कोपामा अतिरिक्त समय नथपिने



एजेन्सी ।

अमेरिकामा जारी कोपा अमेरिकाको नकआउट चरणमा अतिरिक्त समय नथपिने आयोजक दक्षिण अमेरिकी फुटबल महासंघ (कोन्मेबोल) ले निर्णय गरेको छ। आयोजक कोन्मेबोलले यस्तो निर्णय गरेसँगै कोपाको नकआउट चरणका खेलमा ९० मिनेटपछि अतिरिक्त समय नथपिने भएको हो।

९० मिनेटमा हार–जित हुन नसके अतिरिक्त ३० मिनेटको समय थपिने प्रावधान रहेको छ। त्यसमा पनि हार–जित नभए नतिजाको लागि पेनाल्टी शूटआउटको आधार लिइन्छ। तर, जारी कोपामा ९० मिनेटपछि सिधैं पेनाल्टी शूटआउट हुने भएको छ।
कोपामा समूह चरणपछि सीधै अन्तिम आठको खेल हुने गर्छन्। यसपटक कोपा खेल्ने जम्मा १६ टोली मात्रै भएकाले समूह चरण सकिँदा ८ टोली मात्रै बाँकी हुँदा अन्तिम १६ खेलाउन टोली नै नपुग्ने भएपछि सोझै अन्तिम आठका खेल खेलाइएको हो।

विगतमा कोपा खेल्ने देशको संख्या अझ यो भन्दा कम हुने गर्थे। विगतमा दक्षिण अमेरिकाका १० देश र अन्य महादेशबाट आमन्त्रित दुई गरी जम्मा १२ देशबीच प्रतिस्पर्धा हुने गर्थ्यो । यसपटक अन्तिम आठका खेलबाटै ३० मिनेटको अतिरिक्त समय लागू नगरी सोझै पेनाल्टीको नियम लागू गरिएको छ।

क्वार्टरफाइनल, सेमिफाइनल र फाइनलमा समेत यही नियम लागू हुनेछ। यसको अर्थ अब क्वार्टरफाइनलमा कुनै पनि टिमले निर्धारित ९० मिनेटभित्रै खेल जित्नुपर्छ। यदि सो समयमा हार–जित हुन सकेन भने सिधैं पेनाल्टी सुटआउट हुनेछ।

त्यहाँ ३० मिनेटको समय थप हुनेछैन। यो निर्णयले कोपाप्रतिको आकर्षण झनै घटाउने भन्दै समर्थकले आलोचना समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्