काठमाडौं ।
त्रिशुली नदिमा दुर्घटना भई बेपत्ता भएको दुई यात्रुसहितको बस खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपालका ९० जनाको सुरक्षा फौज परिचालन गरिएको छ।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ११ जना गोताखोरसहित ४५ जनाको टोलीले सोनार क्यामरा प्रयोग गरी घटनास्थलदेखि नारायणी नदिसम्म खोजीकार्य गर्नेछ। त्यस्तै अर्को सर्च टोलीले यसअघि प्रयोग भएका विभिन्न डिभाईसहरुको प्रयोग गरी घटनास्थलदेखी १ किलोमिटर तलसम्म खोजीकार्य गर्ने प्रहरीले जनाएको छ।
त्यसैगरी नम्बर १७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्तसहित ४५ जनाको सुरक्षा फौज घटनास्थलदेखि ४० किलोमिटर तल गोलाघाटसम्म र्याफ्टिङ बोट र नदी किनारामा पैदल गस्ती गर्दै खोजी कार्यको लागि परिचालन गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
अविरल वर्षाको कारण नदीमा आएको भेल र धमिलो पानी गर्दा सोनार क्यामरा र अन्य डिभाइसहरूको प्रयोग गर्दा समेत बेपत्ताहरूको खोजी कार्य गर्न असहज भएको बताइएको छ।
असार २९ गते बेपत्ता भएको बस तथा यात्रुहरूको खोजीको लागि खटिएको सुरक्षा फौजले ३ वटा शव फेला पारेको थियो। खोजी कार्यमा नेपाली सेना र नेपाल प्रहरी समेत परिचालित रहेका छन्।
प्रतिक्रिया