मन्त्रालयको बाँडफाँट भइसकेको छैन : अध्यक्ष ओली

1.2k
Shares

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयनको प्रक्रियामा आवश्यकता अनुसार परिमार्जन गर्दै जानुपर्ने बताएका छन्  ।

बुधबार पार्टी सचिवालय बैठकमा बोल्दै अध्यक्ष ओलीले नेपाली कांग्रेससँग पनि यसै विषयमा छलफल भएको बताए । तर संविधानका यी धार र यी विषयमा परिवर्तन गर्ने भन्ने बारेका कुनै सहमति नभएको उनले प्रष्ट पारेका छन्  । संविधान संशोधनको लागि कसैको नेतृत्वमा आयोग बनाउने भन्ने खालका सहमति पनि नभएको ओलीले बैठकमा जानकारी दिए  ।

ओलीले एमाले र कांग्रेस बिचको समीकरण देशमा राजनीतिक स्थिरता र विकासको लागि गर्न लागिएको बताए । तर एमाले र कांग्रेस मिलेर संविधान र व्यवस्था नै समाप्त पार्न लागे भन्ने खालको भ्रामक प्रचार गर्न खोजिएको प्रति ओलीको आपत्ति छ । एमाले र कांग्रेस मिल्दा संविधान अराजकतातिर गयो, अन्योलतिर, अस्थिरताको स्थितितर्फ गयो भन्ने भ्रम फिँजाइएको ओलीले बताए ।

‘प्रदेशहरूमा महिना महिनामा सरकार फेरिने अवस्था बन्ने, कहिले यसका तिर जान्छ, कहिले उसातिर, चार सिट छ उसलाई मुख्यमन्त्री चाहिने’, ओलीले भने ।

यस्ता खालका अस्थिरता, बार्गेनिङ, आफ्ना निजी स्वार्थ, दलगत स्वार्थलाई केन्द्र भागमा राखेर गतिविधि सञ्चालन गर्ने काम भएका प्रति उनले चिन्ता व्यक्त गरे। विकास निर्माणलाई केन्द्र भागमा नराख्ने, जनताका कामलाई केन्द्रमा नराख्ने र अस्थिरतामा रमाउने प्रवृत्तिका विरुद्ध कांग्रेस एमाले एक ठाउँमा आउनु परेको उनले प्रष्ट पारे।

स्वार्थ प्रेरित भएर स्वार्थलाई बिच भागमा राख्ने काम भइरहेका भन्दै ओलीले चिन्ता व्यक्त गरे । ‘ती कुरालाई कसरी रोक्ने, संघीयता बदनाम भइरहेको छ, त्यो बदनामी रोकेर त्यसलाई सफल बनाउन सकिन्छ, सकिँदैन, सफल बनाउने दिशामा लाग्नु पर्‍यो नि त’, ओलीले भने ।

त्यो पक्षमा विचार नै नगर्ने, खाली संविधानप्रतिको ओठे भक्ति देखाएर संविधानलाई व्यवहारमा असफल बनाउने खालका प्रयास स्वीकार्य हुन नसक्ने उनले बताए । ‘संविधान एउटा गतिशील दस्ताबेज हो, समाजको पथ प्रदर्शक हो, समाजलाई डोर्‍याउने मूल कानुन हो, यो मूल कानुन समय अनुकूल परिवर्तित, परिमार्जित हुँदै जानु उपयुक्त हुन्छ’, उनले भने। त्यसैले कतिपय कुरामा संविधान संशोधन गर्नुपर्छ भनेर भनेको ओलीले प्रष्ट पारे  ।

त्यसमा डिटेलमा पछि छलफल हुने उनले बताए । अहिले धेरै कुरा बजारमा आएको बताउँदै ओलीले कांग्रेससँग यस विषयमा डिटेलमा कुनै कुरा नभएको स्पष्ट पारे।

उनले कांग्रेस र एमाले बिच मन्त्रालय पनि बाँडफाँड नभइसकेको बताए । सरकारमा सबैलाई हैसियतको आधारमा स्थान दिने भन्ने विषमा भने सहमति भएको ओलीले जानकारी दिए । ‘बाँडफाँड पनि भइसकेको छैन, यो पार्टीले यो मन्त्रालय, यो पार्टीले यो मन्त्रालय, को–को सरकारमा सामेल हुने, क–कसको स्थिति के–के हुने भन्ने कुरा, साधारणतया हैसियतको आधारमा, बराबरी हैसियतमा कांग्रेस र एमाले व्यवहारले गर्छन्’, उनले भने ।

उनले यदि उत्पादन बढाउन नसक्ने हो भने आयात वृद्धि हुने र नेपाल परनिर्भर हुने बताए । सबै कुरा राष्ट्रिय उत्पादनमा निर्भर हुनेमा उनले जोड दिए । उद्यमशीलता, कृषिमा आधारित उद्योग, व्यावसायिकता, आधुनिकीकरण र यान्त्रीकरणमा ध्यान दिनु, उत्पादनका लागि प्रविधिमा जोड दिनु आजका आवश्यकता भएको ओलीले बताए । ‘उत्पादन वृद्धिका लागि पूर्वाधार वृद्धिमा ध्यान दिनु आजका आवश्यकता हुन्’, उनले भने ।

सडक, पूर्वाधार, विद्युत्, सञ्चार लगायतका क्षेत्रका आधारभूत काम भएका बताउँदै ओलीले अब शिक्षालाई बढी व्यवहारमुखी बनाउनेतर्फ लाग्नु पर्नेमा जोड दिए । त्यस्तै कृषि क्षेत्रको विकासका लागि विशेष कार्यक्रम बनाउन आवश्यक रहेको उनले बताए ।