नाइरोबी फ्लाईको सङ्क्रमण बढ्दै

294
Shares

धनगढी ।

कैलालीको धनगढीसहितका क्षेत्रमा ‘नाइरोबी फ्लाई’ कीराको सङ्क्रमणबाट छालामा फोका उठ्ने र पाक्ने समस्या बढ्न थालेको छ। वर्षायाममा देखिने यस कीराले छोएका व्यक्तिमा यस्तो समस्या देखिन थालेको हो।

यस कीराले छोएपछि निस्किने एकप्रकारको रसायनले मानिसको छालामा फोका हुने र पाक्ने गरेकाले सो कीराको सम्पर्कबाट जोगिन स्वास्थ्यकर्मीले सुझाएका छन्। कीराको सम्पर्कबाट जोगिन बाउला भएको सर्ट र पाइन्ट लगाएर शरीरलाई ढाक्ने, कीराले छोएको ठाउँको छालालाई धुने र सङ्क्रमण भएमा चिकित्सकको सल्लाहअनुसार औषधिको प्रयोग गर्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ।

धनगढी उपमहानगरपालिका कार्यालयले सार्वजनिक सूचनामार्फत कीराको सम्पर्कबाट जोगिन नागरिकलाई अनुरोध गरेको छ। उपमहानगर स्वास्थ्य शाखा प्रमुख योगेशकुमार अवस्थीले उक्त कीराले आफ्नो सुरक्षाका लागि निकाल्ने रसायनले मानिसको छाला पोल्ने, छालामा फोका र दाना उठ्ने भई पीडा हुने गरेको बताए। अवस्थीले भने, “यस कीराको सम्पर्कले मानिसको ज्यान जाँदैन तर सम्पर्क हुँदा छाला पोल्ने र घाउ भई पीडा हुन्छ।”

खासगरी बेलुकाको समयमा बत्ती बलेको ठाउँमा यो कीरा आउने गरेकाले सतर्क रहन अवस्थीले आग्रह गरे। “यस कीराको समस्याले हाल स्वास्थ्य संस्था र अस्पताल धाउनको सङ्ख्या बढिरहेको छ। सङ्क्रमणबाट जोगिन घरबाहिरको बत्ती कम प्रयोग गर्ने र वातावरण सरसफाइमा पनि ध्यान दिनुपर्छ”, उनले भने।