पोसेसन विज्ञ स्पेनलाई पावर गेमर इंग्ल्यान्डको चुनौती

4.61k
Shares

एजेन्सी ।

जुलाई १४ अर्थात आइतबार राति नेपाली समय अनुसार पौने एक बजे बर्लिनको ओलम्पियास्टाडियोन रंगशालामा २०२४ को यूरो कपको फाइनल हुँदैछ।

यसपटक उपाधिका लागि तीन पटकका विजेता स्पेनले यो समेत दुईपटक मात्र फाइनल पुगेको पूर्व उपविजेता इंग्ल्याण्डको सामना गर्दैछ ।

युरोपेली फुटबलका यी दुई महारथीमध्ये स्पेन जारी प्रतियोगितामा अहिलेसम्म सबै ६ वटै खेल जित्ने एक मात्र टोली हो । सेमिफाइनल यात्रा गर्ने क्रममा १३ गोल गरेको स्पेनले विपक्षीबाट तीन गोल मात्र बेहोरेको छ ।

युरो कपको इतिहासमा स्पेन र इंग्ल्यान्डको फाइनल भने पहिलोपटक हुन लागेको हो । यसअघि ४ फाइनल खेलेको स्पेन र एकपटक फाइनल खेलेको इंग्ल्यान्डको यसअघि कहिल्यै पनि युरो कपको फाइनलमा भेट भएको थिएन ।

यी दुई देश इतिहासमै पहिलोपटक युरो कपको फाइनलमा २०२४ को संस्करणमा खेल्दैछन् । फिफाको पछिल्लो वरीयता अनुसार अहिले इंग्ल्यान्ड पाँचौं स्थानमा छ भने स्पेन आठौं स्थानमा छ ।

स्पेन
स्पेन यसपालि चौथोपटक युरोपको च्याम्पियन बन्ने दाउमा छ। स्पेनले पछिल्लोपटक २००८ र २०१२ मा लगातार युरो कप जितेको थियो। स्पेनले २००८ र २०१२ मा युरो जित्दा त्यस बीचको २०१० को विश्वकप फुटबलको उपाधि पनि जितेको थियो।

स्पेनिस टोलीको सबैभन्दा शक्तिशाली पक्ष भनेको मध्यक्षेत्र हो । छोटो–छोटो र हेर्दा कलात्मक देखिने पास खेल्न माहिर स्पेनले क्वाटरफाइनलमा आयोजक जर्मनी तथा सेमिफाइनलमा फ्रान्सलाई हराएर आफ्नो शक्ति प्रस्तुत गरिसकेको छ।

गोल गरेको आंकडाबाट उनीहरूको अग्रपंक्ति कति सशक्त छ भनेर प्रष्ट हुन्छ। सेमीफाइनलमा चोटका कारण पेड्री तथा दोहोरो पहेँलो कार्ड पाएका कारण नखेलेका डानी कार्भाजल र रोबिन ली नोरमन्ड फाइनलमा टिममा समावेश हुनेछन्। पेड्रिको उपस्थितिले स्पेनको मिडफिल्ड अझ सबल हुनेछ। उनलाई डानी ओल्मोले पनि सेन्ट्रल मिडफील्डमा साथ दिने सम्भावना छ।

त्यस्तै, अनुभवी जेसस नाभासले पनि राइट ब्याकमा कार्भाजललाई सघाउने छ । नोरमन्डको पुनरागमनले स्पेनलाई थप उर्जा मिल्नेछ। प्रतियोगिताको सुरुदेखि ४–३–३ को रणनीति अपनाएको स्पेन कहिले काहीं ४–२–४ को फर्मेसनमा पनि बदलिने गरेको छ । स्पेनले इंग्ल्याण्डविरुद्ध पनि सोही रणनिति अपनाउने अनुमान गरिएको छ ।

अग्रपंक्तिमा १६ वर्षीय लामिन यमाललाई रोक्न इंग्ल्याण्डको डिफेन्सलाई पक्कै सजिलो हुने छैन। मध्यपंक्तिका रोड्रीले अग्रपंक्तिमा अल्भारो मोराटालाई बल उपलब्ध गराउनेछ भने विंग्सबाट २१ वर्षीय नीको विलियम्स र यमलले आक्रमणलाई तेज बनाउनेछ ।

इंग्ल्याण्ड
दोस्रोपटक फाइनल खेल्ने इंग्ल्याण्ड यसपालि पहिलोपटक युरोप च्याम्पियन बन्ने सपना पूरा गर्न चाहन्छ। सन् २०२१ को युरोमा इंग्ल्याण्ड फाइनलमा इटालीसँग पेनाल्टी शूटआउटमा पराजित भएको थियो।

अर्कोतिर फाइनलसम्मको यात्रा गर्दा इंग्लिश टोलीले औसत प्रदर्शन गरेको छ। गत संस्करणको उपविजेता इंग्ल्याण्डले यसपटक फाइनल प्रवेश गर्दा जम्मा ६ गोल मात्र गरेको छ भने विपक्षीबाट ४ गोल बेहोरेका छन। इंग्लिश प्रशिक्षक गेरेथ साउथगेटले लुइक शालाई प्रारम्भिक एघारमा राख्ने सम्भावना छ।

हाल इंग्लिश टोलीमा अटाएपनि ह्यामस्ट्रिङको चोटका कारण म्यानचेस्टर युनाइटेडका लेफ्ट–ब्याक शले फेब्रुअरी १८ देखि खेलेका छैनन। उनले किरिन ट्रिपियरलाई प्रतिस्थापन गर्न सक्नेछन् । ट्रिप्पियरलाई नेदरल्यान्ड्सविरुद्ध ग्रोइनको समस्या देखिएको थियो ।

साउथगेटले अहिलेसम्म प्रतियोगिताभरि ६ खेलमा १४ जना फरक खेलाडी खेलाएका छन् । यद्यपि एभर्टनका गोलकिपर पिकफोर्ड, म्यानचेस्टर सिटीका डिफेन्डर स्टोन्स र वाकर तथा आर्सेनलका मिडफिल्डर राईस गरी चार खेलाडीले मात्र प्रत्येक खेलको पुरै समय खेलेका छन ।

एस्टन भिल्ला फरवार्ड ओली वाट्किन्स, जो वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेर नेदरल्यान्ड्सविरुद्ध अन्तिम मिनेटमा विजयी गोल गरेका थिए। फाइनलमा पनि उनी वैकल्पिक खेलाडीकै रुपमा मैदान प्रवेश गर्ने अनुमान गरिएको छ।

साउथगेटले इग्ल्यान्डका कप्तान केनलाई नै अग्रपंक्तिमा विश्वास गर्नेछ । यदि साउथगेटले अन्तिम खेल ३–४–२–१ को फर्मेसनमा सुरुवाती ११ खेलाएमा श र वाट्किन्सलाई सुरुवातबाटै मौका दिनसक्ने प्रबल सम्भावना छ ।

इंग्ल्यान्ड र स्पेनको हेड टु हेड :

जर्मन युरो कप २०२४ को फाइनल खेल्न लागेका स्पेन र इंल्यान्डको विगत हेर्दा इंल्यान्डको तथ्यांक राम्रो छ। यी दुई देशले हालसम्म एकअर्काविरुद्ध कूल २७ पटक खेलेका छन् । यी २७ खेलमा इंग्ल्यान्डले स्पेनलाई १४ पटक पराजित गरेको छ भने स्पेनले १० पटक इंल्यान्डलाई हराएको छ। बाँकी ३ खेल बराबरीमा सकिएका छन्।

इंल्यान्ड र स्पेनबीच भएका पछिल्ला ५ खेलको नतिजा हेर्दा समान नतिजा छ। दुवैले एकअर्कालाई २–२ पटक हराएका छन् भने एक खेल बराबरीमा सकिएको छ। पछिल्लो खेल युईएफए नेसन्स लिगमा सन् २०१८ मा खेल्दा त्यो बेला इंल्यान्डले स्पेनलाई ३–२ ले हराएको थियो। सोही वर्ष नेसन्स लिगमै स्पेनले इंल्यान्डलाई २–१ ले हराएको थियो।

युरो कपमा १९९६ मा इंल्यान्डसँग हारेको स्पेन २३ वर्षपछि इंग्ल्याण्डलाई हराएर बदला लिने दाउमा हुनेछ भने इंग्ल्याण्ड स्पेनविरुद्ध उही जितको कथा लेख्ने दाउमा हुनेछ । जर्मनीको बर्लिनमा आइतबार मध्यराति युरो कपको फाइनल हुँदा दुवै देश जितको कहानी लेख्न आतुर हुनेछन् ।

यमालले राति ११ बजेपछि खेल्न पाउने छैनन्

स्पेनका युवा खेलाडी लामिन यमाललाई राति ११ बजेपछि खेल्न प्रतिबन्ध लगाएको छ। जर्मनीको बाल श्रम कानुनअनुसार यमालले राति खेल्न नपाइने भएको हो। उनले खेलेपनि निर्धारित ९० मिनेट खेल्न पाइनेछ। यदि, खेल अतिरिक्त समयमा लम्बिएमा उनले खेल्न पाउनेछैनन्।

जर्मनीमा १८ वर्षका मुनिका कोही पनि युवाहरूले राति ११ बजेपछि काम गर्न नपाइने कानून रहेको छ । यदि कतै काम गरिएको पाइएमा ३० हजार युरो जरिवाना तिराइनेछ । यमाल यही अप्रिल १३ मा १७ वर्षमा पुगेका हुन् ।

यमालले १७ वर्ष नहुँदै सेमिफाइनलमा फ्रान्सविरुद्ध गोल गर्दै युरोको इतिहासमा सबैभन्दा कान्छो गोलकर्ता बन्ने उपलब्धि हासिल गरेका थिए । २०२४ को युरो फाइनल खेल जर्मनीको समयअनुसार राति ९ बजे शुरु हुनेछ ।

इंग्ल्याण्डका ५० हजार समर्थक बर्लिनमा हुने

नेपाली समयअनुसार आइतबार राति पौने १ बजे हुने युरो २०२४ को फाइनल खेलमा इंग्ल्याण्डले ठूलो समर्थन पाउने छ । बर्लिनको ओलम्पिया रंगशालामा स्पेनको सामना गर्दा ग्यारेथ साउथगेटको टोलीलाई ५० हजार भन्दा बढीले समर्थन गर्ने प्रारम्भिक संकेतले देखाएको छ ।

फाइनल खेल्ने टोली स्पेन र इंग्ल्यान्डका महासंघलाई बर्लिनको ७१ हजार क्षमता भएको रंगशालामा १० हजार टिकट हस्तान्तरण गरिएको छ। तर, अधिकारीहरू विश्वास गर्छन् कि इंग्ल्याण्डलाई समर्थन गर्नेहरूले जर्मनीको राजधानीमा आफ्ना विपक्षीहरूलाई दोब्बर संख्याले पछाडि पार्न सक्छन्।

जर्मनीमा होटल कोठाहरूको मूल्य बढ्दैछ। गुगलले बर्लिन जाने उडानहरूको खोजीमा पछिल्लो २४ घण्टामा २५० प्रतिशतभन्दा बढी वृद्धि भएको छ। जबकि अनलाइन उपलब्ध सस्तो टिकट ८२० पाउन्डभन्दा बढीमा प्रस्ताव गरिँदै थियो।

स्रोतको अनुसार स्पेनले उपाधि जितेमा स्पेनमा ठूलो उत्सव हुने छैन। तर, इंग्ल्याण्डले जितेमा राजादेखि प्रजासम्म सबै विजयी जुलुसमा सहभागिता हुनेछन्। सोमबार र मंगलबार गरी दुई दिनको उत्सव सुरु हुनेछ। जर्मनीमा धेरै खेलहरूमा उपस्थित जनाएका राजकुमार विलियमको नेतृत्वमा शाही स्वागत पनि गरिनेछ ।