एमाले अध्यक्ष ओली आजै प्रधानमन्त्री हुने

आज नियुक्ति, शपथ भोलि

616
Shares

काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) संसदीय दलका नेता केपी शर्मा ओली मुलुकको ४५ औं प्रधानमन्त्री बन्ने पक्का भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकार ढलेसँगै संसद्को प्रमुख दल नेपाली कांग्रेसको मुख्य समर्थनमा ओली आज प्रधानमन्त्री बन्न लाग्नुभएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा १७६ को उपधारा २ अनुसार ओलीलाई आज प्रधानमन्त्रीमा नियुक्त गरिने राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको बहुमत समर्थनमा सरकार बनाउने प्रस्ताव पेस गर्न दलहरूलाई आइतबार साँझ ५ बजे सम्मका लागि समय दिनुभएको थियो । राष्ट्रपतिले आह्वान गरेलगत्तै शुक्रबार राती नै एमाले अध्यक्ष ओलीले आफू र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको हस्ताक्षरसहित सरकार बनाउन आवश्यक बहुमतसहितको दाबी पेस गर्नुभएको थियो ।

एमाले अध्यक्ष ओलीको आइतबार ५ बजे प्रधानमन्त्रीमा नियुक्त हुने र सोमबार ११ बजे शपथग्रहण गर्ने त्यसपछि कार्यभार सम्हाल्ने कार्यतालिका छ । ओलीले प्रधानमन्त्री नियुक्त हुनासाथ मन्त्रिपरिषद् विस्तारसमेत गर्नुहुनेछ । संसद्का दुई ठूला दल कांग्रेस–एमालेबीच सत्ता सहकार्य राजनीतिक स्थिरता, आवश्यक संविधान संशोधन, सुशासन, विकास र समृद्धिको नारा दिएको ओली नेतृत्वको सरकारमा कांग्रेस र एमालेले शक्ति सन्तुलनका लागि बराबरी मन्त्रालय लिने, प्रदेशमा तीन–तीन वटा सरकारको नेतृत्व बाडफाँट गर्ने सहमति गरेका छन् भने संवैधानिक नियुक्तमा समेत सोहीअनुसार भागबण्डा गर्ने तयारीमा छन् ।

कांग्रेस नेता प्रकाशमान सिंहको नेतृत्वमा १० मन्त्री लिएर ओली नेतृत्वको सरकारमा सहभागी हुने तयारीमा छ। एमालले मन्त्री छान्ने जिम्मा अध्यक्ष ओलीलाई दिएको छ । तर, कुन कुन मन्त्रालय कसले लिने र कुन मन्त्रालय कसलाई जिम्मेवारी दिने भन्ने दलहरूले निर्णय भने गरिसकेका छैनन्।

कांग्रेसको शनिबार बसेको कार्यसम्पादन समितिको बैठकले योगदान र योग्यता, समावेशीता र प्रादेशिक सन्तुलन मिलाएर मन्त्री छनोट गरिने मापदण्ड बनाएको छ। तर, मन्त्री पठाउने विषयमा सभापति देउवाले नै नेतृत्व लिनुहुनेछ। पार्टी बैठकले योगदान र योग्यता, समावेशीता र प्रादेशिक सन्तुलन मिलाएर मन्त्री छनोट गरिने मापदण्ड बनाएको जानकारी दिँदै कांग्रेस प्रवक्ता प्रकाशशरण महतले भन्नुभयो– ‘सकेसम्म एकैपटक मन्त्रीहरूको टुंगो लगाएर जाने तयारी गरिएको छ । अघिल्लोपटक मन्त्री भएकाहरू यसपटक नजानेगरी सल्लाह भएको छ ।’

ओली नेतृत्वको सरकारमा जाने सम्भावित मन्त्री

अर्थमा पौडेल र गृहमा लेखक

नेकपा एमालेबाट विष्णु पौडेल, कृष्णगोपाल श्रेष्ठ, पृथ्वी सुब्बा गुरुङ, योगेश भट्टराई, महेश बर्तौला, विद्या भट्टराई, जुलीकुमारी महतोलगायतको नाम चर्चामा छ। यसरी पठाउँदा पौडेलले उपप्रधानसहित अर्थ मन्त्रालयको जिम्मेवारी लिने सम्भावना बलियो छ।

पौडेल यसअघि अर्थमन्त्री हुँदा देशको समग्र आर्थिक क्षेत्र सुधारमा सकारात्मक प्रगति भएको र निजी क्षेत्रसमेत उत्साहित हुने गरेकाले यसपटक पनि अर्थ मन्त्रालयमा उहाँलाई नै पठाउने करिब करिब निश्चित रहेको बताइएको छ। पौडेल अर्थ मन्त्री हुँदा निजी क्षेत्र थप उत्साहित हुने र लगानी बढ्ने सम्भावित सूचांकलाई हेरेर उहाँलाई अर्थको जिम्मेवारी दिन लागिएको हो।

त्यस्तै, काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये एमालेको तर्फबाट कृष्णगोपाल श्रेष्ठले मात्रै जितेका र उपत्यका क्लस्टर मिलाउँदा उहाँको मन्त्री बन्ने सम्भावना बलियो छ। काठमाडौंका हरेक आन्दोलनमा अग्रणी भूमिका खेल्दै पार्टीको साख बचाउन श्रेष्ठको योगदान महत्वपूर्ण रहेकाले उहाँलाई मन्त्री बनाउने विषयमा पार्टीभित्र सकारात्मक छलफल भएको नेताहरूले बताएका छन् ।

उता, नेपाली कांग्रेसले प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा जाने करिब पक्का भएको छ । सिंहसहित जीवन परियार, रमेश लेखक, प्रदीप पौडेल, आरजु देउवा, अजयकुमार चौरासिया, रामहरि खतिवडालगायतको नाम चर्चामा छ।

यीमध्ये प्रकाशमानसिंह सभापति देउवानिकट भएर लामो समय सहयोग गरेका नेता हुन्। सिंहले महाधिवेशनमा समेत देउवालाई खुलेर सहयोग गरेको गुन तिर्न र काठमाडौं क्लस्टरबाट उहाँलाई मन्त्री बनाउने विषयमा बूढानीलकण्ठ सकारात्मक भएको नेताहरूले दाबी गरेका छन्।
त्यस्तै, नेता रमेश लेखकलाई गृह मन्त्रालयको जिम्मा दिने तयारी भएको छ । उहाँले देउवा–ओली सत्तासहकार्य गराउन सेतुको भूमिका खेल्नुभएको थियो । सोही योगदानलाई आधार मानेर उहाँलाई सरकारमा सहभागी गराउन नेताहरू सकारात्मक भएको बताइएको छ ।

आइतबार नयाँ सरकार गठनको गृहकार्यमा जुटेका नेपाली कांग्रेस र नेकपा एमालेले मन्त्रालय बाँडफाँटको मोडालिटी टुंग्याएका छन्। कुन दलले कुन मन्त्रालय पाउने भन्ने पनि लगभग टुंगिसकेको बताइएको छ। प्रधानमन्त्री नियुक्तिपछि केपी शर्मा ओलीले शपथग्रहण गरेसँगै मन्त्रीहरूको पनि शपथग्रहण गर्ने गृहकार्यमा दलहरू लागेका छन्।

केही साना दलका लागि समेत मन्त्रालय राखेर कांग्रेस र एमालेले समान हैसियतमा बाँडफाँट गर्ने सहमति भएको छ । शेरबहादुर देउवा र केपी ओली बसेर मन्त्रालय बाँडफाँट तथा आ–आफ्ना पार्टीका मन्त्रीको नामसमेत तय गरिसकेका छन् ।

मन्त्रालयका सामथ्र्य र प्रभावका आधारमा दुई दुईवटाको बास्केट बनाएर त्यसबाट एक एक छान्ने मोडालिटी बनाइएको छ। गृह मन्त्रालय कांग्रेसले र अर्थ मन्त्रालय एमालेले लिने पक्का भएको छ। त्यस्तै, बाँकी मन्त्रालयलाई प्रभाव, सामथ्र्य र स्रोत साधनका आधारमा दुई दुईवटामा विभाजित गरेर एक एक बाँड्ने तयारी छ।

स्रोतका अनुसार गृह र अर्थ, परराष्ट्र र सञ्चार, ऊर्जा र भौतिक पूर्वाधार, सहरी विकास र पर्यटनलाई एक श्रेणीमा राखिएको छ। त्यसो गर्दा परराष्ट्र पाउनेले सञ्चार छाड्नेछ भने ऊर्जा पाउनले भौतिक पूर्वाधार छाड्नेछ । सहरी विकास एउटाले पाउँदा अर्कोले ऊर्जा पाउनेछ।

त्यस्तै, स्वाथ्य र शिक्षा, उद्योग र कृषि, सामान्य प्रशासन र कानुन, वन र भूमिसुधार, महिला बालिका र युवा खेलकुद, श्रम र रक्षामध्ये एक एक मन्त्रालय बाँड्ने मोडालिटीमा छलफल भइरहेको छ। यद्यपि, केही मन्त्रालयको वर्गीकरण एक अर्कोमा फेरिने छलफलमा सहभागी नेताहरूले बताएका छन्। मन्त्रालय बाँडफाँट टुंगिएपछि सम्बन्धित पार्टीहरूले आ–आफ्ना मन्त्री टुंगो लगाउने तयारीमा दुवै दल जुटेका छन् ।

मन्त्रालय भागवण्डा प्रारम्भिक सहमति

कांग्रेस बढीमा ९ मन्त्रालय

गृह, परराष्ट्र, ऊर्जा, शहरी विकास, स्वास्थ्य, संघीय मामिला तथा सामान्य प्रशासन, कृषि, वन, पर्यटन

एमाले बढीमा ८ मन्त्रालय

अर्थ, रक्षा, भौतिक पूर्वाधार तथा यातायात, सञ्चार तथा सूचना प्रविधि, शिक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, युवा तथा खेलकुद

साना दलका लागि
४ मन्त्रालय