स्याङ्जामा १० विद्यालयको नतिजा शून्य, भुम्रे माविका ३४ मध्ये सबै अनुत्तीर्ण



स्याङ्जा। 

गत साता प्रकाशित भएको एसईई परीक्षाको नतिजामा स्याङ्जाका १० विद्यालयको नतिजा शून्य आएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरिएको एसईई परीक्षाको नजितामा जिल्लाका ८ पालिकाका १० विद्यालयमा कुनै पनि विद्यार्थी उत्तीर्ण हुन सकेनन् । गत चैत्रमा जिल्लाका सामुदायिक तथा संस्थागत गरी १ सय ६९ विद्यालयका ४ हजार ७२ जनाले एसईई परीक्षा दिएका थिए । वालिङको भुम्रे माविबाट एसईई दिएका ३४ मध्ये सम्पूर्ण विद्यार्थी अनुत्तीर्ण भएका छन् ।

११ पालिका रहेको स्याङ्जामा पुतलीबजारका ३, वालिङ, भीरकोट, गल्याङ, चापाकोट, आँधीखोला, अर्जुनचौपारी र विरुवाका एक—एक विद्यालयले एसईई परीक्षामा नतिजा शून्य ल्याएका हुन् । नजिता शून्य ल्याउने सबै सामुदायिक विद्यालय हुन् । शून्य नजिता ल्याउने १० विद्यालयबाट १ सय ४२ विद्यार्थीले एसईई दिएका थिए । शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाका प्रमुख विश्वराज आचार्यका अनुसार वालिङ नगरपालिकाको भुम्रे मा.वि., पुतलीबजार नगरपालिकाको नुवाहाकोट मा.वि.-श्रवणकुमार मा.वि.-शारदा मा.वि, गल्याङ् नगरपालिकाको राष्ट्रिय मा.वि., चापाकोट नगरपालिकाको जनजागृति मा.वि., भीरकोट नगरपालिकाको शिरुखर्क जोगिस्थान मा.वि., अर्जुनचौपारी गाउँपालिकाको अमरज्योति मा.वि., बिरुवा गाउँपालिकाको जामुनेडाँडा मा.वि. र आँधीखोला गाउँपालिकाको सेपत शिरानचौर मा.वि.को एसईई परीक्षामा शून्य नतिजा आएको छ । सरकारले लगानी गरेका विद्यालयको नतिजा शून्यमा आएपछि सम्बन्धित विद्यालयका अभिभावकहरु असन्तुष्ट भएका छन् ।

ती विद्यालयबाट एसईई दिएका सम्पूर्ण विद्यार्थी अनुत्तीर्ण भएपछि विद्यालय व्यवस्थापन समिति र शिक्षकहरुको आलोचना भएको छ । यो बर्षको एसईई परीक्षामा स्याङ्जामा सामुदायिक विद्यालयले भन्दा संस्थागत विद्यालयले राम्रो नतिजा दिन सफल भएका छन् । तर ४ जिपीए ल्याउने एकमात्र विद्यार्थी भने सामुदायिक विद्यालयकै रहेका छन् । परीक्षाको नतिजा राम्रो नआउनुमा बढी शिक्षकहरुले राजनीति गरेको कारण मानिएको छ । जिल्लाबाट ४ हजार ७२ विद्यार्थी मध्ये १ हजार ७ सय २२ जना विद्यार्थी एसईईमा उत्तीर्ण भएका थिए । राष्ट्रिय परिक्षा बोर्डले यस वर्ष पहिलो पटक नयाँ लेटर ग्रेडिङ प्रणालीबाट एसईईको नतिजा सार्वजनिक गरेको थियो । यो प्रणालीबाट नतिजा प्रकाशित गरेपछि सरकारी विद्यालयका शिक्षकहरुलाई चुनौती थपिएको छ । सरकारले साउन २३ गतेदेखी ३१ गते सम्म परीक्षामा उत्तीर्ण नभएका सबै विद्यार्थीले पुन परीक्षा दिन पाउने व्यवस्था गरेको छ ।

सरकारी स्कुललाई यहाँका राजनीतिक दल, दलका शिक्षक, शिक्षकका संगठनले आ – आफ्नो दलका राजनीति गर्ने थलो बनाएर विद्यार्थीको भविष्य माथि खेलबाड गर्दा यस्तो नतिजा आएको आरोप अभिभावकले लगाएका छन् । वालिङ नगरपालिकामा रहेका २९ वटा माविबाट ८ सय २३ जना विद्यार्थीले एसईई दिएका थिए । जसमध्ये ४ सय १८ जना उत्तीर्ण भएका छन् भने बाँकी ४ सय ५ जना अनुत्तीर्ण भएका छन् । उत्तीर्ण हुने अधिकाशं निजी विद्यालयका विद्यार्थीहरु रहेका छन् भने सामुदायिकका न्यून रहेका छन् ।

वालिङमा रहेका पूर्णमृत भवानी मावि साधारण धार ७२ मा ३१, वालिसिद्ध मावि केवरे ३९ मा १६, माझकोट माविबाट २५ मा २ जना, घुरुङखा मावि सिर्सैकोटबाट २१ मा ५ जना, हिमाली मावि एलादी २१ मा ५, जनसेवा मावि कालिकाकोट १२ मा ५, राष्ट्रिय मावि, मिर्दी ३९ मा १९, लक्ष्मी मावि थुमपोखरा ३३ मा ११, जीवनज्योति मावि थुमपोखरा १२ मा ८, उपल्लोपेखु मावि १६ मा ८, जनहित मावि थुमपोखरा १५ मा ६, पूर्णमृत भवानी मावि वालिङ (खुल्ला) १० मा १, कालीगण्डकी मावि थुमपोखरा ४ मा २, सरस्वती मावि ४७ मा २०, रणवीर जनहित माविबाट ४८ मा ७ जना, महेन्द्र माविबाट २८ मा ५ जना, टापूभञ्ज्याङ राष्ट्रिय माविबाट १३ मा १ र पूर्णमृत भवानी मावि प्रविधिका धार ३४ मा १३ जना विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् ।

यसैगरी यहाँ रहेका पायोनियज आमावि ६१ जनामा ५२, वालविद्या विकास माविबाट ४१ मा ३१, अर्मादी माविबाट १७ मा ४, नेपाल आदर्श माविबाट ६६ मा ६२, सगरमाथा माविबाट २८ मा २६, भुपुसैनिक आमावि बायाटारीबाट ९ मा ६, पिस जोन आवासिय माविबाट ३८ जनामा ३६ जना, वालिङ स्कोलर्स एकेडेमीबाट ३ मा ३, साइन भिलेज इन्टरनेटल ८ मा ८ र भूपु सैनिक आमावि वालिङबाट २९ मा २० जना उत्तीर्ण भएका छन् । पछिल्लोसमय वालिङ नगरपालिकाका सामुदायिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष को बन्ने भन्ने विषय विवादित बन्दै आएको छ । यो विषय अदालतसम्म पुगेको थियो । वडाध्यक्ष नै सामुदायिक विद्यालयको अध्यक्ष बन्ने नगरपालिकाको निर्णयलाई सर्वाेच्चले खारेज गरिदिएको अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्