यश कुमारले ल्याए म्युजिकल हिरो


काठमाडौं ।

गायक, अभिनेता तथा फिल्म निर्देशक यश कुमारको नयाँ गीत हिरो बुधबार राजधानीमा आयोजित एक समारोहबीच भिडियोसहित सार्वजनिक गरिएको छ।

सार्वजनिक गीतमा गायक यश कुमारकै शब्द रचना, संगीत र स्वर रहेको छ। गीतको भिडियोमा आत्माहत्य दुरुत्साहनको मुद्दा उठान गरिएको छ। गीतको भिडियोमा दीपेन्द्र सोनाम, रोजेन सुन्दास र गरिमा शर्माले अभिनय गरेका छन्। भिडियोको अन्त्यमा गायक यश कुमार सरप्राइज प्याकेजमा रूपमा देखिन्छन्।

भिडियो निर्देशक निकेश खड्काले निर्देशन गरेका छन्। यश र निकेशको यो पाँचौ सहकार्य हो। भिडियोमा हरि हुँमागाईंको छायांकन र विकास धमलाको सम्पादन रहेको छ।

गायक यश कुमारले पछिल्लो समय सानो सानो विषयलाई लिएर आत्माहत्याका घटना बढेकाले आफूलाई यो मुद्दा उठाउनुपर्छ भन्ने लागेकाले हिरो गीत निर्माण गरेको बताए।

उनले बिहीबार आफ्नो २६ वर्ष पुरानको सुपरहिट गीत हिजो अर्कैसँग देखेँको फिमेल भर्सनसमेत सार्वजनिक गरेका छन्।