नारायणी नदीले दुई वटा बस बगायो, ६० भन्दा बढी यात्रु बेपत्ता

30.6k
Shares

काठमाडौं ।

चितवनको भरतपुर महानगरपालिका २९ सिमलतालमा पहिरोले दुई वटा यात्रुवाहक बस बगाएको छ।  बगाएका दुई वटै बस नारायणी नदीमा बेपत्ता रहेकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

नारायणगढ-मुग्लिन सडकको सिमलतालमा अविरल वर्षासँगै लेदोसहितको पहिरो खस्दा काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौं आउँदै गरेको एञ्जल बस आज बिहान साढे ३ बजे नारायणीमा नदिमा खसेका हुन्।

गौर जाँदै गरेको बसमा ४१ र काठमाडौं आउँदै गरेको बसमा २४ जना रहेका थिए। घटनास्थलमा अहिले सशस्त्र प्रहरी बल नेपाल नम्बर १७ गण चितवनबाट ३५  जना र विपद व्यवस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोर सहित २० जना परिचालन छन्। पहिरो खसेपछि मुग्लिन नारायणगढ सडक अवरुद्ध छ।

यस्तै भरतपुर महानगरपालिका-२९ सत्रकिलो स्थित नारायणगढ-मुग्लिन सडक खण्डमा बुटवलबाट काठमाण्डौ तर्फ आउँदै गरेको लु २ ख ६५६६ नम्बरको बसमाथि ढुङ्गा खस्दा बस चालककाे मृत्यु भएकाे छ। लेदो सहित पहिराे खस्दा बसलाई ढुङ्गाले थिचेको हो ।

मृत्यु हुनेमा नवलपरासीको सुनवल नगरपालिका-४ का ३६ वर्षीय मेगनाथ बिक रहेका छन्। उनलाई गम्भीर घाइते अवस्थामा उपचारको लागि भरतपुर तर्फ पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।