56
Shares

भक्तपुर ।

सत्तारुढ दल नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमाले–कांग्रेस समीकरण देशको अवस्था सुधार्न र जनतामा विद्यमान निराशा चिर्न भएको बताएका छन्  ।

रफत सञ्चार क्लब भक्तपुरले आज आयोजना गरेको सञ्चार–संवाद कार्यक्रममा उपमहासचिव ज्ञवालीले नयाँ सत्ता समीकरण प्रधानमन्त्री बन्न वा सरकार फेर्नका लागि मात्रै नभएको बताए ।

उनले मुलुकको समग्र विकास र जनतामा विद्यमान निराशा चिर्न दृढ राजनीतिक शक्ति बोकेर नयाँ सरकार बनेको बताए ।ज्ञवालीले निरंकुशतन्त्र फ्याँक्न जन्मेका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिल्नु कुनै आकस्मिक र नाटकीय मोड नभएको प्रस्ट पारे ।

नयाँ सरकार निर्माणपछि अहिले मुलुकमा राजनीतिक स्थिरता र व्यवसायीवर्गमा गिर्दै गएको मनोबल बिस्तारै माथि उठ्न थालेको उनको भनाई छ । 
लोकतन्त्र संसदीय अंकगणितले मात्र जोगिने होइन भन्दै उनले लोकतन्त्रले जनतालाई सही र ठिक ढंगले डेलिभर  दिन सक्नुपर्नेमा जोड दिए ।

उपमहासचिव ज्ञवालीले नयाँ सरकार बन्नसाथ पुँजीबजारमा सकारात्मक असर परेको देख्न थालिएको र बिस्तारै समाजको हरेक अंगमा सकारात्मकताको सन्देश बिस्तार हुँदै जान थालेको बताए ।

ज्ञवालीले माओवादी केन्द्र अहिले अलिकति आवेगमा देखिएको चर्चा गर्दै माओवादीलाई आत्म समीक्षा गरेर राजनीति गर्न आग्रह गरे ।
दुईपटकसम्म संशोधित संविधानमा अब फेरि आवश्यक संशोधन भएको खण्डमा संविधानमा संशोधन गर्दा पच्छगमन नहुने बताउँदै  ज्ञवालीले संविधानमा आवश्यक संशोधन गर्ने प्रयत्न गर्दा पच्छगमन हुने भयो भनेर भाष्य निर्माण गर्नु केवल राजनीतिक प्रचारबाजी भएको उल्लेख गरे ।

उनले मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रलाई विश्वासमा लिएर उद्यमशीलताको विकास गर्न सरकार लागिपरेको र त्यसैअनुरूप सरकारले निर्माण व्यवसायीहरूको बाँकी रहेको भुक्तानी प्रक्रिया सुरु गरि सकेको जानकारी दिए । 

उपमहासचिव ज्ञवालीले माओवादी लगायत अन्य विपक्षी दलले संविधानको धारा ७२ को उपधारा दुईको गलत व्याख्या गरेर विषयान्तर गर्ने चालबाजी गरेको बताए ।

ज्ञवालीले नयाँ सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण, उद्यमशीलताको विकास, कृषिमा रूपान्तरण, भूमि समस्या समाधान, सामाजिक सुरक्षा र राष्ट्रिय हितमा काम गर्न जरुरी भएकाले एमालेले हिजो मात्रै पार्टीको तर्फबाट ९९ बुँदै सुझाव पत्र सरकारलाई बुझाएको उल्लेख गरे ।

उनले कांग्रेस–एमाले गठबन्धन बन्नुको पछाडिको कारणहरूबारे प्रकाश पार्दै भने “माओवादी अध्यक्ष प्रचण्डले आफूसँग जादुमयी संख्या भएको र त्यसैका आधारमा अस्थिर र विकृत राजनीतिक अभ्यास गर्नुभयो, त्यसको शिकार मुलुकको अर्थतन्त्र, युवाशक्ति बाहिरिनु र राजनीतिक अराजकताबाहेक अन्य केही हुन सकेन, यस्तो परिस्थितिमा स्थिर र जनतामा रहेको निराशालाई चिर्न कांग्रेस–एमाले मिलेको हो ।’