चीनको ओलम्पिकमा छलाङ

616
Shares

लन्डन, (एजेन्सी) ।
विश्वभरि यही जुलाई २६ देखि पेरिसमा हुने गृष्मकालीन ओलम्पिक खेलकुदको प्रतिक्षा भइरहेको छ । ओलम्पिक खेलकुद शुरु हुन करिब १० दिन जति बाँकी छ ।

१८४ राष्ट्रका खेलाडीको सहभागिता हुने खेलको यो महाकुम्भमा ३२९ स्वर्ण पदकको लागि प्रतिस्पर्धा हुनेछ । यस खेलकुदको इतिहासमा सर्वाधिक सफल राष्ट्र चीन, अमेरिका, रसिया, फ्रान्स, ग्रेट ब्रिटेन रहेका छन् । यीमध्ये चीन एशियाली राष्ट्र हो ।

चीन हालिया दशकमा गृष्मकालीन ओलम्पिक खेलकुदमा सबैभन्दा शसक्त प्रतिस्पर्धी भएर निस्केको छ । १९९६ को एटलान्टा ओलम्पिकदेखिको तथ्यांकअनुसार चीनले २२६ स्वर्ण, १५७ रजत र १३७ कांस्य पदक हासिल गरिसकेको छ ।
चीन पदक जित्नेमा अमेरिकाभन्दा मात्रै पछाडि रहेको छ । अमेरिकाले १९९६ देखि हालसम्म २८५ स्वर्ण, २३९ रजत र २२० कांस्य पदक हासिल गरेको छ । यतिमात्रै होइन, पहिले जापान रसिया र अमेरिकासँग प्रतिस्पर्धामा रहेकोमा अहिले चीनले सो स्थान लिएको छ । चीनले जापान, कोरियालाई समेत पछि पारिसकेको अवस्था छ ।
यस्तै, अमेरिकालाई चुनौती दिने राष्ट्र रसिया समेत चीनसँग पछि परिसकेको छ । अहिले रसियाले युक्रेनमाथि आक्रमण गरेपछि पदकको संख्या राष्ट्रको लागि गणना हुनेछैन । यसले रसिया अब चीनभन्दा निकै पछि पर्ने संभावना छ । १९९६ देखिको तथ्यांकमा रसियाले १६९ स्वर्ण, १५४ रजत र १७६ कांस्य जितेको छ ।

चीनको सबैभन्दा राम्रो प्रदर्शन २००८ मा आयोजना भएको बेइजिङ ओलम्पिक हो । आयोजक राष्ट्र चीनले बेइजिङ ओलम्पिकमा ४८ स्वर्ण जितेको थियो । गत टोकियो ओलम्पिक २०२१ मा चीनले ३८ स्वर्ण जितेको थियो । अमेरिकासँग बराबरी गर्न चीन एक स्वर्णले मात्रै पछि परेको थियो ।

सफल हुनुको कारण
एक म्यागेजिनले जनाएअनुसार चीनमा प्रशिक्षण विश्वमै सबैभन्दा कडा हुने गरेको हुन्छ । चिनियाँहरू धेरै मेहनत गरेर नतिजा निस्कनेमा विश्वास गर्छन् ।

चिनियाँ सरकारले अभ्यासको लागि र ओलम्पिकमा स्वर्ण पाउनेमै ध्यानकेन्द्रीत भएर ठूलो लगानी गरेको हुन्छ ।
एउटा कोष पनि खडा गरेको हुन्छ र त्यसबाटै खेलाडीले उत्कृष्ट प्रशिक्षक र विभिन्न खेलमा सुधार गर्न विदेशी विज्ञहरू पाउँछन् ।
ओलम्पिकमा पदक पाउन चीनले गत ओलम्पिकका लागि २८ विदेशी प्रशिक्षक नियुक्त गरिएको थियो ।
खेलाडी छान्दा शारीरिक रूपमा बलिया भएका युवाहरूलाई प्राथमिकता दिने गर्छ ।

वर्षभरि नै प्रशिक्षण
अरू राष्ट्रमा भन्दा चीनमा खेलाडीलाई एकै ठाउँमा मिलेर ३६५ दिनमै प्रशिक्षण दिने गर्छ । जस्तै, बास्केटबलको कुरा गर्दा खेलाडीलाई करिब ६ महिना मिलेर प्रशिक्षण दिन्छ र अर्को ६ महिना व्यवसायिक खेलाडीसँग खेल्ने समय हुन्छ । धेरै समय राष्ट्रिय टोलीले एकै ठाउँमा बिताउने गर्छ ।

अरु राष्ट्रका खेलाडी भन्दा चीनका खेलाडीले कुन खेलमा राम्रो गर्न सक्छन् त्यसैमा बढी ध्यान दिन्छन् । जस्तै, उनीहरू टेबलटेनिस, डाइभिङ, जिम्नास्टिक, ट्रयक एण्ड फिल्ड, स्विमिङ र वेटलिफ्टिङमा धेरै राम्रा छन् ।

पर्याप्त कमाई
ओलम्पिक खेलाडीले एक परिवारले एक वर्ष कमाउने भन्दा बढी कमाउने गर्छन् । यदि कोही खेलाडी गरिब परिवारबाट आएका छन् भने ती खेलाडीको परिवार गरिबबाट छिटै राम्रो स्तरमा पुग्छन् । एक ओलम्पिक स्वर्ण जित्दा ती खेलाडीले २ लाख अमेरिकी डलर प्राप्त गर्नुका साथै घर, उच्चस्तरको सरकारी जागीर समेत पाउँछन् । धेरै जसो खेलाडी खेत, कारखाना जस्ता ठाउँमा काम गरेका परिवारबाटै आएका हुन्छन् ।