ओली सरकारमा कस्ता मन्त्री पठाउलान् दलले ?



काठमाडौं ।

प्रतिनिधिसभाका प्रमुख दुई दल नेपाली कांग्रेस–नेकपा (एमाले)बीच भएको सहमतिअनुसार एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बन्ने सरकारमा मन्त्री पठाउने विषयमा दलहरूबीच आन्तरिक छलफल प्रारम्भ भएको छ।

१७ असारको मध्यरातमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच भएको सरकार सहकार्यको निर्णयसँगै उक्त सरकारमा मन्त्रीको जिम्मेवारी दिई पठाउने विषयमा छलफल चलेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा बनेको पाँच दलीय सरकारलाई दिएको समर्थन फिर्ता गर्दै एमालेका मन्त्री बाहिरिएपछि सरकार अल्पमतमा परेको छ। काम चलाउ अवस्थामा रहेका प्रधानमन्त्री दाहालले २८ असारमा सदनमा विश्वासको माग्ने कार्यक्रम तय गर्नुभएको छ। तर, कांग्रेस र एमालेले प्रधानमन्त्री दाहाललाई नयाँ सरकार गठनको मार्गप्रशस्त गर्न आग्रह गरेका छन्। यद्यपि, संविधानतः प्रधानमन्त्री दाहाललाई राजीनामा दिने वा विश्वासको मत फेस गर्ने दुवै सुविधा रहेकाले उहाँले विश्वासको मत दिने बताउनुभएको छ।

प्रचण्ड सरकार गिराएर कांग्रेसको समर्थनमा आफ्नो नेतृत्वमा सरकार बनाउन लाग्नुभएका ओलीको आफ्नो दलबाट को–को मन्त्री बनाउने भन्ने निर्णय गरिसक्नुभएको छैन। सरकारमा सहभागी हुने तयारीमा रहेको कांग्रेसले पनि मन्त्रीको टुंगो लगाइसकेको छैन। दुवै दलभित्र आगामी मन्त्री पठाउने व्यक्ति कुनै मुद्दामामलामा नफसेको र नयाँ अनुहारलाई प्राथमिकता दिनुपर्ने युवा नेताहरूले जोड दिएका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी तथा कार्यसम्पादन समितिको बैठकमा आगामी सरकारमा नयाँ र कुनै दाग नलागेका नेताहरूलाई अवसर दिएर जानुपर्ने आवाज उठेको नेपाली कांग्रेसका एक पदाधिकारीले बताए। उनले नेपाल समाचारपत्रसँग भने– ‘मन्त्री को पठाउने भन्ने विषयमा पार्टीले आधिकारिक छलफल शुरू गरेको छैन। तर, अब सरकारमा जाने मन्त्रीहरू नयाँ अनुहार, जनताका पक्षमा नयाँ ढंगले योजना बनाएर जान सक्ने युवा, अवसर नपाएका र कुनै मुद्दामामिला नफसेका आरोप नलागेका नेताहरूलाई प्राथमिकता दिनुपर्छ भन्ने विषयमा चर्चा भईरहेको छ।’

त्यस्तै, एमालेले पनि यस विषयमा आधिकारिक निर्णय निर्णय लिएको छैन । नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले नयाँ सरकार गठनका लागि केही समय लाग्ने बताउनुभयो । आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी बर्तौलाले कांग्रेससँगको समझदारीअनुसार पहिलो चरणमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने भए पनि मन्त्रालय भागबन्डाको विषय टुङ्गो नलागेको जानकारी दिनुभयो ।

‘कांग्रेससँग प्रारम्भिक छलफल भए पनि राष्ट्रिय सहमतिको सरकार गठनका लागि आह्वान गरिएकाले कांग्रेससहितका अन्य राजनीतिक दलहरूसँग फेरि छलफल गरेर मात्रै मन्त्रालयको भागबन्डामा हुन्छ। अब सरकारमा पठाउने मन्त्रीका विषयमा अघिल्लो सरकारमा रहँदाका पर्फमेन्स र आगामी योजना बनाउन सक्ने नेतालाई पठाउने विषयमा छलफलहरू चलिरहेको छ । अहिले नै यही भन्ने अवस्था छैन’ –उहाँले भन्नुभयो।

प्रधानमन्त्री दाहालले आगामी असार २८ गते विश्वासको मत लिने भएकाले सोही दिन बेलुकासम्म मन्त्रालयको भागबन्डा टुङ्गो लगाउने गरी छलफल हुने नेताहरूले बताएका छन्। राष्ट्रिय सहमतिको सरकार बनाउने भएकाले पनि मन्त्रालय भागबन्डाको विषय टुङ्गिन केही समय लाग्ने र मन्त्री पठाउने नेताहरूका विषयमा समेत गम्भीर छलफल भएर अघि बढ्ने उनीहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्