सूचना दिनै हिच्किचाउँछन् स्थानीय सरकारका अधिकारी

126
Shares

सूचनाको माग गर्दै स्थानीय सरकार, सरकारी कार्यालय वा सेवा प्रदायककोमा कहिल्यै जानुभएको छ ? धेरै त जानुभएको नै छैन होला। तर म धेरै पटक गएको छु, नागरिकको रूपमा भन्दा बढी पत्रकार भएर। पत्रकार भएको कारण सूचना लिने विशेष अधिकार त खासै छैन। पत्रकारले पनि आम नागरिकको जस्तै सूचनाको हक प्रयोग गरेर नेपाली नागरिक भएबापत सूचना लिनुपर्छ।

सूचना लिन जाँदाको तीतो–मीठो पोखौँ है त। पहिले त म नेपाली नागरिक हो । पेसाले म स्थानीय रेडियो, अनलाइन र राष्ट्रिय दैनिक पत्रिकामा काम गर्छु। मेरो गृह जिल्ला रामेछापमा दुई नगरपालिका र ६ गाउँपालिका गरी आठ स्थानीय सरकार छन्। साथै प्रदेश सरकार र संघीय सरकारका गरेर झन्डै ५२ वटाभन्दा धेरै कार्यालयहरू छन् ।

२०६७ सालयता म जिल्लामै रहेर सञ्चारकर्ममा छु भने सूचनाको माग गर्दै म हरेक कार्यालय र सेवा प्रदायककोमा पुगेको छु । काम गरेको एक दशक बढी भएको छ तर सूचना माग्दा कहिल्यै पनि सहजसँग नपाएको तीतो अनुभव छ मसँग ।

अचम्म त के छ भने, सूचना अधिकारी नै अपडेट हुन्नन् । आफ्नै कार्यालयमा के भएको भन्ने उनीहरूलाई थाहा हुन्न । सूचना माग ग¥यो अनि आफ्ना सिनियर र जुनियर सबैलाई फोन डायल गर्दै एक–दुई घण्टा झुलिनुको पीडा पनि सानो हुन्न । आफूलाई कति बेला सूचना लिएर फुत्त हिँडौँझैँ भएको बेला, चियाको अफर आइहाल्छ ।

बल्लतल्ल सूचना संकलनपछि सोधिखोजीको पीडा त झन् के कुरा गर्नु र । किन चाहियो ? केको लागि होला भाइ ? यी कमन प्रश्न हुन्। तर मुस्कानबाहेक जवाफ फर्काएकोचाहिँ छैन अहिलेसम्म । म यो देशको नागरिक, अझ नागरिकलाई पनि सचेत गराउने पत्रकार सञ्चारकर्मी ।

म कहिलेकाहीँ आम नागरिक भएर सोच्छु । साँच्चै म आम नागरिक भएको भए म सूचना लिन सक्तिनथेँ होला । अधिकारीबाट हुने व्यवहार, सूचना माग गर्ने प्रक्रिया र लाग्ने समय साँच्चै दिक्क लाग्दो । अझ सूचना अधिकारी नभेटिएको खण्डमा त वैकल्पिक व्यवस्थासमेत गरेका हुन्नन् सेवा प्रदायकले ।

आम नागरिक अझै सूचनाको पहुँचबाट यति टाढा छन् कि कल्पनाबाहेक अरू गर्न सक्ने अवस्था नै छैन। सूचनाकै अभावमा कृषकले पाउनुपर्ने अनुदान झोले कृषकले मात्र पाएको कति देखेको छु। मेरो अनुभवले के भन्छ भने, सूचना लुकाउन स्थानीय सरकारका अधिकारभन्दा बाहेक अरू कोही छैन। बरु नागरिकले मन्त्रालयको सूचना पाउँछन् सहज तरिकाले तर स्थानीय सरकारका सूचना पाउन्नन्, फिक्स हो। मैले जबरजस्ती गएर दुई घण्टा पर्खिई पाएको सूचनालाई सूचना पाएको मैले कहिल्यै भन्दिन। मैले सूचनाको हाइज्याक गरेको हो, अपहरण गरेको हो।

फेरि त्यसरी पाएको सूचना पनि शतप्रतिशत सत्य हुन्छ। कतिपय त आफैँलाई पनि थाहा हुन्छ। तर औपचारिकताका लागि मात्रै सोधिन्छ । त्यो बेला थाहा हुन्छ, सत्य सूचना हामीले पाउन कठिन छ। एकपटक के भयो भने, स्थानीय सरकारका एकजना प्रमुखले सरकारी गाडी चलाउन सिक्दा दुर्घटना भयो । त्यो समाचार सबै पत्रकारले लेखे, मैले पनि लेखेँ ।

त्यसपछि उहाँ सबै पत्रकारलाई पत्रुकार भनेर सम्बोधन गर्नुहुन्छ । एउटा कामको सिलसिलामा म उहाँकै क्याबिनमा जानुपरेको थियो । केही बेर यिनै विषयमा गफ भयो । त्यो गफमा के भन्नसमेत भ्याउनुभयो भने, ‘अरे बाबा ! मलाई नेपाल सरकारले दिएको गाडी सुविधा, मैले प्रयोग गरेँ त के बिग्रियो ? तपाईं पत्रुकारहरुको टाउको किन दुख्नुपरेको हो ।’

उहाँले प्रयोग गरेको शब्द ठ्याकै यही हो । तर त्यो समाचार लेख्नेमध्ये एउटा म पनि हो भन्ने चिन्नुभएन उहाँले, नत्र के हुन्थ्यो, भगवान् जानून् । उहाँको सीधा कुरा के थियो भने, पत्रकार भनेको सरकारी निकायको गुलाम हो, हामीले सूचना दिएर त तिम्रो घर चलेको छ ।

सूचना माग्न जाँदाको तीतो अनुभवमध्येको एउटा उदाहरण हो यो । यस्ता त कति छन्–छन् । एकपटक के भयो भने, एउटा स्थानीय तहमा समाचारका लागि सूचना माग्न गएको थिएँ। त्यहाँका सूचना अधिकारीलाई मैले भनेँ, ‘सर ! मलाई त्यस विषयको अलिकति जानकारी चाहिएको थियो।’ उहाँले मेरो कुरा सकिन नपाउँदै भन्नुभयो, ‘हाम्रो बरुवालजीलाई के भयो ? सूचना माग्न त यसरी आउनुहुने थिएन। हैन तपाईंको पेपरमा विज्ञापन दिएको छैन र हामीले ? कि साथीहरूले केही भने ? हाम्रा साथीहरू पनि कस्ता छन् भने, कसलाई कस्तो व्यवहार गर्नुपर्छ, जान्दैनन्। केही त्यस्तो भएको भए सरी है बरुवालजी।’

उहाँको कुरा सुनेर म अचम्ममा परेँ । न हिँड्नु, न बस्नु भएँ । म झट्ट रिसाउन्न, बरु मनमै कुरा राख्ने भएकाले त्यस्तो हैन सर भनेर टारिदिएँ। सूचना माग्न जाऊँ कि नजाऊँ हुन्छ अचेल। सूचना माग्न गयो, बार्गेनिङ गर्न आयो भन्ने सूचना अधिकारीले सोचिहाल्छन् । मैले कतिपय स्थानमा यस्तो व्यवहार सहनुपर्दा भन्ने गरेको छु, ‘विकृति भनेको एक ठाउँमा मात्र हैन, सबै ठाउँमा छ । एउटाले खराब ग¥यो भन्दैमा अर्कोले पनि खराब गर्छ भनेर सोच्नु त अन्याय हुन्छ।’

कहिलेकाहीँ त कस्तो लाग्छ भने, पेसा नै छोडेर अन्त नसके पनि दुबई–कतारतिर जाऊँ। फेरि सोचिन्छ– सबै मान्छे कहाँ खराब हुन्छन् र ? एकदिन ती राम्रा मान्छेको पनि पालो आउला नि ! जसले जानेबित्तिकै चिया हैन, कुन सूचना लिन आउनुभयो सर भन्दै कम्प्युटर अन गरोस्।