दार्चुलाबाट छ सय ७४ किलो यार्सागुम्बा निकासी

644
Shares

दार्चुला। 

यो वर्ष दार्चुलाबाट ६७४ किलोग्राम हिमाली जडीबुटी यार्सागुम्बा निकासी भएको छ । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका अनुसार व्यापारीले छोडपूर्जी बनाएर यार्सागुम्बा काठमाडौँ निकासी गरेका हुन् ।

 अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सूचना अधिकारी इन्द्र सिंह नगारीका अनुसार कार्यालयले यार्सागुम्बा व्यवस्थापन (सङ्कलन तथा ओसारपसार) निर्देशिका अनुसार यो वर्ष ८ क्विन्टल ५० किलोग्राम यार्सागुम्बाको निकासी अनुमति दिने छ । यार्सागुम्बा निकासी बापत अपि नाम्पा संरक्षण क्षेत्रले प्रतिकिलो ३१ हजार रुपैयाँका दरले राजस्व संकलन गर्ने गरेको छ । हाल सम्म कार्यालयले यार्सागुम्बा निकासी बापत २ करोड ८९ लाख ४ हजार रुपैयाँ राजस्व संकलन गरेको सूचना अधिकारी नगारीले जानकारी दिए । 

  आर्थिक वर्ष २०८०-८१ मा नेपाल सरकार वन तथा वातावरण मन्त्रालय राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलालाई ८५० किलोग्राम यार्सागुम्बा संकलन गर्न लक्ष्य दिएको थियो । यसैबिच यार्सागुम्बा खरिद गर्दा महँगो परेको तथा काठमाण्डौँमा मूल्य घटेको दार्चुलाका यार्सा व्यापारीहरुले बताएका छन् । दार्चुलामा १७ देखि  १८ लाख रुपैया प्रति किलोग्राम खरिद गरिएको यार्सागुम्बाको रेट काठमाण्डौँमा १४ देखी १५ लाख रुपैया प्रति किलोग्राम मात्रै रहेको व्यापारी गणेश दत्त बडूले बताए। 

   ‘संकलकहरु संग किन्नु पर्दा महंगोमा किन्नु पर्छ, बेच्दा सस्तो बेच्नु पर्ने अवस्था छ, यार्साको व्यापार गर्नै गाह्रो भइसक्यो, उनले भने ।’ व्यापारीहरुले अहिले गाउँगाउँमा गएर संकलकहरुबाट यार्सागुम्बा खरिद गरिरहेका छन् । उनीहरुले यार्सा खरिद गरी ग्रेडिङ गरेर बिक्री गर्ने गरेका छन् । यार्सा व्यापारीहरुले ग्रेडका आधारमा खरिद बिक्री गर्ने गरेका छन् । पछिल्लो समय यार्सागुम्बाको उत्पादन घटेको याँहाका संकलकहरुले बताएका छन् । विगत केही  वर्ष यता यार्सागुम्बाको उत्पादनमा कमी आएको उनीहरुले बताएका छन्  । बहुमूल्य हिमाली जडीबुटी यार्सागुम्बाको उत्पादन घट्नुको कारण पत्ता लगाउन जरुरी रहेको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका वार्डेन विनय कुमार झाले बताए । ‘यार्सा पाइने क्षेत्रहरुको अध्ययन अनुसन्धान गरी उत्पादन घट्नुको कारण पत्ता लगाउनु अहिलेको आवश्यकता हो वार्डेन झाले भने ।’ 

  साथै उनले अपिनाम्पा संरक्षण क्षेत्रको विकास गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनु पर्नेमा जोड दिए । पर्यटकीय स्थल अपिनाम्पा संरक्षण क्षेत्रको विकास गर्न चीन संग जोडिएको टिंकरनाका सम्म सडक पु¥याउने तर्फ सबैको ध्यान जानु आवश्यक रहेको उनको भनाई छ । अपिनाम्पा संरक्षण क्षेत्र विदेशी नागरिकहरुको रोजाइमा पर्ने भएकाले यो क्षेत्रलाई पर्यटन हबको रुपमा विकास गर्नुपर्ने उहाँले बताए । दार्चुलाका अपिहिमाल, ब्याँस, दुहुँ नौगाड गाउँपालिकाका अधिकांश स्थानीयको आर्थिक स्रोत भनेको यार्सागुम्बा र जडीबुटी हो । जिल्लाको लोलु, अपि फेद, सतगङ्गा, काटै, घट्टेखोला, चाइमटेला, धरमघर, क्षति, नाम्पा, दोपाखे, दुम्लिङ लगायतका पाटनमा यार्सागुम्बा पाइन्छ ।