त्रिशूली नदीमा बेपत्ता दुई बस र अधिकांश यात्रुको अवस्था अझै अज्ञात

३ यात्रुको शव फेला, १ को पहिचान हुन सकेन

1.6k
Shares

–सिमलतालमा आफन्तजनको भीड
–त्रिशूलीको बाढीले खोजी कार्य प्रभावित
–सेना र सशस्त्र प्रहरीको ३१ जना गोताखोरको टोली परिचालन
–सोनार क्यामरा, वाटर ड्रोन, पाइपलाइन इन्सपेक्सन सिस्टमसहित खोजी कार्य शुरू

काठमाडौं ।

शुक्रबार बिहानदेखि बेपत्ता भएका दुई यात्रुवाहक बस र त्यसमा यात्रा गर्ने यात्रुहरूको अवस्था अझै अज्ञात रहेको छ।

काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको र वीरगञ्जबाट काठमाडौं आउँदै गरेको दुई यात्रुवाहक बस चितवनको भरतपुर महानगरपालिका–२९ सिमलताल नजिकै पहिरोले बगाएर दुवै बसलाई त्रिशूलीमा खसालेको थियो ।

दुवै बसमा ५० जना यात्रु रहेको आशंका गरिएको छ । शुक्रबार बिहान ३ बजेतिर उक्त घटना भएपछि खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपाली सेना, नेपाल प्रहरी र स्थानीय प्रशासन खटिएको भए पनि त्रिशूली नदीमा आएको बाढीले खोजी कार्यलाई प्रभावित पारेको छ ।

तालिम प्राप्त खोताखोरको टोली उपकरणसहित परिचालन गरेको र अहिलेसम्म बसको अवस्था पत्ता लगाउन नसकिएको चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालयका प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक माधव शर्माले जानकारी दिनुभयो। उहाँले पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएका दुई बस र यात्रुको खोजीका लागि पानीभित्र हेर्न मिल्ने वाटर ड्रोन क्यामरा प्रयोग गरेर खोजी कार्यलाई तीव्रता दिइएको पनि जानकारी दिनुभयो ।

उहाँका अनुसार बिहानैदेखि खोजीमा गोताखोरसहितको टोली परिचालन गरिएको र वाटर ड्रोन क्यामरा पनि प्रयोगमा ल्याइएको छ। टोलीले त्रिशूली नदीमा सोनार क्यामरा, वाटर ड्रोन, पाइपलाइन इन्सपेक्सन सिस्टमसहित खोजी कार्य शुरू गरेको बताइएको छ। र्‍याफ्टबोटमा जडान गरेर पानीभित्रको वस्तुहरू हेर्न सोनार क्यामरा जडान गरेर खोजी कार्य भइरहेको पनि उहाँले जानकारी दिनुभयो।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ९ जना गोताखोरसहित २५ जना र १७ नम्बर गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्तसहित ७५ जनाको सुरक्षाफौज खोजी कार्यमा परिचालित भएको छ ।

दुईवटा बसभित्र रहेका यात्रुमध्ये ३ यात्रुको शव फेला परेको छ । उक्त दुर्घटनामा परेका भारतीय नागरिक ऋषिपाल साहको शव सनाखत भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । उक्त शव शनिबार दिउँसो फेला परेको थियो । अन्य दुई जनाको शव नवलपरासीको गैंडाकोट नजिकै फेला परेको छ । तीमध्ये सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुमार माझीको सनाखत भएको छ भने एकको अझै खनाखत हुन नसकेको प्रहरीले जानकारी दिएको छ ।

काठमाडौंबाट गौर गइरहेको वागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति यात्रुवाहक बस र वीरगञ्जबाट काठमाडौंतर्फ आइरहेकोे वागमती प्रदेश ०३–००६–१५१६ नम्बरको एन्जल डिलक्स यात्रुवाहक बसलाई सडकमाथिबाट आएको लेदोसहितको पहिरोले बगाएको थियो ।

शुक्रबार बिहान बस खसेको थाहा पाएपछि आफन्तहरू शुक्रबार दिउँसोबाट सिमलताल आएर आफन्तजनको प्रतीक्षामा रहेका छन् । सिमलताल अहिले शोकमग्न भएको छ । गोताखोरको टोली त्रिशूली नदीभित्र प्रवेश गर्न थालेपछि आफन्तहरू नदीतर्फ एकोहोरो भएर हेर्ने गरेका छन् । त्रिशूली नदीको छेउमा बसेका आफन्तलाई पटकपटक फोन आउँछ, केही पत्ता लाग्यो त ? उनीहरू निराशा व्यक्त गर्दै उत्तर दिने गरेको दृश्यले सबैलाई भावुक बनाउने गरेको छ । आशा र निराशा दुवै बोकेका आफन्तहरूले खोजी कार्यमा सरकारको उदासीनता रहेको भन्दै खोजीको कामलाई तीव्र बनाउन पनि आग्रह गरिरहेका छन्।

सरकारविहीन अवस्था

अहिले मुलुक सरकारविहीनको अवस्थामा छ। खोजी कार्यलाई कसरी अघि बढाउने भन्ने विषयमा निर्देशन दिने मान्छेको अभावमा सुरक्षा निकायहरूले आफ्नो बलबुतामा खोजीको कामलाई तीव्र बनाएका छन् ।

प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’को सरकार पदमुक्त भएपछि नयाँ सरकार पनि नबनेको अहिलेको अवस्थामा स्थायी सरकारको रूपमा रहेको कर्मचारी संयन्त्रले बसको खोजी कार्य तीव्र बनाएको छ । तर, बसमा हराइरहेका यात्रुका आफन्त भने अहिलेको काम गराइप्रति सन्तुष्ट छैनन्।

घटना भएको ४२ घण्टासम्ममा पनि हराइरहेको बस पनि भेटिएको छैन भने यात्रीहरूको पनि अवस्था एक जनाबाहेक अन्यको अज्ञात रहेको छ । हराइरहेको बस र यात्रुको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सयौं सुरक्षाकर्मी शुक्रबार बिहानदेखि परिचालित छन् । नेपाली सेना र सशस्त्र प्रहरी बल गरी ३१ जना गोताखोरको टोली पनि परिचालन भएको छ ।

नेपाली सेनाका १५ जना गोताखोरसहित ७५ जना खोज तथा उद्धारका लागि परिचालित भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले जानकारी दिनुभयो । त्यस्तै, सशस्त्र प्रहरी बलको १६ जना गोताखोरसहित १ सयभन्दा बढी जनशक्ति परिचालित भएको सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिनुभयो ।

रौतहटका दुई गाउँ शोकमा

गौर आउँदै गरेको यात्रुवाहक रात्री बस चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालको त्रिशूली नदीमा बेपत्ता हुँदा रौतहटका दुई गाउँ शोकमा डुबेका छन् ।

नेपाली सेनामा भर्ना भएका बौधीमाई नगरपालिका–३ मटिअर्वाका कृष्णनन्दन साह बनियाको पासआउटमा सहभागी भएर ५८ वर्षीय बुबा परशुराम साह बनिया, ५५ वर्षीया आमा मीनादेवी साह, २५ वर्षीय भाइ सरोज साह बनिया, २८ वर्षीय ज्वाइँ नरेश साह बनिया, २४ वर्षीया बहिनी रिंकु देवी ००१ ख २४९५ नम्बरको गणपति डिलक्समा फर्किएका थिए ।

त्रिशूली नदीमा बेपत्ता हुँदा सो बस बेपत्ता हुँदा उनका भाइ सरोज साह बनिया मात्रै बाँच्न सफल भए भने अरू अझै बेपत्ता छन् । यति बेला घरपरिबार मात्र नभई सिंगो बस्ती नै शोकमा डुबेको छ ।

सोही बसमा सवार गरुडा नगरपालिका–९ सिसवा टोलीका ५० वर्षीय जुगेश्वर राय यादव ७ वर्षीय छोरा अशोक यादवलाई काठमाडौंको अस्पतालमा उपचार गराएर फर्किंदै गर्दा २७ वर्षीया छोरी अमृता यादव साढे २ वर्षका नाति शिवशंकर यादव र डेढ वर्षको नातिनीसमेत दुर्घटनामा परे । छोराछोरी तथा नातिनातिनीसहित ४ जना बेपत्ता भए पनि उनी भने क्याबिनबाट हामफालेर बाँचेका थिए । उनका परिवारको पनि चार जनाको अवस्था अझै अज्ञात रहेको छ । उनको गाउँ सिसवामा पुग्दा श्रीमती उमादेवी यादव अचेत अवस्थामा छिन् भने १८ वर्षीय जेठा छोरा सन्तोष यादव छिनछिनमा मूच्र्छा परिरहेका छन् ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार रौतहटको गरुडा–८ सिस्वाधमौराका जुगेश्वर राय यादव, देवाहि गोनाहि–१ करुनियाका नन्दन दास र बौधीमाई–३ मटिहर्वाका सरोज गुप्ता नदीबाट पौडिएर ज्यान जोगाउन सफल भएका छन् । उहाँका अनुसार सुरक्षा निकायका सबै अङ्ग खोजतलासमा परिचालन गरिएको छ ।
गणपतिमा यात्रारतहरूको नामावली
१) जिल्ला रौतहट बौधीमाई न.पा. १ बस्ने विसुनी राउतको छोरा वर्ष अन्दाजी ७० को बली राउत पटेल (बेपत्ता)
२) ऐ.ऐ. बस्ने देवराज यादवको छोरा वर्ष अन्दाजी ५५ को हरिचन्द्र यादव (बेपत्ता)
३) ऐ.न.पा.२ बस्ने किशोरी पटेलको छोरा वर्ष अन्दाजी १८ को राज पटेल (बेपत्ता)
४) ऐ. न.पा. ३ बस्ने वर्ष अन्दाजी ६५ को पर्शुराम साह बनिया (बेपत्ता)
५) ऐ.ऐ. बस्ने पर्शुराम साह बनियाको श्रीमती वर्ष अन्दाजी ६० कि मीनादेवी साह (बेपत्ता)
६) देश भारत विहार मोतीहारी बस्ने वर्ष अन्दाजी ३८ को नरेश साह बनिया (बेपत्ता)
७) ऐ.ऐ. बस्ने नरेश साह बनियाको श्रीमती वर्ष अन्दाजी ३५ कि रिन्कु साह बनिया (बेपत्ता)
८) जिल्ला रौतहट बौधीमाई न.पा–४ बस्ने छोटेलालप्रसाद जैसवालको छोरा वर्ष अन्दाजी १९ प्रिन्स जैसवाल (बेपत्ता)
९) ऐ.ऐ. बस्ने कमलदेव राउतको छोरा वर्ष अन्दाजी ३५ को अकलु राउत पटेल (बेपत्ता)
१०) ऐ.ऐ. बस्ने राजहरण पटेलको छोरा वर्ष अन्दाजी २७ को गुडु पटेल (बेपत्ता)
११) ऐ. न.पा. ३ बस्ने पर्शुराम साहको छोरा वर्ष अन्दाजी २६ को सरोजप्रसाद गुप्ता (सकुशल)
१२) ऐ. कटहरिया न.पा.–१ भसेरवा बस्ने बुधन दासको छोरा वर्ष अन्दाजी २२ को सिनोज दास (बेपत्ता)
१३) ऐ. माधवनारायण न.पा.–३ सखुअवा बस्ने भगल रायको छोरा वर्ष अन्दाजी २२ को लक्ष्मण यादव (सहचालक) (बेपत्ता)
१४) ऐ. यमुनामाई न.पा.–४ सरुअठा बस्ने वर्ष अं. १८ को सहुप मिया (बेपत्ता)

जसको सर्वस्व त्रिशूलीमा बिलायो

पर्साको सखुवा प्रसौनीका ५५ वर्षीय हृदयनारायण राउत २२ वर्षीया छोरी चन्द्रभवाको उपचारका लागि छिमेकी देश भारत जाने सोचमा हुनुहुन्थ्यो तर त्यहाँ उपचार महँगो हुने भएपछि काठमाडौं जाने सोचमा रहनुभयो। वीरगञ्जका उपचार गर्दा पनि छोरीको पेट दुख्ने समस्या समाधान नभएपछि उहाँ अनि पत्नी भगवती देवी पनि काठमाडौं छोरीको उपचारका लागि जाने सोच बनाउनुभयो।

छोरीलाई समस्या भएपछि वीरगञ्जबाट काठमाडौं चल्ने रात्रिकालीन बस ०३ ००६ ख १५१६ मा चढ्नुभयो र बुबा, आमा र दिदीलाई छोरा जयलाल राउतले बस चढाए । तर, दिदीको उपचार गर्न पनि नपाई दिदीसहित बुबा र आमा चढेको बस त्रिशूलीमा बेपत्ता भएको खबरपछि अहिले जयलालसहित उहाँको परिवार र पूरै गाउँ शोकमा छ, चिन्तामा छ ।

पटकपटक भगवान्लाई पुकार गरिरहेका छन्, कतै आफ्ना मुटुका टुक्राहरू आइहाल्छन् कि भनेर । शुक्रबार राति त नारायणगढ मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले त्रिशूलीमा बगाएको बससँगै पर्साको एउटै घरका ३ जना बेपत्ता भएपछि सखुवा प्रसौनी–२ को जमुनिया गाउँ शोकमग्न छ भने राउत परिवारसहित गाउँ नै भावविह्ल छ । छोरीको पेटमा समस्या आएपछि रोपिसकेको ७ कठ्ठा खेत बन्धकी राखेर पर्साको सखुवा प्रसौनी–२ जमुनियाका ५५ वर्षीय हृदयनारायण राउत, उनकी श्रीमती ५० वर्षीय भगवती देवी र बिरामी छोरी २२ वर्षीया चन्द्रभवा कुमारी त्यही बस चढेर काठमाडौं हिँडेका थिए ।

घरको आर्थिक अवस्था नाजुक थियो। छोरीको स्वास्थ्यमा पहिलेदेखि नै केही समस्या देखिए पनि आर्थिक जोहो भएको थिएन। त्यसपछि हृदयनारायणले रोपिसकेको खेत साहुको बन्धकी राखे। साहुले दिएको ऋण बोकेर काठमाडौं गएका उनीहरूले काठमाडौं देख्न पाएनन्। राउतको घरको आर्थिक अवस्था निकै कमजोर रहेको स्थानीय बताउँछन्। रोजगारीका लागि जेठा छोरा श्याम विनय राउत साउदी अरेबिया रहेको बुझिएको छ ।

दुई स्वास्थ्यकर्मी पनि बेपत्ता

नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गएको पहिरोको लेदोले बगाएको एञ्जल बसमा सखुवा प्रसौनीका एकैपरिवारका ३ सहित ५ जना परेको पाइएको छ । सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवका अनुसार स्वास्थ्यकर्मीमा सखुवा प्रसौनी गाउँपालिकाको अस्पतालमा कार्यरत रेडियोग्राफर कलैया उपमहानगरपालिकाकी सृष्टि यादव र ल्याब असिस्टेन्ट सखुवा प्रसौनी गाउँपालिका–३ कट्या डुबरवानाका रैफुल अन्सारी पनि बेपत्ता भएका छन् । शनिबारसमेत उनीहरूको अवस्था अज्ञात रहेको छ ।