ईश्वर अन्तरजातीय प्रेमकथामा


काठमाडौं ।

कलाकार माओत्से गुरुङले आगामी साउन ११ गतेबाट रिलिज हुने फिल्म ईश्वर दर्शकले मन पराउने दाबी गरेका छन्।

फिल्मका बारेमा जानकारी दिन हालै पोखरामा आयोजित पत्रकार सम्मेलनमा कलाकार गुरुङले फिल्मका निर्माता ध्रुव थापाको फिल्मप्रतिको मोह ईश्वरले पूरा गरेको जनाउँदै फिल्म दर्शकले मन पराउने दाबी गरे।

चलचित्र पत्रकार संघ नेपाल कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा निर्माता हरिबहादुर थापाले फिल्ममा पहिलो पहिलोपटक लगानी गरेको र फिल्म राम्रो बनेको दाबी गरे।

कास्कीको माछापुच्छ्रे गाउँपालिका याङ्जाकोटमा सुटिङ भएको फिल्म अन्तरजातीय प्रेमकथामा आधारित रहेको निर्देशक राजु गिरीले जानकारी गराए। कृष्टि गुरुङका लागि नेपाली फिल्ममा यो डेब्यू हो। यसअघि उनले पहिले नै गुरुङ फिल्म खेलिसकेकी छन्। ‘फिल्मका लागि धेरै दुःख गरियो, संघर्ष गरियो। सबैको आ–आफ्नो कथा हुन्छ। सबैजनाले मेरो अभिनय मन पराइदिनुहुन्छ भन्ने आशा गर्दछु,’ कृष्टिले भनिन्।

अर्की कलाकार कुविना गुरुङले आफ्नो जातीय परम्पराअनुसार मामाको छोरी, फूपूको छोराबीच नै विवाह हुनुपर्छ भन्ने नभइ उनीहरूले चाहेको खुसीअनुसार बिहे गर्नसक्ने जनाउ“दै फिल्ममा यस्तै कथा रहेको बताइन्।

दिव्या कंगना फिल्म्स्को ब्यानरमा निर्मित फिल्ममा भोजराज देवकोटाको पटकथा र संवाद, अर्जुन पोखरेल, राजेन्द्र बजगाईं र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन र रामेश्वर हुमागाईंको छायांकन रहेको छ भने फिल्ममा माओत्से गुरुङ, ध्रुव थापा, कृष्टि गुरुङ, सुनिल थापा, बुद्धि तामाङ, अनु शाह, सविन बास्तोला, पृथ्वीराज प्रसाई, रवीन्द्र झा, पृथ्वीराज प्रसाईं, शिशिर वाङ्देल, गीता अधिकारीलगायत कलाकारले अभिनय गरेका छन्।