एमजी गाडीमा गम्भीर प्राविधिक समस्या : आफैं गुड्ने, चार्ज गर्दा पड्किने



काठमाडौं ।

विद्युतीय गाडी एमजीमा एकपछि अर्को गर्दै गम्भीर प्राविधिक समस्याहरू देखा पर्न थालेका छन्। कहिले चार्जमा राखेका बेला आफैं आगलागी हुने त कहिले गाडी अगाडि बढाउँदा आफैं पछाडि जाने र पछाडि लैजाँदा आफैं अगाडि बढ्नेजस्ता प्राविधिक समस्या देखा पर्न थालेका छन् ।

गत असार १८ गते मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमनतर्फको भन्सार गेट नजिक बागमती प्रदेश ०१–०२७ च १५९० नम्बरको एमजी ब्रान्डको जेडएस भेरियन्टको कार ब्याक गर्ने क्रममा एक्कासि आफैं अगाडि बढेर अर्को गाडीमा ठोक्किँदा गम्भीर दुर्घटना भएको छ।

उक्त दुर्घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। चालकले बिस्तारै गाडी पछाडि लैजान खोजेको भए पनि एक्कासि गाडी आफैं अगाडि बढ्दा चालकले नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको थियो।

त्यति मात्रै होइन गाडीमा सुरक्षाका निम्ति राखिएको भनिएको एयरब्यागसमेत नखुल्दा गाडीमा सवार पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानकी श्रीमती विद्या वनमाली प्रधान गम्भीर घाइते हुनुभएको छ। दुर्घटनाका बेला विमानस्थलमा तैनाथ सुरक्षाकर्मी र सर्वसाधारणले घाइतेको उद्दार गरेका थिए। तत्पश्चात दुर्घटनाको कारण खोजी हुँदा गाडीमा प्राविधिक समस्या रहेको फेला परेको हो।

यसअघि गत वर्षको पुसमा बूढानीलकण्ठस्थित देउवाचोकमा चार्जमा राखिएको बागमती प्रदेश ०१–०२७ च १५८१ नम्बरको एमजी कम्पनीको गाडीमा आफैं आगलागी भएको थियो। उक्त घटनालाई एमजी मोटर्सको नेपालस्थित आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले गुपचुप राख्न सफल भए पनि यसपटक विमानस्थलमै उक्त घटना घटेपछि कम्पनीलाई लुकाउन अप्ठ्यारो भइरहेको छ।

पारामाउन्ट मोटर्सका कारहरुको प्राविधिक अध्ययनमा यस गाडीमा अन्य गाडीको तुलनामा अनावश्यक ठूलो आवाज आउने, इन्जिन कराउने, बारम्बार मिसफायरको आवाज आउने, समयमा एयरब्याग नखुल्ने र ब्रेक नलाग्ने जस्ता समस्या देखा परिरहेको प्रयोगकर्ताहरुको गुनासो आउने गरेको छ । पटक–पटक गाडीमा प्राविधिक समस्या आइरहेको जनगुनासो आए पनि सरकारी निकायले त्यसतर्फ ध्यान दिएको छैन।

अहिलेसम्मका घटनामा मानवीय क्षति नभए पनि यस्ता घटनामा ठूलो जनधनको क्षति हुन सक्ने भएकाले बेलैमा सरकारी यस कम्पनीका गाडीको प्राविधिक जाँच गर्नुपर्ने उपभोक्ताको माग छ। विश्वका अन्य मुलुकहरुमा दुर्घटना भएपछि सरकारले छानबिन गरेर गाडीको बिक्रीवितरण नै बन्द गराउँदा नेपालमा भने कानुन अभावकै कारण गाडी दुर्घटना तथा प्राविधिक समस्याको विषयमा गुनासो आउँदासमेत छानबिन गर्न नसकिएको यातायात व्यवस्था विभागका इन्जिनियरहरूको भनाइ छ ।

एजमी गाडीमा प्राविधिक समस्या नेपालमा मात्रै होइन अस्ट्रेलियामा भएको थियो। सिड्नीस्थित एयरपोर्टमा पार्किङमा राखेको गाडी अचानक विस्फोट भएपछि अस्ट्रेलियाको सरकारले उक्त गाडीलाई तत्कालका लागि बिक्रीवितरण गर्न रोक लगाएको थियो। अस्ट्रेलियन सरकारले एमजीको गाडीमा ब्याट्रीको गम्भीर समस्या रहेको भन्दै प्रश्न उठाएको थियो ।

यस्तै भारतमा समेत पार्किङमा र चार्जिङमा राखिएको समयमा विस्फोट भएसँगै यस्ता घटना सार्वजनिक भएका छन् । गाडीमा एकपछि अर्को समस्या आउन थाले पनि वितरक कम्पनीले समस्या पहिचान गर्ने भन्दा पनि आलटाल गर्ने र विषयलाई बङ्ग्याउने गरेको छ।

प्रतिक्रिया दिनुहोस्