चितवन बस दुर्घटना: बेपत्ता खोज्न गोताखोर टोली परिचालन

3.6k
Shares

काठमाडौं ।

चितवनको सिमलतालस्थित नारायणगढ-मुग्लिन सडक खण्डमा लेदोसहितको पहिरोले बस बगाउँदा  नारायणी नदीमा बेपत्ता भएकाको खोजीका लागि गोताखोर टोली परिचालन गरिएको छ।

दुर्घटना स्थलमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार बाट गएको गोताखोर सहितको फौजले उद्धार कार्य सुरु गरेको छ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पानी परिरहेकाले उद्धारमा केही कठिनाइ भइरहेको बताए।

आज बिहान साढे ३ बजे  चितवनको भरतपुर महानगरपालिका-२९ सिमलताल भन्ने ठाउँमा अविरल वर्षाका कारण ठुलो पहिरो झरी वीरगन्ज बाट काठमाडौं आउँदै गरेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स बस नारायणी नदिमा बेपत्ता भएका थिए।

अहिले नेपाली सेना र सशस्त्र प्रहरी बलको गोताखोर र नेपाल प्रहरीसहित २ सय जनाको टोलीले डुङ्गामा खोजी थालेका छन्। हालसम्म बस फेला पर्न नसकेको प्रजिअ यादवले जानकारी दिए।