नम्बरी सुनका दर्शकलाई सुन नै उपहार


काठमाडौं ।

राजु गिरीद्वारा निर्देशित अर्को फिल्म नम्बरी सुन पनि यसै महिना रिलिजमा आउने भएको छ। गिरीको निर्देशनमा निर्मित ईश्वर आगामी साउन ११ गते रिलिज हुनेछ भने नम्बरी सुन २५ गते रिलिज हुने भएको छ।

नम्बरी सुनका १२ जना दर्शकलाई सुन नै उपहार दिने घोषणा निर्माण समूहले गरेको छ। ललितपुरस्थित झम्सिखेलमा हालै अयोजित पत्रकार सम्मेलनमा फिल्मका प्रस्तुतकर्ता नारायण खातीले १२ जना दर्शकलाई फिल्मको तर्फबाट सुन उपहार दिने घोषणा गरेका हुन्।

सुन व्यवसायी रहेका उनले खल्ती एपबाट फिल्म हेर्ने पाँचजना र त्यसभन्दा बाहिरका सात जनालाई सुनको मोतीवाला चन्द्रहार प्रदान गर्ने घोषणा गरे। उनका अनुसार उपहार लक्की ड्रमार्फत सार्वजनिक गरिने छ। फिल्मका निर्देशक राजु गिरीले फिल्मले झण्डै ७० वर्षअघि घर–घर पुगेर सुनको गहना बनाउनेको कथा बोल्ने बताए।

‘दर्शकले मन पराउने फ्लेभरको माया प्रेम, सेन्टिमेन्टल र कमेडी फिल्ममा छ,’ निर्देशक गिरीको दाबी छ। फिल्मकी नायिका नम्रता सापकोटाले फिल्ममा आफूले प्रेम प्राप्त गर्न संघर्षरत ग्रामीण युवतीको भूमिका निर्वाह गरेको बताइन्।

‘अहिलेसम्म मैले गरेका फिल्मभन्दा केही फरक काम नम्बरी सुनमा छ,’ नम्रताले भनिन्। अभिनेता विनोद न्यौपानेले फिल्ममा आफू सहायक चरित्रमा देखिए पनि त्यो चरित्र दर्शकले मन पराउने दाबी गरे।

फिल्ममा गौरव पहारी, सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बास्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरी, कंगना गिरीलगायतले अभिनय गरेका छन्।

सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा सरोज खाती, सविन खाती र मनोज रिजालद्वारा निर्मित फिल्ममा शिवम् अधिकारीको पटकथा र संवाद, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन, समीर मिया“को भीएफएक्स, दिव्य सुवेदीको छायांकन र गौतमराज खड्काको सम्पादन रहेको छ।