नेपाली सेनाको सैन्य तालिम सम्पन्न

84
Shares

काठमाडौं ।

नेपाली सेनाका २६ स्थानहरूमा सञ्चालित सैन्य आधार तालिम समापन भएको छ ।  २०८० भाद्र ०३ गतेदेखि सुरु भएकाे सैन्य तालिम आज असार २६ गते  सम्पन्न भएकाे छ  ।

तालिम समापनका अवसरमा सैन्य जवानहरूले विभिन्न तालिम केन्द्रहरूमा अन्तिम दलेल कवाजको प्रदर्शनीसँगै ३,१३३ जना पुरुष तथा ७५४ जना महिला गरी कुल ३,८८७ जना सैन्यहरू दीक्षित भएका छन् ।

नं.१ सैन्य तालिम केन्द्र, त्रिशूलीमा बलाधिकृत रथीअशोकराज सिग्देल र नं.२ सैन्य तालिम केन्द्र, सैनामैनामा सैनिक तालिम महानिर्देशक उपरथी सन्तोष कुमार ढकाल तथा अन्य स्थानहरूमा सम्बन्धित पृतनापति, वाहिनीपतिहरुले कवाज निरीक्षण गर्नुका साथै उत्कृष्ट शिक्षार्थीहरूलाई पुरस्कृत गरेका थिए  ।

 त्रिशुलीमा आयोजित सैन्य आधार तालिमको अन्तिम दलेल कवाजमा सहभागीहरूलाई सम्बोधन गर्दै बलाधिकृत रथी अशोकराज सिग्देलले एक कर्मठ, इमानदार, अनुशासित एवं नेपाली सेनाको मूल्य-मान्यता र परम्परालाई पालना गर्दै राष्ट्र, जनता र संस्था प्रति समर्पित रही जस्तोसुकै परिस्थितिमा पनि अविचलित रहने नेपाली सेनाको सिपाही दर्जामा नियुक्त भएका  सबैलाई  बधाई दिँदै शुभकामना दिएका छन्  । उनले  राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको संरक्षण एवं जगेर्ना गर्नको लागि प्रतिबद्ध नेपाली सेनाको मूलभूत दायित्वलाई मनन गर्दै सदैव राष्ट्र र जनताको हितमा आफूलाई समर्पित गर्न निर्देशन दिए  ।

देशका विभिन्न तालिम केन्द्रहरूमा आयोजित सैन्य आधार तालिमको अन्तिम दलेल कवाजमा जिल्लास्थित जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, नवनियुक्त सिपाहीका परिवारजन लगायत स्थानीय सञ्चारकर्मीको उपस्थिति रहेकाे थियाे  ।