बेदीङ र गाउँका ७० परिवार सङ्कटमा, १० पर्यटकको उद्दार प्रयास

1.1k
Shares

दोलखा ।

केही दिन देखिको अविरल वर्षाका कारण दोलखाको रोल्वालीङ क्षेत्रको आवागमन अवरुद्ध हुँदा बेदीङ र ना गाउँका वासिन्दाको दैनिकी प्रभावित बनेको छ । गौरीशङ्कर गाउँपालिका वडा नम्बर– ९ मा पर्ने यो क्षेत्र च्छो– रोल्पा हिमताल जाने मुख्य मार्ग हो ।

अविरल वर्षाको कारण यो मार्गमा पर्ने पाँच वटा खोलाको पुल बगाएको र ठाउँ– ठाउँमा पहिरो गएकोले बेदीङ र ना गाउँसँगको सम्पर्क विच्छेद जस्तो भएको वडा नम्बर– ९ का वडा अध्यक्ष ङिमगेली शेर्पाले बताउनुभयो । अविरल वर्षाका कारण यो मार्गमा पर्ने छेङलङु, तीनफाजे, सम्दर र बौला खोलाको पुल पूर्णरुपमा क्षति भएको र अर्को एउटा खोलाको पुल समेत आवतजावत गर्न नसक्ने अवस्थामा पुगेको वडा अध्यक्ष ङिमगेलीले बताउनुभयो ।

खोलाका पुलहरु बगाएको र ठाउँ– ठाउँमा पहिरो गएपछि ड्वाङ भन्दा माथि जाने अवस्था नरहेको स्थानीयले बताएका छन् । वडा नम्बर– ९ को सिमिगाँउसंग सम्पर्क विच्छेद बनेपछि बेदीङ र ना गाउँका झण्डै ६० जनाको दैनिकी कष्टकर बनेको वडा अध्यक्ष ङिमगेलीले बताउनुभयो । च्छो– रोल्पा जाने मुख्य मार्गमा पर्ने बेदीङ र ना गाँउमा ७० वटा घर रहेको छ ।

बेदीङ र ना गाउँका स्थानीयले च्छो– रोल्पा पुग्ने स्वदेशी तथा विदेशी पर्यटकको लागि होटल व्यवसायसँगै हिमाली याक पालन समेत गर्दै आएका छन् । बेदीङ र ना गाउँमा एक सय ५० भन्दा बढी हिमाली याक रहेकोले पनि उनीहरुलाई थप समस्या भएको वडा अध्यक्ष ङिमगेलीको भनाई छ ।

बेदीङ र ना गाउँका स्थानीयसंग टेलिफोनमा कुरा भै रहेको छ, उनीहरुले केही समयलाई पुुग्ने खाद्यान्न छ भन्नु भएको छ वडा अध्यक्ष ङिमगेलीले भन्नु भयो– उनीहरुलाई धेरै समस्या प¥यो भने हामी पालिका र जिल्ला प्रशासन कार्यालयसंग समन्वय गरेर हेलिकप्टरबाटै भएपनि राहतको व्यवस्था गर्ने छौ ।

सोमवार राति बेदीङ र ना गाउँको आसपास पहिरो गएपछि अहिले ना गाँउमा १० जना पर्यटक समेत अलपत्र परेको र उनीहरुको उद्दारको प्रयास भै रहेको वडा अध्यक्ष ङिमगेलीले बताउनु भयो । १० जनामा छ जना रोल्वालीङ घर भै काठमाडौ बस्ने र चार जना उनीहरुको साथी रहेको वडा अध्यक्ष ङिमगेली जानकारी दिनु भयो ।

दोलखाको गौरीशङ्कर गाउँपालिकाको वडा नम्बर– ९ मा रहेको च्छो– रोल्पा हिमताल पुुग्न सिमिगाउँबाट सुर्मुुचे, क्याल्चेन, डोङ्नाङ, थाङ्मिङ, सन्दर, बेदीङ र ना हुँदै जानुपर्छ । अविरल बर्षाको कारण अहिले डोङ्नाङ भन्दा माथि जान नसक्ने अवस्था रहेको वडा अध्यक्ष ङिमगेली बताउनुभयो ।

दोलखाका प्रमुख जिल्ला अधिकारी टुुवराज पोखरेल ना गाउँमा फसेका पर्यटकको उद्दारको लागि नेपाली सेनाको हेलिकप्टर आउने तयारी रहेकाले मौसममा सुधार हुनासाथ उनीहरुको उद्दार गरिने बताउनुु हुुन्छ । पर्यटकको उद्दारको लागि हेलिकप्टर जाँदा बेदीङ र ना गाउँको लागि गौरीशङ्कर गाँउपालिकाले व्यवस्था गर्ने केही खाद्यान्न समेत लिएर जाने प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।

तस्विरहरुः च्छोरोल्पा हिमताल र बर्षाले बगर बनेका पैदलमार्ग र बेदीङको भिडियो ।