बागमती सरकारबाट बाहिरियो एमाले, मन्त्रीहरूले दिए राजीनामा



काठमाडौं ।

नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ। बागमती सरकारमा सहभागी एमालेका ५ जना मन्त्रीले सोमबार मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई राजीनामा बुझाएका हुन्।  उनीहरुले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको जानकारी गराएका छन्।

एमालेबाट सरकारमा आर्थिक मामिला मन्त्रीमा जगन्नाथ थपलिया, उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रीमा प्रकाश श्रेष्ठ, वन तथा वातावरणमा मन्त्रीमा केशव पोखरेल, स्वास्थ्य मन्त्रीमा रामेश्वर श्रेष्ठ र जलश्रोत, ऊर्जा तथा खानेपानी मन्त्रीमा एकालाल श्रेष्ठ थिए।

एमालेका मन्त्रीको राजीनामासँगै बागमतीका मुख्यमन्त्री जम्कट्टेल अल्पमतमा परेको छन्। जम्कट्टेलले प्रदेशसभाबाट विश्वासको मत लिने बताएका छन्। केन्द्रमा कांग्रेस-एमालेको नयाँ गठबन्धन बनाउने सहमतिपछि त्यसको असर प्रदेशमा देखिन सुरु भएको छ।  एमालेले लुम्बिनी र सुदूरपश्चिम सरकार छोडिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्